Logo

व्यवहारिक ज्ञान सिकाउँदै शुभम्

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् (शुभद्रा–मदन) फाउन्डेसनले अबको शिक्षाको खाँचो झल्काएको छ । हिजोको शिक्षा पद्धति सैद्धान्तिकमा मात्र सीमित रह्यो । तर अबको शिक्षा प्रणाली भने व्यवहारिक बन्न जरुरी छ । शिक्षा मानव जीवनको अपरिहार्य पाटो हो । शिक्षाबिनाको मानव आजको दुनियाँमा काम नलाग्ने हुन्छ । तपाईं हामीले लिएको शिक्षा वास्तवमा सैद्धान्तिक मात्रै रहेछ, व्यवहारिक भने रहेनछ ।
खोटाङ जिल्लामा रहेको शुभम् फाउन्डेसनले अबको शिक्षा व्यावहारिक गराउन जोड दिँदै आएको छ । फाउन्डेसन आफैंमा विद्यालय होइन तर विद्यालयमा अपनाइनु पर्ने शिक्षण पद्धतिको नयाँ प्रयोग यहाँ देख्न र सिक्न सकिन्छ ।
विद्यार्थीलाई पाठ रटाउने तर पाठ्यक्रमले खोजेको क्रियाकलापमा संलग्न नगराउने शैक्षिक परिपाटी अन्त्यका लागि २०७० सालमा स्थापित फाउन्डेसनले शिक्षामा नयाँ प्रयोग गरिरहेको छ । शिक्षा छ तर काममुखी छैन, पढे लेखेका धेरै छन् तर हातमा सीप छैन, सर्टिफिकेट छ तर रोजगारी पाइँदैन । यही समस्या समाधान गर्ने उपायको खोजीमा लागेको छ फाउन्डेसन ।
“डिग्रीको सर्टिफिकेट प्राप्त गरिसकेपछि एउटा नागरिक हरेक सीप र ज्ञानयुक्त हुनुपर्छ,” फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले भने, “तर अहिलेको शिक्षा प्रणाली प्रमाणपत्र दिलाउने अवस्थामा मात्र छ । ज्ञान दिएको छ तर बुद्धि, विवेक र सीप दिएको छैन । यो प्रणालीमा सुधार ल्याउने जमर्को गरिरहेका छाँै ।”
हरेक विद्यार्थीलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने उद्देश्यले फाउन्डेसनले कुटोदेखि कम्प्युटर चलाउनेसम्मको जीवनोपयोगी शिक्षाको अभ्यास गराउँदै आएको छ । सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षण विधि अपनाएर शैक्षिक अभ्यास गरिरहेको फाउन्डेसनमा पाठ्यपुस्तक अध्ययनसँगै मानव जीवनमा गर्नुपर्ने वा मानव जीवनका लागि आवश्यक सबै काम सिकाउने गरिएको छ ।
फाउन्डेसनका विद्यार्थीले विद्यालयबाट शैक्षिक प्रमाणपत्र लिन्छन् भने फाउन्डेसनबाट व्यावहारिक ज्ञान र सीप । विद्यालयमा लिएको सैद्धान्तिक ज्ञानलाई फाउन्डेसनमा बसेर व्यवहारमा उतार्ने अभ्यास गर्छन् ।
फाउन्डेसनमा पुग्दा विद्यार्थी केही न केही सीपमूलक काम सिकिरहेका भेटिन्छन् । विद्यार्थी समूहगत रूपमा बन्दा, काउली, आलु, अकबरे खुर्सानीलगायत खेतीको हेरचाह, तिनमा लाग्ने रोग र उपचार, तिनको अंग्रेजी नाम, वैज्ञानिक नाम, खेती गर्ने समयबारे प्रयोगात्मक अध्ययन गरिरहेका हुन्छन् ।
त्यस्तै समूहगत रुपमा गाई, बाख्रा, भैंसी, बंगुर, खरायो, हाँस, कुखुरा, परेवा, लौकाट, टर्की घोडा लगायतको अध्ययन, बगैंचा सजावट, सिलाइ कटाइ, कम्प्युटर ल्याब, पुस्तकालय, इन्जिनियरिङ, आरन, पाक कला, सिकर्मी, डकर्मी, कुटानी पिसानी, पर्यटन सम्बन्धी प्रयोगात्मक सीप सिकाइन्छ । प्रत्येक विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै सीपले पूर्ण बनाउन भाषा÷बोली, खाना, बास, वस्त्र, प्रकृति, प्रविधि, स्वास्थ्य, मानविकी व्यवस्थापन, मनोरञ्जन तथा खेलकुद, सृर्जनात्मक कला र सन्तुलन गरी ११ विधामा प्रयोगात्मक शिक्षा दिने गरिएको फाउन्डेसनका कायकारी निर्देशक राईले बताए । राईले भने, “कसरी बाँच्ने भनेर प्रयोगात्मक सीप सिकाउँछौं । आत्मनिर्भर बन्न सीप सिकाउने गरेका छौं ।”
