आयल निगममा ईआरपी प्रणाली

नेपाल आयल निगमले आगामी शुक्रबारदेखि आफ्ना सबै कार्यालयमा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गर्ने भएको छ ।
म्यानुअल रुपमा रहेको कामलाई डिजिटलाइज गर्नका लागि निगमले वैशाख ३ गतेदेखि सो प्रणाली लागू गर्न लागेको हो । वैशाखदेखि परीक्षणका रुपमा ईआरपी प्रणाली सुरु गरिने र असारदेखि पूर्णरुपमा सबै कार्यालयमा लागू गरिने निगम प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिए । लेखा प्रणाली, प्रशासनको काम सबैलाई एकीकृत रुपमा लैजान सो प्रणाली सुरु गर्न लागिएको प्रवक्ता उपाध्यायको भनाइ छ ।
ईआरपी जडान भइसकेपछि लेखा प्रणालीअन्र्तगतको झन्झटिला काम, लेजर पोष्टिङ गर्ने काम, सफ्टवेयरमार्फत गरिरहेका कामलाई विस्थापित गरेर ईआरपीमार्फत एकद्वार प्रणालीबाट काम हुने उनको भनाइ छ ।
यसले निगमको काम छिटो छरितो हुनुका साथै जनशक्ति पनि कम लाग्नेछ । निगमको ट्यांकरमा हुने गुणस्तर, चोरी, मिसावटलाई नियन्त्रण गर्न सकिने उनको भनाइ छ । पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानीलाई न्यूनीकरण गर्न पनि निगमले ईआरपी प्रणालीबाट काम गर्ने भएको हो । जुन प्रणाली सफ्टवेयरमार्फत स्वचालित प्रणाली हो । निगमका सम्पूर्ण कार्यहरूलाई विद्युतीय (डिजिटलाइज) प्रणालीमा लगिनेछ ।
ईआरपी प्रणालीबाटै निगमका देशभरका प्रादेशिक कार्यालय, डिपोहरू र विभागहरूको दैनिक काम कारबाही एकीकृत सूचना प्रणालीमा आउनेछन् । एकै स्थानबाट निरीक्षण र अनुगमन गर्न सहज र निर्देशन हुनेछ । २८ करोड रुपैयाँ लागतमा न्यूटेरिक नामक संस्थाले यसको सफ्टवेयर निर्माणलगायतका प्राविधिक काम गरिरहेको छ । यसले तेल खरिद गर्नुअघि एपको माध्ययमबाट भुक्तानी गर्न पनि सहज हुने निगमको भनाइ छ । निगममा भएको कारोबारलाई थप व्यवस्थित बनाउने यस प्रणालीले थप सहज बनाउन सक्छ ।
निगमका अनुसार ईआरपी प्रणालीअन्तर्गत निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरूलाई इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमबाट जीपीएस प्रणालीमा लैजाने योजना छ । जसले गर्दा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी गर्न सकिने छ ।
ट्यांकरको रुट, समय तथा यात्राको रेकर्ड निगरानी हुनेछ । भारतबाट पेट्रोलियम पदार्थ भरेर नेपाल आउने ट्यांकरलाई पनि यही प्रविधिमा समेटेर निगरानी गरिने छ । ढुवानीमा रहेका ट्याकंरलाई प्रत्यक्ष निगरानी गरिने भएकाले चुहावट र मिसावट नियन्त्रण हुने निगमको भनाइ छ ।
ढुवानी गरेको ट्यांकर अपहरण हुनेदेखि एकल ताला तोड्ने काम व्यवसायीबाट भएपछि बलियो सुरक्षाका रूपमा ईआरपी प्रणाली लागु गरेको निगमले जनाएको छ । दुई वर्षअघि एकल ताला प्रणाली लागू गरेर पुरानो प्रविधिको लिड सिल विस्थापित गरे पनि निगमले पूर्णरुपमा सफलता भने पाउन सकेन ।
ईआरपी प्रणाली विश्वमा अधिकांश इन्धन उत्पादक तथा वितरक कम्पनीले प्रयोग गर्दै आएको विश्वसनीय प्रविधि भएको निगमले जनाएको छ । यसले नेपालको पेट्रोलियम पदार्थको बजार व्यवस्थित गर्ने निगमको दाबी गरिएको छ । आइओसीले पनि ईआरपी प्रणाली लागू गरेको छ । ईआरपी जडानले निगमको खर्च घट्नुका साथै आम्दानीमा वृद्धि हुने दाबी गरिएको छ । अनावश्यक खर्च तथा जनशक्तिको व्यवस्थापन हुनेछ । अनलाइनमा काम हुने भएपछि जनशक्तिको आवश्यकता कम हुनेछ । त्यसका लागि निगमले संगठन संरचना र दरबन्दीलाई समयानुकूल पुनरावलोकन गर्ने भएको छ । यसबाट प्रशासनभित्रको बेथिति र ढिलासुस्तीको अन्त्य हुने निगमको दाबी छ । पेट्रोल पम्प तथा बिक्रेताले अनलाइनबाट माग र भुक्तानी गर्ने छन् । निगमका दैनिक कारोबार तथा तथ्यांकहरू अनलाइन प्रणालीमा हुनेछ ।