Logo

जिल्ला अस्पताल त्रिशूलीलाई विदुर नगरपालिकाद्वारा २ थान भेन्टिलेटर प्रदान


जिल्ला अस्पताल त्रिशूलीलाई विदुर नगरपालिकाद्वारा २ थान भेन्टिलेटर प्रदान गरेको छ । कोरोना भाइरसको दोस्रो लहरबाट संक्रमित हुने दर बढ्दै गएको कारण उपचारमा आवस्यक स्रोत साधनको अभावकै कारण जटिल समस्या निम्तन सक्ने जोखिमलाई मध्यनजर गर्दै २ थान भेन्टिलेटर अस्पताललाई उपलव्ध गराएको नगरपालिकाले जनाएको छ । अमेरिकामा उत्पादित गुणस्तरीय २ थान भेन्टिलेटर नगरपालिकाले भ्याटसहित ५५ लाख ९३ हजार ५ सय रुपैयाँमा खरिद गरिएको नगर प्रमुख सञ्जु पण्डितले बताए । नगरपालिकाको उपमेयरसहित १३ वटै वडाको वडा अध्यक्षहरुसँग समन्वयमा सार्वजनिक खरिद प्रक्रिया पूरा गरेर अस्पताललाई भेन्टिलेटर उपलव्ध गराएको उनले बताए ।
म्याक्जिम इन कर्पोरेसन ट्रेडर्सबाट खरिद गरिएको दुई थान भेन्टिलेटरको ५५ लाख ९३ हजार ५ सय रुपैयाँको चेक नगरपालिकाले त्रिशूली अस्पताल विकास समितिलाई प्रदान गरिसकेको छ । दुई भेन्टिलेटर थप भएसँगै जिल्ला अस्पतालमा भेन्टिलेटरको संख्या ६ वटा पुगेको छ । नगरपालिकाको सहयोगमा भेन्टिलेटर प्राप्त भएपछि बिरामीको उपचारमा थप सहजता हुने त्रिशूली अस्पतालमा मेडिकल सुपरीटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले बताए ।
हाल त्रिशूली अस्पतालमा कोभिड संक्रमितको लागि १० बेडको आईसीयु÷एसडीयूसहित ८० बेडको व्यवस्था गरिएको डा. पाण्डेले जानकारी दिए । हाल अस्पतालमा ५२ जना कोभिड संक्रमितको उपचार भइरहेको छ ।

गमला लामा

प्रतिक्रिया दिनुहोस्