बाम गठबन्धनको कार्यदललाई ओली र दाहालको निर्देशन

राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठित संयुक्त कार्यदललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काम गर्न निर्देशन दिएका छन् । बुधबार बिहान ओली निवास बालकोटमा कार्यदलका सदस्यहरूसमेत उपस्थित बैठकमा दुई नेताले प्रदेशसभा र राष्ट्रिय सभा गठनका विषयमा निर्देशन दिएका हुन् ।
ओली र दाहालले प्रदेशसभा गठन र राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको मतलाई आधार बनाएर उम्मेदवार चयन गर्ने, विभिन्न ठाउँ र समुदायका प्रभावशाली व्यक्तिलाई प्राथमिकता दिने, पार्टी एकताको स्पिरिटलाई कायम राख्ने र दुवै पक्षको सन्तुलन कायम गरी सिट निर्धारण गर्ने गरी प्रतिवेदन बनाउन निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री चयन र प्रदेशसभाको व्यवस्थापन लगायतका विषयमा पनि समान धारणा बनाएर प्रतिवेदन पेश गर्न ओली र दाहालले कार्यदललाई निर्देशन दिएका छन् । कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्नेछ ।
कार्यदल सदस्य वर्षामान पुनका अनुसार कार्यदलले दुवै दलले प्राप्त गरेको जनमत, व्यक्तिको व्यक्तित्व र योगदान, पार्टी एकताको स्पिरिट र सन्तुलनलाई आधार बनाइएर प्रतिवेदन बनाउनेछ ।
कार्यदलले विहिबारदेखि नै काम सुरु गरेर चाँडो प्रतिवेदन पेश गर्ने र प्रतिवेदन भन्दा पहिले नै पार्टी एकता भएमा कार्यदलको प्रतिवेदनसहित बाँकी जिम्मेवारी स्वतः एकीकृत तहको शीर्ष कमिटिमा जाने पुनले बताए ।
मंगलबार बसेको एकता संयोजन समितिको बैठकले प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे, माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् ।
पार्टी अध्यक्षबारे १५ दिनमा टुंगो : ओली
यसैबीच, एमाले अध्यक्ष केपी ओलीले एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारेमा १५ दिनभित्रै टुंगो लाग्ने बताएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले पार्टी नेतृत्व कसले गर्ने भन्ने बारेमा अहिले बोल्नु हतार हुने बताए ।
“यो विषयमा अहिले नै बोल्नु हतार हुन्छ । १५ दिनमै सबै कुरा टुंगो लाग्छ,” उनले भने । उनले चिकित्सकको सिफारिसअनुसार नियमित जाँचका लागि थाइल्याण्ड जानका लागेको र त्यहाँ कुनै राजनीतिक भेटघाट नहुने स्पष्ट पारे ।
उनले निर्वाचन आयोगले निर्वाचन परिणाम रोकेकोमा असन्तोष व्यक्त गरे । आयोगले परिणाम रोक्नु जनादेशको अवमूल्यन भएको टिप्पणी उनको थियो ।