विदेश जाने र स्वदेश फर्कने यात्रु ४०% ले वृद्धि
पछिल्लो ३ दिनमा हवाई मार्ग हुँदै विदेश जाने र विदेशबाट आउने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ ।
कोभिड १९ संक्रमणको दोश्रो लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज २३ गते राती १२ बजे देखि सबै अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरुको चाप बढेको हो । पछिल्ला दुई दिनमा यात्रुहरुको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ ।
नेपाललाई ट्रान्जिट प्वाइट बनाएर तेश्रो मुलुक उडान गर्न नपाउने वैशाख १३ गतेको मन्त्रिपरिषद् निर्णय पछि यात्रुहरुको आवागमनमा कमि आए पनि १९ गतेको निर्णयसँगै आवागमनको दर वृद्धि भएको हो । सरकारले अन्तर्राष्टिय उडान र अवतरणमा रोक लगाएपनि नेपालस्थिति विदेशी दूतावासहरुले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लैजाने गरेको, कोभिड भ्याक्सिन लगाएर ट्रेकिङ गर्न आएका पर्यटकहरुले पनि कम्तिमा १० दिन होटल क्वारेन्टिन बस्नुपर्ने भएपछि आफ्नै देश फर्कने गरेको र घुम्न आएका पर्यटकले पनि घुम्न नपाएपछि फर्कने गरेकाले यात्रुहरुको चाप बढेको बताइएको छ ।
उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि ह्वात्तै बढेको छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको निर्णयसँगै विदेशमा रहेका नेपाली स्वदेश फर्किने र श्रमका लागि विदेश जाने नेपालीहरुले पनि निर्धारित उडान अघि सारेको बताए । यस्तै कामको सिलसिलामा र घुम्न आएका विदेशी नागरिकहरु आफ्नै देश फर्कने क्रम बढेकाले आवागमन ३० देखि ४० प्रतिशतसम्म वृद्धि भएको उनले बताए । उनले भने, “हामीले हरेक दिन विमानस्थलबाट कति व्यक्ति विदेश प्रस्थान गरे र कति स्वदेश आगमन भयो भनेर तथ्यांक राख्ने गर्छौ । त्यो हिसाबले हरेक दिनको आगमन र प्रस्थानको अभिलेख हामीसँग छ । तर विद्यार्थी, कामदार र अरु व्यवसायीहरुको कति आवागमन भयो भन्ने खालको डाटा हामीले राख्ने गरेका छैनौ ।”
नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर अर्को देश जाने प्रयोजनका लागि नेपालमा हवाईयात्रा गर्न नपाइने सरकारको निर्णयपछि त्यस्ता व्यक्ति नेपालमा यात्रा गर्न कम भएको भट्टराईले बताए ।
हवाईमार्गबाट २२ गते मात्रै २ हजार २ सय ९० जना प्रस्थान भएका छन् भने ३ हजार ८ सय ८४ जना नेपाल भित्रिएका छन् । त्यसैगरी, २१ गते १ हजार ४ सय ४० नेपाल छोडेका छन् भने ३ हजार १ सय ८३ जना नेपाल आएका छन् ।
२० गते १ हजार २ सय ५ जना, १९ गते १ हजार ३ सय ६९ जना ,१८ गते १ हजार ६ सय ९० जना र १७ गते २ हजार ५ सय ९ जना हवाईमार्ग हुँदै विदेश गएका छन् । अध्यागमनका अनुसार, २० गते २ हजार ३ सय २३ जना, १९ गते २ हजार ५ सय १० जना, १८ गते २ हजार ३१ र १७ गते २ हजार ६ सय २७ जना नेपाल भित्रिएका छन् । यात्रुहरुको चाप बढेपछि मंगलबार मात्रै एयर अरेबियाले ३ वटा उडान थप गरेको थियो ।