Logo

गण्डकीमा तीन दिनभित्र सरकार गठन गर्न आह्वान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएसँगै गण्डकी प्रदेश प्रमुख सीता पौडेलले त्यसलाई स्वीकृत गरेकी छन् । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख पौडेल समक्ष आइतबार राजीनामा पेश गरेसँगै उनले स्वीकृत गर्दै तीन दिनभित्र नयाँ सरकार गठनको लागि आह्वान समेत गरेकी छन्
नेकपा एमाले नेतृत्वमा मुख्यमन्त्री बनेका गुरुङको सरकार विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ गते २८ जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव सदनमा दर्ता गरेका थिए । वैशाख २७ गते गण्डकी प्रदेश सभामा अविश्वासको प्रस्ताव उपर केही छलफलपश्चात मतदान हुने कार्यक्रम तय भए पनि मुख्यमन्त्री गुरुङले एक दिन अघि नै राजीनामा दिएका हुन् ।
माओवादी केन्द्र र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका गुरुङ उनीहरुले समर्थन फिर्ता लिएसँगै अल्पमतमा पर्ने भएका हुन् । मुख्यमन्त्री गुरुङले नेपालको संविधान धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख पौडेल समक्ष मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री गुरुङले राजीनामा वक्तव्य जारी गर्दै संघीयताको मर्म बमोजिम नेपालको संबिधानको सहज कार्यान्वयन गर्दै प्रदेशको समग्र विकास र समृद्धितर्फ प्रयत्नरत भई आंफ्नो कार्य संञ्चालन गरिरहेकोमा देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलको कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्र मार्फत निर्बाचनमा गएका दलहरुबाट समेत असहयोग र अस्थिरताको वातावरण सृजना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्