Logo

जनगणना–२०७८ र कुलुङ जातिको अवस्था

हरेक १०–१० वर्षमा गर्ने राष्ट्रिय जनगणना वि.सं. २०७८ जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तासम्म हुँदै छ । स्मरणीय छ, यो जनगणना १२ औं राष्ट्रिय जनगणना हो । त्यसैले यस पटकको जनगणनामा कुलुङ जातिका अगुवाहरूले खेल्नुपर्ने भूमिकाबारे केही लेख्ने जमर्को गरिएको छ ।
त्यसो त हालसम्म राज्यबाट अलग्गै जातिका रूपमा मान्यता पाई नसकेको कुलुङ जातिका बारेमा भन्नुपर्दा वि.सं. २०६८ को ११ औं राष्ट्रिय जनगणनामै कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ र कुलुङ मातृभाषी संख्या ३३ हजार १ सय ७० आएको छ । तर, त्यो बेला अधिकांश कुलुङहरूले जात वा जातिको महलमा कुलुङ मात्रै नलेखेर ‘कुलुङ राई’ लेखेको हुनाले कुलुङ जातिको सही तथ्यांक आएन । अर्थात् वि.सं. २०६८ को जनगणनामा जति पनि कुलुङहरूले ‘कुलुङ राई’ वा ‘राई’ लेखेका थिए, उनीहरूको जनसंख्या ‘राई’मा गाभियो । त्यसो भए तापनि वि.सं. २०६८ को ११ औं राष्ट्रिय जनगणनामा आएको ‘कुलुङ’ जातिको अलग्गै तथ्यांककै आधारमा केन्द्रीय तथ्यांक विभागले आगामी १२ औं राष्ट्रिय जनगणनामा पनि कुलुङ जातिका लागि अलग्गै जातिगत र भाषागत कोड उपलब्ध गराएको छ । यसरी केन्द्रीय तथ्यांक विभागले आगामी १२ औं राष्ट्रिय जनगणनाका लागि कुलुङ जातिलाई उपलब्ध गराएको ‘जातिगत कोड–६२’ रहेको छ भने कुलुङ ‘मातृभाषागत कोड–२९’ रहेको छ । त्यसैले आगामी जनगणनामा अरू (राई भन्नेहरू) ले जे लेखाए तापनि हामी (कुलुङ) हरूले भने हाम्रो समुदाय (कुलुङ) लाई जनगणनाबारे बताउँदा वा प्रशिक्षित गर्दा अहिलेदेखि नै जातिको महलमा कुलुङ ‘राई’ वा ‘राई’ नलेखेर ‘कुलुङ’ मात्रै लेखौं÷लेखाऊँ भनी प्रशिक्षित गर्नुपर्छ । साथै राईवादी कामरेडहरूले हामीलाई बाधा–व्यवधान गर्ने काम पनि नगरून् भन्ने यही लेखमार्पmत हार्दिक अनुरोध छ । हामी सबै आ–आफ्नो बाटो लागौं । ‘राई’ लेख्न चाहनेहरूले ‘राई’ लेख्नोस्, अरू नै केही लेख्न चाहनेहरूले अरू नै केही लेख्नुहोस्, त्यसमा हामीले कहिल्यै पनि बाधा–व्यवधान गर्ने छैन । तर, हामी (कुलुङ) हरूलाई पनि तपाईंहरूले ‘कुलुङ राई’ वा ‘राई’ नै लेख भनी जोर–जबरजस्ती नगर्नुहोस्, बाधा–व्यवधान नगर्नुहोस्, ‘कुलुङ’ लेख्ने हाम्रो नैसर्गिक हक–अधिकार र मानवअधिकारको हनन नगर्नुहोस् भन्ने अर्को अनुरोध पनि यसै लेखमार्पmत गर्छु ।
स्मरण रहोस्, हामीलाई कसैले (वास्तविकता नबुझेर कुलुङ–कुलुङबीचमै पनि) ‘कुलुङ’ मात्रै होइन, ‘कुलुङ राई’ लेखौं भन्न सक्छन् । तर, त्यसरी ‘कुलुङ’ मात्रै नलेखेर ‘कुलुङ राई’ लेख्दा हाम्रो ‘कुलुङ’ को जनसंख्या फेरि पनि वि.सं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा जस्तै ‘राई’ मा गाभिन जान्छ र कुलुङको जनसंख्या फेरि पनि कम आउँछ । त्यसैले हामीले फेरि पनि वि.सं. २०६८ को ११ औं जनगणनामा जस्तो ‘कुलुङ राई’ लेखेर हाम्रो असली कुलुङ जातीय स्वपहिचान र जनसंख्या नहटाऊँ÷नघटाऊँ । किनभने जनगणनामा आएको तथ्य र तथ्यांकका आधारमा नै सम्बन्धित जातजाति, समुदाय, वर्ग, लिंग, धर्म, क्षेत्रका लागि राज्यले बजेट छुट्ट्याउने, नीति, नियम बनाउने गर्छ । त्यसैले पनि हाम्रो (कुलुङ) तथ्यांक सही आउनुपर्ने देखिन्छ । वि.सं. २०६८ मा पनि पढालेखा भनिएका र जनगणनामा खटिएका हाम्रै कुलुङहरू र कुलुङ संघको केन्द्रीय कार्य समितिमा रहेका जिम्मेवारहरूले समेत ‘कुलुङ’ मात्रै लेख्नुको सट्टा ‘कुलुङ राई’ लेखेका थिए । तर, वि.सं. २०७४ को स्थानीय निर्वाचनपछि त्यस्ता केही कुलुङहरूले स्थानीय तहमा ‘कुलुङ’ संघको सिफारिसमा उहाँको नागरिकतामा ‘राई’ भए तापनि उहाँ जन्मसिद्घ रूपमै ‘कुलुङ’ हो भनी सिफारिस गरेर पठाएपछि स्थानीय निकायमा (केही जिल्लामा) मनोनीत पनि भएका छन् । त्यसैले अब उहाँहरू जस्ता व्यक्तिहरूले पनि वि.सं. २०६८ को जनगणनाको सन्दर्भलाई कुलुङबारे गरेको÷भएको भूललाई सम्झेर, गल्ती–कमजोरीलाई जोडेर प्रचारप्रसार गर्नका लागि अग्रिम मोर्चामा आउनुपर्छ, यो बेला ।
अझ महŒवपूर्ण कुरो कुुलुङ जाति आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को दफा २ (क) अनुसार आदिवासी जनजाति सूचीमा सूचीकृत हुन बाँकी नै छ । हुन पनि हामीले जत्ति नै कुलुङहरू राई होइन, अरू जातिसरह कुलुङ पनि अलग्गै जाति हो भने तापनि आदिवासी जनजाति सूचीमा नपरेसम्म कसैले पनि कुलुङ अलग्गै जाति हो भनेर गन्दैन÷भन्दैन । किनभने आदिवासी जनजातिहरूको सूची हेर्दा सो सूचीमा कुलुङ जाति उल्लेख भएको हुँदैन ।

प्रतिक्रिया दिनुहोस्