कांग्रेस महासमिति बैठकको उद्घाटनमै घोचपेच «

कांग्रेस महासमिति बैठकको उद्घाटनमै घोचपेच

नेपाली कांग्रेस महासमिति बैठकको उद्घाटन सत्रमा उपसभापति विजय गच्छदार मज्जैले जमे । करिब १ दशकपछि कांग्रेस फर्किएका उनले कांग्रेसलाई एकढिक्का भएको सन्देश दिन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे ।
गच्छदारको आग्रहलाई १६ सयभन्दा बढी महासमिति सदस्यसहित सयौं कांग्रेस कार्यकर्ताहरूले भरिभराउ हलमा तालीको गडगडाहटले समर्थन थप्यो । सभापति देउवा नेता पौडेललाई उठ्न आग्रह गर्दै उठे, हलका सहभागीलाई हात हल्लाएर अभिवादन गरे । देउवा बसेपछि पौडेल उठे, हात हल्लाएर अभिवादन गरे । तालीको गडगडाहट नरोकिएपछि उपसभापति विमलेन्द्र निधिले देउवा र पौडेललाई हात समाएर सँगै उठ्न आग्रह गरे ।
देउवा र पौडेल उठेपछि सँगै रहेका शशांक कोइरालाले महामन्त्री पूर्णबहादुर खड्काको हात समाएर उठाए । हल हर्षित देखियो । तालीको गडगडाहट भयो । केहीले कांग्रेस जिन्दावाद नारा नै लगाए ।
करिब ६ वर्षपछि बसेको कांग्रेसको महासमिति बैठक शनिबार उद्घाटन भएको छ । करिब १ घण्टा गच्छदारले तताएको हलको ‘एकताको गर्मी’ वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवाले बोल्दा ह्वात्तै झ-यो । देउवा र पौडेलले एकअर्कालाई घोचपेच गर्न छु्टाएनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले हात उठाउँदैमा र मिलाउँदैमा पार्टी एकजुट नहुने बताए । सभापति देउवातर्फ लक्षित गर्दै उनले पार्टी एकजुट हुन मन मिलाउनु पर्ने र नेतृत्व सच्चिनुपर्नेमा जोड दिए । “नेतृत्वले सबैलाई यो मेरै कार्यकर्ता हो भन्ने आभाष दिलाउन नसकेसम्म गुटको अन्त्य हुँदैन,” उनले भने, “नेतृत्वमा सबैलाई मिलाउने क्षमता नभएसम्म असन्तुष्टहरूको अर्को समूह बन्नु नौलौ होइन ।” कांग्रेसभित्र आन्तरिक एकता आजको आवश्यकता भएपनि नेतृत्वकै कारण त्यसका लागि वातावरण सहज नभएको उनले बताए ।
सभापति देउवाले आफ्नो आलोचना गर्नेहरूलाई कडा जवाफ दिए । उनले आफ्नो विरुद्धमा बोल्न पार्टीमा सबैलाई छुट भएको बताए । “मेरो विरोध गर्न छुट छ । प्रजातान्त्रिक पार्टी हो,” आफ्ना पार्टीभित्रका आलोचकहरूलाई देउवाको जवाफ थियो, “ तर, माधव नेपालभन्दा बढी बोल्नुस् ओलीको विरुद्धमा । माधव नेपाल जति हिम्मत गर्नुप-यो ।” उद्घाटन सत्रमा महामन्त्री शशांक कोइराला भने सन्तुलित देखिए । उनले पार्टीभित्र आन्तरिक एकताका लागि सहजिकरण गर्न आफू तयार रहेको बताए । कांग्रेसलाई जगाउने र उठाउने ऐतिहासिक जिम्मेवारी आफूहरूकै रहेको बताउँदै पात सुके पनि रुख नसुकेको भन्दै फेरि सबै एकजुट भएर कांग्रेसलाई जगाउनुपर्ने धारणा राखे ।

सरकारप्रति आक्रामक
सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्णबहादुर खड्का, उसभापति विमलेन्द्र निधि, गच्छदार, सहमहामन्त्री प्रकाशशरण महत, नेताहरू प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, कृष्ण सिटौला, तारानाथ रानाभाट, चित्रलेखा यादवदेखि उद्घाटन सत्रमा बोल्ने प्रवक्ता विश्वप्रकाश शर्मासम्मले सरकारको कडा आलोचना गरे ।
सभापति देउवाले सरकारले अधिनायकवादी आकांक्षालाई आफ्नो १० महिनाको व्यवहारबाट पुष्टि गरेकोे आरोप लगाउँदै संघीयता विफल पार्न सरकार नै लागेको आरोप लगाए । देउवाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई सरकारले नै बचाउन खोजिरहेको आरोप समेत लगाए । उनले महँगी बढेर गरिब समृद्धिका लागि देखाइएका आकाशे सपनाहरू हावादारी पुष्टि भएको बताए ।
उपसभापति विमलेन्द्र निधिले सरकारको गलत कामको भण्डाफोर गर्ने बताए । सरकारले आफ्नो मनमौजी तरिकाले काम गर्न थालेको भन्दै उनले अब कांग्रेसले सहेर नबस्ने चेतावनी दिए । प्रवक्ता विश्वप्रकाश शर्माले ‘सपनाको स्वर्ग नै भेटिन्छ’ भनेर कम्युनिस्ट पार्टीलाई मत दिएका हजारौं नेपालीले सरकार पनि भेटिएन भनी प्रतिक्षा गरिरहेको बताए । उनले न्यायको पर्खाइमा बसेका नेपाली चेलीहरूका लागि कांग्रेसले महासमिति बैठकमार्फत् सकारात्मक सन्देश दिन सक्नुपर्ने भन्दै भने, “मैले जवाफ दियो भने बुद्धिजीवी थला पर्छन् भन्ने प्रधानमन्त्रीलाई जवाफ दिन सक्ने सन्देश महासमितिले दिनुपर्छ ।”

देउवाको रात्रिभोज
महासमिति बैठकमा सहभागीहरूका लागि रात्रि खाना र बासको व्यवस्था पार्टीले गरेको छैन । सभापति देउवाले उद्घाटन सत्रको दिन शनिबार १६ सयभन्दा बढी प्रतिनिधिलाई आफ्नो तर्फबाट रात्रीभोज दिएका छन् । कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले सहभागीहरूलाई आवासस्थलसम्म जान सवारीसाधनको व्यवस्थापन गर्ने बताएका छन् ।

प्रतिवेदनमाथि आइतबारबाट छलफल
आइतबारबाट बैठकमा प्रतिवेदनहरूमाथि छलफल हुनेछ । आर्थिक प्रस्ताव, राजनीतिक प्रस्ताव, विधान संशोधन मस्यौदा लगायतका प्रतिवेदन आइतबारबाट बैठकमा पेश हुनेछन् । आर्थिक प्रस्ताव बाहेक अन्य प्रस्तावमा शनिबार बेलुकीसम्म पनि विवाद नै छ । बैठकमा प्रतिवेदन पेश भएपछि महासमिति सदस्यहरूले सोमाथि आफ्नो धारणा राख्ने क्रम शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्