मौद्रिक नीतिको समीक्षाका व्यवस्थाप्रति परिसंघको स्वागत

नेपाल उद्योग परिसंघले मुलुकको विद्यमान स्वास्थ्य समस्यासँग जुध्ने गरी नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षामार्फत केही प्रावधान हेरफेर गर्नु सकारात्मक रहेको जनाएको छ । यी प्रावधानहरुले मुलुकको स्वस्थ्य सेवामा सकारात्मक असर पुग्ने विश्वास परिसंघको छ ।
तरलता व्यवस्थापन गर्न विशेष ध्यान दिँदै केन्द्रीय बैंकले यस अघि तोकेका विभिन्न दरहरुलाई यथावत राखेको छ । यस्तै कोरोनाले उद्योग तथा व्यवसाय क्षेत्रमा पारेको समस्यालाई न्यूनिकरण गर्न निषेधाज्ञाको अवधि भर कर्जा असुलीमा कुनै शुल्क वा जरिवाना लिन नपाउने व्यवस्था गरेको छ भने निषेधाज्ञा समाप्त भएको एक महिनासम्म कुनै पनि प्रकारको असुली वा लिलामी सम्बन्धि सूचना प्रकाशन गर्न नपाइने व्यवस्था समेत गरेको छ । यो प्रावधानले समस्यामा रहेका उद्योग तथा व्यवसायलाई केहि सहज हुने परिसंघले जनाएको छ ।
राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक तथा उद्योगहरुले अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधारदरमै कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । साथै लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न ५० करोड तथा अक्सिजन प्लान्ट स्थापना गर्न २० करोड रूपैयाँको विशेष पुर्नकर्जाको समेत व्यवस्था गरेको छ । यस्तो कर्जा एक वर्षका लागि प्रवाह हुनेसमेत बैंकले जनाएको छ । यस प्रकारको प्रोत्साहनले अक्सिजन उपलब्धताको दिर्घकालीन व्यस्थापन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । त्यस्तै निषेधाज्ञाको समयमा कर्जाको किस्ता तथा व्याज भुक्तानी गर्ने ग्राहकलाई सहुलियत उपलब्ध गराउने व्यवस्था समेत उल्लेख गरिएको छ ।
परिसंघले आग्रह गरे अनुसार नै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निर्वाह गर्नु पर्ने व्यावसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत हाल विद्यमान स्वास्थ्य समस्यासंग जुध्न आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, भ्याक्सिन, औषधी जस्ता कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । त्यस्तै परोपकारी कार्य गर्ने, राष्ट्रिय महत्वका आविष्कार केन्द्र, मानव सेवा आदि क्षेत्रमा गरिएको खर्च समेत व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तरगत खर्च लेख्न पाउने व्यवस्था गरिएको छ ।
मुलुकको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै रोजगारी श्रृजना गर्न, मुलुकको गाह्रस्थ उत्पानलाई बढाउन तथा समग्र आर्थिक वृद्धिका लागि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मुलुकको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई थप सहुलियत तथा सुविधा उपलब्ध गराउनेमा परिसंघ विस्वस्त रहेको जनाइएको छ ।