सेयर बजारमा कमजोर नियामक निकाय «

सेयर बजारमा कमजोर नियामक निकाय

कोरोना कहरका कारण अर्थतन्त्रका सबै क्षेत्र शिथिल हुँदा सेयर बजारमा एउटा क्षेत्रमात्रै प्रभावित नभएको देखियो । त्यसका विभिन्न कारणमध्ये लगानीकर्तासँग भएको लगानीयोग्य पुँजीको लागि अन्य क्षेत्र शिथिल हुनु थियो भने अर्को कारण घट्दो ब्याजदर थियो । साथै, पछिल्लो समय सेयर बजार अनलाइन भएसँगै लगानीकर्तामा एउटा उत्साह पनि आएको छ । तर, पछिल्लो समय बजारको विकास तथा विस्तारसँगै विकृति पनि भित्रिएको छ । कमजोर नियामक निकायको फाइदा लिएर बजारमा केही खेलाडीले चलखेल गर्दा बजारप्रतिको विश्वासमा कमी आउने खतरा पनि देखिन्छ । मंगलबार सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण हालसम्मकै उच्च कायम भई ३६ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । अर्थतन्त्रको आकारभन्दा केही मात्रै सानो रहेको बजार पुँजीकरण रहेको एउटा क्षेत्रमा नियामक निकाय कमजोर हुनु भनेको लगानीकर्ताको लगानी सुरक्षामा गम्भीर प्रश्न उठ्न थालेको छ । सेयर बजारमा सूचना पासो थापेर चलखेल गर्ने त थियो, अब सूचना चुहाएर सेयर किनबेच गर्ने गलत प्रवृत्ति पनि बजारमा देखिन थालेको छ । यसको अर्थ नेपालको धितोपत्र बजारको नियामक निकायलाई जतिसक्यो छिटो नेपाल राष्ट्र बैंकजस्तै छुट्टै कानुन ल्याएर स्वायत्त बनाई बजारमा चलखेल गर्नेमाथि कडा कारबाही गर्न नेपाल धितोपत्र बोर्डलाई बलियो बनाउनुको विकल्प छैन । अन्यथा नियामक निकायको कमजोरी तथा सरकारको सेयर बजारलाई अर्थमन्त्रालयको एउटा एकाइका रूपमा बुझ्ने प्रवृत्तिका कारण सीमित व्यक्तिले लाभ लिने र धेरै लगानीकर्ताले नोक्सान उठाउनुपर्ने स्थिति आउने देखिन्छ । हालै सेयर बजारमा अजोड इन्स्योरेन्सको प्रकरणले पनि यदि नियामक निकाय तथा अर्थमन्त्रालयलाई झस्काएको छैन भने बजारका लगानीकर्ताको सुरक्षामा ठूलो शंका हुने स्थिति आउँदै छ । कम्पनीले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने घोषणा गर्नुअगाडि नै उक्त सूचना पाएर केही लगानीकर्ताले ठूलो संख्यामा सेयर कारोबार गर्दा नियामक निकायले पछिमात्र थाहा पाउनु भनेको लगानीकर्ताका बारेमा नियामक निकाय कतिसम्म सूचनाविहीन छ भन्ने उदाहरण हो । यसरी भित्री सूचना चुहाएर कारोबार गर्दा पनि नियामक निकायले कारबाही गर्न सकेन भने यसले सेयर बजारका अन्य लगानीकर्तामा अविश्वास बढाउँछ । कानुनले यस्तो भित्री कारोबार रोक्न जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । धितोपत्र ऐन–२०६३ का अनुसार यदि त्यस्तो काम–कारबाहीबाट कसैलाई हानि–नोक्सानी पर्न गएमा क्षतिपूर्ति पनि दिनुपर्ने हुन्छ ।
तर, नेपालमा सेयर बजारको नियामक निकायलाई बजारका खेलाडीले नगन्ने प्रवृत्ति धितोपत्र बोर्ड स्वायत्त नभएर हो । नियामक निकायलाई प्रभावकारी नियमन गर्न चाहिने कानुन तथा जनशक्तिसहित बलियो नबनाए हाल बढिरहेको बजारमा धेरै लगानीकर्ता डुब्ने निश्चित छ । पछिल्लो समयमा सेयर बजारमा धेरै नयाँ लगानीकर्ता भित्रिएका छन् । नयाँ अर्थमन्त्री आए पनि बढ्न थालेको बजारमा जसरी धेरै लगानीकर्ता भित्रिएका छन् त्यसरी नै उनीहरूको लागनीको सुरक्षा पनि बढाउनुपर्छ । तर, धितोपत्र बोर्डसँग न त पर्याप्त सूचना छ, न त तथ्यांक नै छ । जसका कारण बेलाबेलामा यस्ता घटना दोहोरिइरहेका छन् । जसरी सेयर बजारमा पछिल्लो केही समय हरेक दिनजस्तै नयाँ रेकर्ड कायम भइरहेका छन्, त्यसबाट पनि नियामक निकाय चनाखो हुन आवश्यक छ । नयाँ लगानीकर्ता थपिनु, कोरोनाका कारण अन्य लगानीका क्षेत्र सुस्ताउनु, प्रविधिका कारण बजार विस्तार हुनु तथा पछिल्ला महिनामा सस्तो ब्याजदरका कारण सेयर बजारले हरेक दिन नयाँ रेकर्ड राखेको छ । तर, धितोपत्र बोर्डको कमजोरीले ती लगानीकर्ता डुब्नु भएन । सरकारले छिटोभन्दा छिटो नियामक निकायलाई बलियो बनाउने र बजारमा हुने चलखेल निस्तेज बनाउने कानुन ल्याइ लगानीकर्ताको सुरक्षा गर्नु सरकारको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्