Logo

कांग्रेस केन्द्रीय समिति बैठक महासमितिमा केन्द्रित हुने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकमा यही मंसिर ९ गते केन्द्रीय कार्यसमितिको बैठकमा पेश भएको प्रस्तावित विधानको मस्यौदामाथि छलफल हुनेछ । सो विधानमाथि केन्द्रीय पदाधिकारी र सदस्यहरुले धारणा राख्ने क्रम शनिबार नै सकिएको थियो । बैठक आज (सोमबार) बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मंसिर ९ गतेदेखि विधान संशोधन मस्यौदामा केन्द्रित रहेको बैठक ९ दिनसम्म चलेको थियो । विधानमाथिको छलफलमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्य गरेर ७७ जनाले धारणा राखेका थिए । विधानमा सदस्य संख्या बढाउने तर, पदाधिकारी नबढाउने व्यवस्थाबारे संस्थापन र संस्थापन इतर समूहबीच मतभेद छ । संस्थापन इतर समूह पदाधिकारीको संख्या बढाउने र निर्वाचित केन्द्रीय सदस्यको प्रतिशत बढाउने पक्षमा छ भने संस्थापन पक्ष मनोनित गर्ने सदस्यको संख्या बढाएर सभापतिलाई बलियो बनाउनुपर्ने पक्षमा छ । कांग्रेस विधानमा ८५ बाट बढाएर केन्द्रीय समिति १४१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ ।
केन्द्रीय समितिबाट टुंग्याएर सो प्रस्तावित विधान महासमिति बैठकमा पेश हुनेछ । मंसिर २८ देखि पुस ३ सम्म रामशाहपथको यलम्बर पार्टी प्यालेसमा महासमिति बैठक बस्ने तय भएको छ ।
सोमबार बस्ने बैठकमा कसरी प्रस्तुत हुने भन्ने तय गर्न संस्थापन र संस्थापन इतर समूहको आइतबार बेग्लाबेग्लै बैठक बस्यो । प्रकाशमान सिंह निवास चाक्सीबारीमा संस्थापन इतर समूहको बैठक बसेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता सिंहसहित संस्थापन इतरका अधिकांश नेता सहभागि बैठकमा विधानकै विषयमा छलफल भएको थियो । बैठकमा सहभागी संस्थापन इतर समूहका नेता दिलेन्द्र बडुले विधानलाई सर्वसम्मत बनाउने विषयमा छलफल केन्द्रीत रहेको बताए । “बैठकमा के–के विषयमा सहमति नजिक पुग्न सकिन्छ भन्ने सल्लाह भयोे,” बडुले भने ।
त्यस्तै, सभापति देउवाले पनि आफू निकटस्थहरुसँग केन्द्रीय समिति बैठकमा विधानका विषयमा धारणा तय गर्न छलफल गरेका छन् । महासमिति बैठकमा सर्वस्ममत विधान लैजाने मनस्थितिमा सभापति देउवा रहेको संस्थापन समूहका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्