चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गठन गर्न सकिने स्पष्ट पारेका छन् । विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उनले यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए । प्रेस चौतारी नेपालले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा उनले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधानबमोजिम आनो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको स्पष्ट गरे । संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दावी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि राष्ट्रपतिले दुवै पक्षको दावी अस्वीकार गर्नुभएको धारणा उनको छ । ओलीले आनो पछिल्लो कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जान लागेकोप्रति टिप्पणी न्याय प्रभावित पार्न मोर्चा कसिएको बताएका छन् । ओलीले यस्तो मोर्चाबन्दीले न्याय प्रभावित पार्न खोज्नुको कुनै अर्थसमेत नभएको बताए । बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, अब मोर्चा कसेर मुद्दा हाल्ने रे । एकजनाले मुद्दा हाले पनि त्यही हो, धेरैले मुद्दा हाले पनि सच्चाइ, सच्चाइ नै हो । न्यायलाई प्रभावित पार्न मोर्चा कस्नुको कुनै अर्थ हुँदैन । न्यायलाई त्यसरी प्रभावित पार्न खोज्नु हुँदैन ।’संविधानको धारा ७६ (५) बमोजिम आफूहरूको दावीलाई अस्वीकार गरेको भन्दै विपक्षी नेपाली कांग्रेस, माओवादी केन्, जनता समाजवादी पार्टीलगायत अदालतमा जाने तयारी गरिरहेका छन् । ओलीले आफूलाई पहिले विश्वासको मत पाइन्छ भन्ने नलागे पनि तत्कालै घटनाक्रममा परिवर्तन आएपछि प्रधानमन्त्रीको दावी गरेको बताए । मैले अगाडि विश्वास गरेको थिइनँ कि विश्वासको मत पाउँछु भन्ने ।तर, कहिलेकाहीँ राजनीति चाँडै परिवर्तन हुन्छ । परिस्थितिमा तत्कालै परिवर्तन हुन्छ । त्यसै भएपछि मैले हाम्रो १२१ र जसपाको ३२ गरेर १५३ को दावी गरेको हुँ ।’वैकल्पिक सरकार बन्न नदिन विपक्षीले फर्जी हस्ताक्षर बुझाएको दाबी गर्दै उनले यही कारण राष्ट्रपतिमा अलमल भएको बताए । वैकल्पिक सरकार बन्न नदिन उहाँहरूले फर्जी हस्ताक्षरसहितको दूषित कागज राष्ट्रपतिकहाँ पेस गर्नुभयो । दुवैतिर एउटै मान्छेको हस्ताक्षर पुगेपछि राष्ट्रपतिलाई अलमल भयो ।’ओलीले संविधानको धारा ७६ (५) मा संसदका कुनै पनि सदस्यले प्रधानमन्त्रीमा दावी गर्न मिल्ने भए पनि त्यहाँ दलीय अनुशासन लागू नहुने भन्ने कुरा गलत भएको बताए । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले निर्वाचन अगाडि सबै नागरिकलाई कोभिड१९ विरुद्धको खोप लगाइने सरकारको प्रयास हुने पनि बताए । उनले आगामी आर्थिक वर्षको बजेट कोभिड नियन्त्रणमा प्राथमिकता दिँदै जेठ १५ गते नै अध्यादेशबाट आउने जानकारी दिए । एक प्रश्नको जवाफमा उनले पार्टीमा रहेर सरकारविरुद्ध विपक्षीसँग साँठगाँठ गर्नेहरुलाई कारबाही गरिने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताए । उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए । उनका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसकेकी छन् । नेपालमा कोभिड१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् ।