फाउन्डेसनका साना कक्षाका विद्यार्थी सैद्धान्तिक ज्ञान लिन नजिकै रहेको जनजागृति आधारभूत प्रावि र मावि तह माथिका कक्षाका विद्यार्थी सरस्वती मावि दिक्तेलमा भर्ना भएका छन् । त्यो भन्दा माथिल्लो तहका विद्यार्थी दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत छन् । तर, उनीहरू विद्यालय र क्याम्पसको बन्द कोठामा मात्र सीमित रहँदैनन् । विद्यार्थीलाई जे कुरा सिकाउनु छ, प्राक्टिल रुपमा नै सिकाइन्छ ।
“विद्यालयले कोठाभित्र राखेर सिकाउँछ, फाउन्डेसनले कोठा बाहिर लगेर सिकाउँछ अर्थात् प्रत्यक्ष काम गराएर सिकाउँछौं,” राईले भने, “विद्यालय र फाउन्डेसनबीचको शिक्षण शैलीमा फरक यत्ति हो ।”
विद्यार्थीलाई शिक्षा, सीपलगायत हरेक हिसाबले सक्षम बनाउने, कृषि, पर्यटन, उद्योगलगायतका उत्पादन, बजारीकरण गर्न सिकाउने, मानव अस्तित्वसँग जोडिएको वातावरण शिक्षा फाउन्डेसनका लक्ष्य हुन् । जीवनोपयोगी शिक्षाको अभ्यास गर्दै आएको फाउन्डेसनले २०७२ सालमा नजिकै रहेको जनजागृति आधारभूत विद्यालय जिम्मा लिएर व्यावहारिक शिक्षाको अभ्यासलाई अझ फराकिलो बनाएको छ । विद्यार्थी संख्या घटेपछि खारेजीमा पर्न लागेको विद्यालयलाई फाउन्डेसनले व्यावहारिक शिक्षाको अभ्यासमार्फत् पुनः जगाएको छ । खारेजीमा पर्न लागेपछि अभिभावकको आग्रहमा फाउन्डेसनले जनजागृतिलाई शिक्षा सुधारको अभ्यास गर्ने थलोका रूपमा विकास गरेको हो । फाउन्डेसनमा दिसापिसाब र पसिनालाई समेत मलका रूपमा प्रयोग गर्न सिकाइन्छ ।
पाठ्यपुस्तकसँगै काममुखी शिक्षालाई जोड दिँदै आएको फाउन्डेसनमा हाल सात वटै प्रदेश तथा हिमाल, पहाड र तराईका ३० जिल्लाका डेढ सय विद्यार्थी छन् । भारत बिहारका विद्यार्थी पनि फाउन्डेसनमा छन् । कृषिविज्ञ मदन राईको लगानीमा २०६१ सालमा स्थापित नाहिमा कृषि स्रोत केन्द्रलाई २०७० सालमा शुभम् फाउन्डेसनमा परिवर्तन गरिएको हो । फाउन्डेसनले निम्न आर्थिक स्तर भएका र ८ देखि १० वर्ष उमेरभित्रका जेहेन्दार विद्यार्थीलाई शिक्षा, खाने, बस्नेसहितको सुविधा दिइरहेको छ । ‘संस्कारमा हुर्काऔं र प्रकृतिमा सिकाऔं’ भन्ने नारासाथ विद्यार्थीलाई रुचि र इच्छा अनुसार सिक्ने अवसर दिने गरिएको छ ।
फाउन्डेसनमा इलाम, झापा, मोरङ, सिरहा, सर्लाही, उदयपुर, सोलुखुम्बु, महोत्तरी, धादिङ, काठमाडौं, ललितपुर, कास्की, हुम्ला, कालिकोट, बाजुरा, रुकुम, रोल्मा, जुम्ला, सल्यान, सुर्खेत, बाँके, बैतडीलगायतका विद्यार्थी आवासीय छन् । व्यवहारिक शिक्षण विधिकै कारण फाउन्डेसनमा टाढा–टाढाबाट विद्यार्थी आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्