Logo

पहिलो वर्ष डेढ लाख टन ल्याइने

भारतबाट जीटुजीमार्फत रासायनिक मल आउने

लामो प्रयासपछि सरकारले भारतबाट सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत रासायनिक मल ल्याउने तयारी गरेको छ ।
मल आयात गर्नका लागि प्रस्ताव पठाइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । सरकारले भारतसँग सरकारी संयन्त्र (जीटुजी) मार्फत यो वर्ष एक लाख ५० हजार टन मल आयात गर्ने तयारी गरेको छ । त्यसका लागि नेपालबाट आवश्यक कागजात भारत पठाइसकेको र भारत सरकारले अन्तिम स्वीकृत दिएपछि केही दिनभित्र सम्झौता गरिने मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले जीटुजीमार्फत मल ल्याउने गरी प्रस्ताव पठाइसकेको बताए ।
सरकारले बजारको मागअनुसार मल खरिद नगर्दा विगतका वर्षहरुमा किसानले अभाव खेप्दै आएका छन् । जीटुजीमार्फत मल आयात गरेपछि मलमा खरिदमा हुने कमिसन स्वतः हट्ने र यसको कारण किसानले सस्तो मूल्यमा मल पाउने अपेक्षा गरिएको उनले बताए ।
भारतले प्रस्ताव स्वीकृत गरेपछि दुई देशबीच मल आयात गर्न सम्झौता गरिने उनले जानकारी दिए । पहिलो वर्ष डेढ लाख, त्यसपछि दोस्रो वर्ष दुई लाख गरेर क्रमशः पाँच लाख टन पु¥याउने गरी प्रस्ताव पठाइएको उनले बताए । मन्त्रालयका अनुसार, पहिलो वर्ष एक लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डिएपी ल्याइने भएको छ । त्यस्तै दोस्रो वर्ष १ लाख २० हजार मेट्रिक टन युरिया र ९० हजार मेट्रिक टन डिएपी ल्याउने तयारी गरिएको छ । जसका कारण यसपटक धान रोप्ने सिजनामा बजारमा रासायनिक मलको अभाव नहुने मन्त्रालयको दावी छ । मन्त्रालयले यसपटक असारमा किसानले सहजै मल प्राप्त गर्ने जनाएको छ ।
भारतबाट मल ल्याउन नसकेपछि सरकारले विभिन्न देशबाट मल ल्याउने प्रयास गरे पनि गएको सिजनामा किसानको लागि मल आइपुग्न सकेन । धेरै हारगुहारपछि हाल बंगलादेशबाट पनि मल आएको छ । बंगलादेशबाट आयात गर्न लागिएको ५० हजार मेट्रिक टनमध्ये पहिलो चरणको २२ हजार ५ सय मेट्रिक टन मल भित्रिसकेको र बाँकी आउने क्रममा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
गत पुस २ गते नेपालले बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसनसँग जीटुजीमार्फत ५० हजार टन मल ल्याउने सम्झौता गरेको थियो । नेपालले बंगलादेशसँग प्रतिटन २५९.१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको थियो ।
मुलुकमा वार्षिक सात लाख मेट्रिक टन रासायनिक मलको माग रहेको छ । मागअनुसार मलको आयात नहुँदा किसानले धान रोप्ने सिजनमा मलको अभाव खेप्दै आएका छन् । यो वर्ष भारबाट जिटुजीमार्फत समेत मल आयात हुने भएकाले धान रोप्ने बेला मलको अभाव नहुने मन्त्रालयले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्