छुटमा आयातीत मेडिकल सामग्री सुलभ मूल्यमा बेच्न निर्देशन
सरकारले मेडिकल सामान आयात गर्दा भन्सार छुट दिएको छ । कोभिडको बढ्दो संक्रमणको बेला मेडिकल सामान आपूर्तिलाई बढावा दिनका लागि सरकारले आयातमा भन्सार छुट दिएको हो । तर मेडिकल सामानमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रुपमा सार्वजनिक गरी सर्वसुलभ मूल्यमा गर्नुपर्ने व्यवस्था समेत सरकारले गरेको छ ।
मेडिकल सामान आयात गर्दा भन्सार छुट दिएकाले ती सामानमा एमआरपी सार्वजनिक गरी सुलभ मूल्यमा बिक्री गर्न निर्देशन दिएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सूचना सार्वजनिक गरेर कोभिड संक्रमित बिरामीको उपचारमा प्रयोग हुने औषधी तथा मेडिकल सामान सुलभ मूल्यमा बिक्री गर्न विक्रेता तथा आयातकर्ता तथा विक्रेतालाई निर्देशन दिएको हो । पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गएपछि मेडिकल सामानको खपत बढी भई व्यवसायीले बढी मूल्य लिई उपभोक्ता ठग्न थालेपछि एमआरपी मूल्यमा कडाइ गर्न लागिएको हो । भन्सार छुटमा आयात हुने औषधी तथा स्वास्थ्य सामग्रीको मूल्य र गुणस्तरको अनुगमन हुने हुँदा ती वस्तुको गुणस्तर परीक्षण गरी एमआरपी मूल्य अनिवार्र्य रुपमा विभागमा जानकारी गराउनुपर्ने छ ।
कोभिड संक्रमित विरामीको संख्या बढ्दै गएपछि मेडिकल सामानको माग बढ्दै गएको छ । कोभिड महामारी फैलिरहेको र स्वास्थ्य सामग्रीको अभाव देखिन थालेपछि आयात तथा आपूर्तिलाई सहजीकरण गर्ने निर्णय भएको उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । विभागका अनुसार स्वास्थ्य सामाग्री आयातकर्ता वितरक तथा विक्रेतालाई रेम्डिसिभिर औषधिको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरी सर्वसुलभ रुपमा बिक्री गर्न समेत निर्देशन दिएको छ ।
विभागले अक्सिजन सिलिण्डर, मेडिकल ग्रेड, लिक्विड अक्सिजन कन्टेनर, ट्यांक, अक्सिजन सिलिण्डर भल्भ, सिरिन्ज पम्प, अक्सिजन फ्लोमिटर, कम्प्रेसर, आइसीयू मोनिटर, बेड, भेन्टीलेटर मास्क, अक्सिजन रेगुलेटर लगायतका सामग्रीहरुमा भन्सार शुल्क र कर छुट दिने निर्णय गरेको हो । कर महशुल छुटमा आयात हुने औषधी तथा स्वास्थ्य सामग्रीको मूल्य गुणस्तर एवं विक्री वितरण अनुगमन हुने विभागको भनाइ छ । कोभिड संक्रमित विरामीको संख्या बढ्दै गएपछि अस्पतालमा मेडिकल सामानको माग बढ्दै गएको छ । मेडिकल सामानमा कालोबजारी बढी भएको गुनासो आएपछि विभागले अनुगमन गरिरहेको र ठगी गर्नेलाई कारबाही प्रकृया अघि बढाएको जनाएको छ ।