संघीयता बलियो बनाउन प्रदेश सरकारले पनि छिटै अन्तरिक ऋणको अभ्यास सुरु गर्नुपर्ने देखिन्छ
आन्तरिक ऋणको सदुपयोगका लागि संघीय सरकार जिम्मेवार

सरकारले प्रत्येक वर्ष बजेट बनाउने क्रममा एउटा प्रमुख स्रोत आन्तरिक ऋण हो । बजारमा रहेको पैसा सरकारले उठाएर विकासका कार्यमा लगाउँदा पैसाको बढी उपयोग हुन गई दीर्घकालमा त्यसले पुँजी निर्माणमा सघाउ पुर्याउने मान्यताअनुरूप बजारबाट सरकारले पैसा उठाउने गर्छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यसका लागि सरकारलाई वित्तीय अनुशासनमा राख्न एउटा सीमा तोकिदिने प्रचलन छ । यसै क्रममा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका लागि आव २०७८/०७९ का लागि आयोगले आन्तरिक ऋणको सीमा तय गरिदिएको छ । आगामी आवका लागि आयोगले केन्द्रीय तथ्यांक विभागबाट गत साता प्रक्षेपित चालू आवको कुल गार्हस्थ्य उत्पादनको ५.५ प्रतिशतको सीमाभित्र रही आन्तरिक ऋण परिचालन गर्न सिफारिस गरेको छ । जसअनुरूप सरकारले आगामी आवमा अधिकतम २ खर्ब ३४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन सक्नेछ । गत आवमा पनि आयोगले चालू आवका लागि कुल गार्हस्थ्य उत्पादनको ५.५ प्रतिशतको सीमाभित्र रही आन्तरिक ऋण परिचालन गर्न सरकारलाई सिफारिस गरेको थियो । कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतको सीमाभित्रै आन्तरिक ऋण कायम गर्नु वाञ्छनीय भए तापनि चालू आव तथा आगामी आवमा पनि कोरोनाका कारण स्रोत संकुचन हुने तथा आन्तरिक आय संकुचन हुने कारणले प्रकोप व्यवस्थापन गर्न र अर्थतन्त्र चलायमान बनाइराख्न समेत थप स्रोतको व्यवस्थापनका लागि आन्तरिक ऋणको अधिकतम सीमा ५.५ प्रतिशतसम्म कायम गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको आयोगले जनाएको छ । हुन त सरकारले आयोगले तोकेभन्दा बढी पनि आन्तरिक ऋण उठाउन सक्छ, तर यसरी सरकारले बजारको पैसा सबै उठाइदिँदा निजी क्षेत्रलाई स्रोत व्यवस्थापन गर्न गाहो हुन्छ र निजी क्षेत्रको क्षमता घट्न गई फेरि कुल गार्हस्थ्य उत्पादनमा नै नकारात्मक असर पर्छ । सरकारले पनि बजारको पैसा उठाएर विकास निर्माणमा खर्च गरी दीर्घकालीन पुँजी निर्माणमा सघाउ पु¥याउने हो भने निजी क्षेत्रले पनि बजारकै पैसा परिचालन गरी उत्पादनमा वृद्धि गर्ने हो । तसर्थ निजी क्षेत्रलाई संकुचित बनाएर सरकारले सबै आन्तरिक स्रोत परिचालन गर्दा अर्थतन्त्रमा नकारात्मक असर पर्छ । नेपालजस्ता अविकसित तथा राजनीति बढी हाबी हुने मुलुकमा स्रोत परिचालनमा सरकाभन्दा निजी क्षेत्र बढी जिम्मेवार हुन्छ भन्ने मान्यता छ । सरकारले अरूको खल्तीको पैसा परिचालन गर्दा जिम्मेवार ढंगले नगर्ने हुँदा भ्रष्टाचारजन्य कारणले स्रोतको दुरुपयोग बढी हुन्छ । नेपालजस्तै अन्य अल्पविकासित मुलुकका अभ्यास, अर्थतन्त्रको प्रशोचन क्षमता, विद्यमान आर्थिक सूचकहरूको विश्लेषण, आर्थिक स्थायित्व र दिगो आर्थिक वृद्धिलाई सँगसँगै लैजानुपर्ने चुनौती, सैद्धान्तिक आधार र प्रभावकारी सार्वजनिक ऋण व्यवस्थापन गरिनुपर्ने कारणले पनि सरकारलाई एउटा निश्चित सीमा तोकिदिनुपर्ने आवश्यकता भएको हो ।
आयोगले प्रदेश सरकारका लागि पनि आगामी आवमा संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड र प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सिफारिस गरेको छ । साथै, स्थानीय तहका लागि संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड र स्थानीय तहको आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन आयोगले सिफारिस गरेको छ । तर, प्रदेशहरूले अहिलेसम्म कानुनको अभावमा आन्तरिक ऋण उठाउने अभ्यास गरेका छैनन् । केही प्रदेशले बजेटमा व्यवस्था गरे तापनि हालसम्म कानुन तथा संरचनाको अभावमा आन्तरिक ऋण उठाउन भने सकेका छैनन् भने स्थानीय तहको बजेट प्रणालीमा आन्तरिक ऋणको प्रभावकारी व्यवस्थापन भएको पाइँदैन । तर संघीयता बलियो बनाउन प्रदेश सरकार तथा स्थानीय तहले पनि छिटै अन्तरिक ऋणको अभ्यास सुरु गर्नुपर्ने देखिन्छ । यसका लागि संघीय सरकारले यथाशीघ्र कानुन तथा संरचना तयार गर्न सघाउनु आवश्यक छ; अन्यथा संघीयताको मूल मर्म मर्न जानेछ ।