सन्राइज बैंकको शाखारहित बैंकिङ सेवा फक्ताङलुङको सिवामा
सन्राइज बैंकले ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–३, सिवा, ताप्लेजुङमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७४ पुगेको छ ।
बैंकले खोलेको सो शाखारहित बैंकिङ सेवाको ब्यवसाय प्रतिनिधिका रुपमा पदमबहादुर बुढाथोकीलार्ई नियुक्त गरेको छ । शाखारहित बैंकिङ सेवाको फक्ताङलुङ गाउँपालिका–३ का वडा अध्यक्ष आइतराम लिम्बुले उद्घाटन गरे ।
सो कार्यक्रममा फक्ताङलुङ–३ का वडा सदस्य तेजविर लिम्बु, सिवा माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतम, स्थानीय व्यवसायी तथा समाजसेवी अग्नी प्रसाद सिग्देल, सन्राइज बैंक फुङलिङ शाखाका शाखा प्रबन्धक ध्रुवप्रसाद बाँस्कोटा र शाखाका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
शाखारहित बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यले सेवा सुरु गरेको बैंकले जनाएको छ ।