महानगरद्वारा त्रिवि शिक्षण अस्पताललाई भेन्टिलेटर सहयोग
काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर उपलब्ध गराएको छ । भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो ।
महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिको रूपमा अगाडि आएको कोभिड–१९ विरुद्धको लडाइँमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताए ।
तीव्र रूपमा कोभिड महामारी विस्तार हँुदै गई बिरामीको उपचारमा नै समस्या देखिन थालेपछि महानगरले विकास निर्माणभन्दा पनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग गर्ने नीति लिएको स्पष्ट पारे । उनले अहिले महानगर मानव जीवन बचाउने दायित्व पूरा गर्ने काममा लागेको उल्लेख गर्दै कुनै पनि किसिमको समस्या परेमा महानगरलाई सम्झिन पनि अनुरोध गरे । उनले सबै विकास निर्माणको काम थाँती राखेर भए पनि महानगर जीवनरक्षाका लागि लागिरहने प्रतिबद्धता जनाए । उनले अन्य अस्पतालमा पनि समस्या भए वा स्वास्थ्य सेवामा प्रभाव परेको जानकारी पाए त्यस्ता अस्पतालसँंग पनि महानगर सहकार्य गर्न तयार रहेको बताए ।
उनले भने, “अहिले हाम्रो प्राथमिकता भनेको विकास निर्माणभन्दा पनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग, सहकार्य गर्ने रहेको छ । शनिबार हामीले १० वटा भेन्टिलेटर प्रदान गरेका छौं । अन्य अस्पताललाई पनि भनिरहेका छौ महानगरले केही सहयोग गरेर ज्यान बचाउन सकिन्छ भने त्यता लागौं भनेका छौ । हामीले सरकारी र सामुदायिक अस्पतालहरूलाई सहयोग गरिरहेका छौं । उनीहरूको सम्पर्कमा छांै । योबाहेक कुनै पनि सहयोग तत्काल चाहियो भने काठमाडौ महानगरपालिका पनि एउटा सहयोगी संस्थाको रुपमा बुझिदिन म अनुरोध गर्दछु ।”
बिरामी भएर कोही पनि अस्पताल आउन नपरोस् भन्ने चाहना महानगरको भए पनि अस्पतालहरूमा विरामीको चाप बढेको उल्लेख गर्दै उनले आफ्नो स्वास्थ्य र परिवार नभनीकन सिंगो देशलाई परिवार ठानेर बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मीको कामको प्रशंसा गरे ।