प्रतिबन्ध फुकुवाले काठ आपूर्ति सहज बन्दै «

प्रतिबन्ध फुकुवाले काठ आपूर्ति सहज बन्दै

करिव एक वर्षदेखि प्रतिबन्ध गरिएको काठ ओसार–पोसार र बिक्री वितरण फुकुवा गर्ने निर्णयसँगै बजारमा काठको आपूर्ति सहज हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्कोे बैठकले गत जेठ १५ मा बन्द गरेको वैज्ञानिक वनअन्तर्गत काटिएका काठको ओसार–पसार र बिक्रीवितरण खोल्ने निर्णय गरेको हो ।
मुलुकभरका ७ सय ५० सामुदायिक वन, ३१ साझेदारी र सात चक्लाबन्दी वनमा वैज्ञानिक वन लागू भएका छन् । लामो समयसम्म वन क्षेत्रमा नै काठ रहँदा सडिरहेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवासायी महासंघ, नेपाल वन प्राविधिक संघ (एनएफए) लगायतले काठमा लगाएको प्रतिबन्ध फुकुवा गर्न सरकारलाई दबाब दिँदै आएका थिए । सरोकारवालाको चर्को दबाबसँगै ११ महिनापछि काठमा लगाइको प्रतिबन्ध फुकुवा भएको छ ।
सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरिसकेको छ । तर काठमा लगाएको प्रतिबन्ध फुकुवा गर्न भने सरकारलाई करिब एक वर्ष लाग्यो । काठ बन्द फकुवाको निर्णयलाई सरोकारवालाहरुले सकरात्मक रुपमा टिप्पणी गरेका छन् ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले प्रदेश मन्त्रालयहरुले लगत पेश गर्न समय लागेकाले काठ ओसार पसार तथा बिक्री वितरणमा लगाएको प्रतिबन्ध खुला गर्न ढिलाई भएको बताए ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अनुसार वैज्ञानिक वन व्यवस्थापनका कार्यक्रम लागु भएका क्षेत्रमा करिव करिव ६० लाख क्यू फिट काठ छ । महासंघका अध्यक्ष मञ्जिल बाबु मास्केले सरकारले ढिलै भए पनि काठ फुकुवा गर्ने निर्णयले काठ व्यवसायीहरु उत्साहित भएको प्रतिक्रिया दिए । “झन्डै १ वर्षमा काठ ओसार पोसार तथा बिक्री वितरणमा लगाएको प्रतिबन्ध खुला गर्नु सकारात्मक हो” उनले भने, “हामीले राजस्व तिरे पनि उपभोग गर्न नपाएको बन्देज फुकुवा भएको छ ।” उनले बजारमा देखिएको काठको माग अनुसारको आपूर्ति व्यवस्थापन सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्