सामान्य विवादमा देबरद्वारा भाउजू हत्या «

सामान्य विवादमा देबरद्वारा भाउजू हत्या


सामान्य घर झगडाको विषयलाई लिएर मोरङको रंगेलीमा देवरले आफ्नै भाउजुको विभत्स तरिकाले हत्या गरेको खुलेको छ ।
रंगेली नगरपालिका–३ की २४ वर्षीया अनिता यादवको हत्या आफ्नै १९ वर्षीय देवर विनोद यादवले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा विनोदको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । मंगलबार दिउँसो घरमा देवर भाउजूबीच सामान्य विषयलाई लिएर विवाद भएको थियो । विवादपछि बेलुका साढे सात बजे महिला घरबाट श्रीमान बेचन यादवलाई खोज्न भन्दै घरदेखि उत्तरतर्फ लागेकी थिइन् ।
प्रहरीका अनुसार उनलाई पछ्याउँदै देवर विनोद पनि पछि–पछि लागेका थिए । “घरदेखि उत्तर करिब ढेड किलोमिटरमा नहरको ढिलमा पुगेपछि देवर बिनोदले भाउजु अनितलाई ढकालिदिए । भाउजु नहरमा लडिन् र विनोदले अनिताको घाँटीमा धाँरिलो हतियार दाउ प्रयोग गरी हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ,” मोरङ प्रहरीका प्रमुख एसपी खड्काले भने । भाउजुको मंगलबार राति करिब ८ बजेको समयमा हत्या गरेपछि बिनोद दाउ बोकेर घर पुगेका थिए । हत्या गरेको पत्तो पाउने भएकाले रगत लतपतिएको दाउँ पानीले धोएपछि घरमा राखे । रातिसम्म अनिता घर नआएपछि उनका श्रीमान बेचन श्रीमती खोज्न हिंडे । भाउजु खोज्न विनोद पनि सँगै दाजुसँग गएका थिए । उनीहरूले रातभरि अनितालाई नेभेटेपछि विनोद राति घरमा सुते । बिहान झिसमिसमा घरदेखि उठेर उनी फरार भए ।
स्थानीयले बुधबार बिहान अनिताको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्यापछि फरार रहेका विनोदलाई प्रहरीले घरबाहिर रंगेली बजारमा लुकेर बसेको अवस्थामा बुधबार विहान ८ बजे पक्राउ गरेको एसपी खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्