Logo

सिस्नो प्रशोधन हुम्ली महिलाको आयआर्जन बन्दै

सिस्नो उत्पादनमा सहभागी महिला समूह तस्बिर: रेशमराज रोकाया


हुम्लाका महिला सिस्नो प्रशोधन गरेर आयआर्जनमा लागेका छन् । सिमकोट गाउँपालिकाभित्र रहेका महिलाले करिब दुई वर्षअघिदेखि स्थापना गरेको महिला सिस्नो समूहमार्फत हाल सिस्नो प्रशोधन गर्न थालेका छन् ।
समूहले खरिद गरेको प्रशोधन मेसिनमा हाल सिमकोट गाउँपालिकामा रहेका ३३ जना महिलाले सिस्नो प्रशोधन गरी आयआर्जन गर्नका लागि सीप सिकिरहेका छन् ।
गाउँघरमा प्रशस्त मात्रामा हुने सिस्नोको उपयोगिता थाहा नहुँदा त्यसै खेर जाने गरेको भए तापनि हाल सिस्नोको उपयोगिता बिस्तारै बढ्दै गएका कारण सिस्नोको प्रशोधनमा महिला जुटेका छन् । स्वतःस्फूर्त रूपमा महिलाले गठन गरेको समूहले सिस्नोको प्रशोधन मात्रै नभएर बिक्री–वितरण गर्न पनि थालेको छ ।
प्रतिकिलो २ सय रुपैयाँमा बिक्री हुने महिला सिस्नो समूहले हुम्लाका विभिन्न स्थानमा तालिमसमेत प्रदान गर्दै आएको छ ।
घरको सानोतिनो खर्च टार्नका लागि यो तालिम र सिस्नो प्रशोधन उपयोगी हुने विश्वास लिएर सीप सिकिरहेको उद्योग तथा उपभोक्ता हित संरक्षण समितिको आर्थिक सहयोगमा सिस्नो प्रशोधन सिकिरहेकी सहभागी मेशु रावतले बताइन् ।
खेतबारीमा खेर गइरहेको सिस्नो टिपेर प्रशोधन गरी बालबालिकाको विद्यालयको शुल्कलगायत अन्य खर्चका लागि सिस्नो बिक्रीपश्चात् सहयोग भइरहेको तालिमका प्रशिक्षक सिमकोट–५ का प्रशिक्षक ज्ञानु रोकायाले बताइन् ।
कुनै पनि सरकारी तथा गैरसरकारी कार्यालयलाई महिलाको उत्थानका लागि कुनै पनि आर्थिक प्राविधिक सहयोग नहुँदा आफूहरूले उद्योगको वृत्ति विकास गर्न नसकिरहेको समूहका सदस्यले बताएका छन् ।
अति नै स्वादिष्ट परिकारका रूपमा मानिने सिस्नोको सेवनले बाथरोग सन्चो हुने गरेको छ । दमको रोगी, दीर्घरोगीका लागिसमेत अति नै उपयोगी हुने गरेको छ ।
भिटामिन ‘ए’ को उच्च मात्रा हुने सिस्नोको प्रचारप्रसार र प्रवद्र्धन गर्न सकिएमा हुम्लाका अधिकांश बेरोजगारले आयआर्जन गर्न सक्ने सम्भावना रहेको छ । हुम्लाका उच्चदेखि न्यून उचाइ रहेको भागमा पाइने विभिन्न प्रजातिको सिस्नो पाइने गरेको छ ।
उच्च भागमा पाइने पार्नी सिस्नो, झाले सिस्नो र आल्ले सिस्नोबाट विभिन्न परिकारको तरकारी उच्पादन गर्नका लागि महिला समूह लागिपरेको छ ।
सिस्नोको बजार पाँचतारे होटल र अन्य तारे होटल भएका कारण हुम्लामा त्यस्ता खालका होटल नहुँदा हाल बिक्रीमा समस्या भइरहेको छ । ढुवानीका लागि हवाई माध्यम प्रयोग गर्नुपर्ने भएको कारण हुम्लाका विभिन्न अर्गानिक उत्पादनको बजारीकरण हुन नसकेको उद्योग तथा उपभोक्ता हित संरक्षण प्रमुख धु्रवकुमार बाठामगरले बताए ।
हाल यो प्रकृतिको तालिम पहिलो पटक प्रदान गरिएको र यसबाट सीप सिकेका महिलाले आगामी दिनमा घरखर्च यही उत्पादनबाट लिन सक्ने विश्वास बाठामगरले बताए ।
औषधीय गुण भएको सिस्नोको बिक्री र बजारीकरणका लागि राज्यले पहल गर्नुपर्ने र हुम्लाका महिला पनि आयआर्जन गरी समृद्ध नेपाल बनाउने सपनामा सहभागी हुने निश्चित रहेको मुख्य प्रशिक्षक जयदेवी शाहीले बताए । हाल जिल्ला बाहिर घर भई हुम्लामा कामविशेषले आउने व्यक्तिले नासोका रूपमा पनि सिस्नो किन्ने गरेको पाइएको छ ।
सहरी क्षेत्रका अर्गानिक पसलमा यहाँको उत्पादन पु¥याउन सकिएमा हुम्लाका महिलाको आयआर्जनमा टेवा पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्