याङ्ग्री र लार्के आएपछि मात्र चौबीसै घण्टा पानी दिन सक्छौं «

याङ्ग्री र लार्के आएपछि मात्र चौबीसै घण्टा पानी दिन सक्छौं

मिलन शाक्य, प्रमुख कार्यकारी अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)


स्वच्छ र सफा पानी सहज रूपमा पाउनु जनताको मौलिक हक हो । लामो समयसम्म खानेपानीको चरम अभाव झेलिरहे उपत्यकावासीले । पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई २०४८ सालको आमनिर्वाचनमा काठमाडौं–१ बाट उम्मेद्वार थिए । चुनावी प्रचारप्रसारका क्रममा खानेपानी समस्या बेहोरिरहेका उपत्यकाका मतदाताबाट भोट तान्नका लागि ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे । धेरैले पत्याएनन् । उनको नारालाई धेरैले ठट्टाकै रूपमा लिए, तर आज उनले देखेको सपना पूरा भएको छ । उनको सपनाले सार्थकता पाएको छ । धेरै उपत्यकावासीको मन–मस्तिष्कमा छाप परेको छ कि सपना देख्नुपर्छ र देखिएका सपनालाई पछ्याउने हो भने असम्भव केही रहेनछ । जसरी कृष्णप्रसाद भट्टराईले देखेको सपना पूरा भएको छ । आज मेलम्चीको पानी उपत्यकावासीको धारा–धारामा आउन थालेको छ । वर्षौंपछिको प्रतीक्षाको घडी अब भने समाप्त भएको छ । तर, अब मेलम्चीको पानीले मात्रै हाम्रो माग पूरा होला ? अझै कति आवश्यक पर्छ भन्ने प्रश्न उठेको छ । मेलम्चीको पानी आएपछि उपभोक्ताको आवश्यकता पूरा गर्न सहज भए पनि माग भने पूरा नहुने बताउँछन्, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य । शाक्यसँग मेलम्ची खानेपानी वितरणको अवस्था, आगामी रणनीति, चुनौती र समाधानका विषयमा कारोबारकर्मी प्रगति ढकालले गरेको कुराकानीको सार :

अहिले उपत्यकामा खानेपानीको मागको अवस्था कस्तो छ ?
काठमाडौं उपत्यकामा अहिले करिब ४३ करोड लिटर माग छ । सुक्खा मौसम लागेकाले आपूर्ति अहिले हाम्रो ८ करोड लिटर उत्पादन छ । माग र उत्पादनबीचमा अहिले ठूलो फरक छ । मेलम्चीको पानी गत चैत १५ गतेदेखि प्राप्त भयो । त्यसले गर्दा हामीलाई धेरै राहत महसुस भएको छ । आजको दिनसम्म मेलम्चीको साढे ८ करोड लिटर पानी आइसकेको अवस्था छ । त्यसलाई महाकांलचौर, मीनभवन, अनामनगर, खुमलटार र बालाजु अनि महाराजगन्ज पानी पोखरीमा राखेर वितरण कार्य सुरु गरिएको छ । अरू पोखरीहरूमा पठाउनचाहिँ अझै बाँकी नै छ । यसरी पठाएर प्राप्त भएको पानीका आधारमा कुन–कुन क्षेत्रमा कति पानी दिने, त्यसको समय तालिका अहिले हाम्रो पोखरी हेर्ने टिमहरूले फिक्स गर्दै पानी वितरणको काम भइरहेको छ ।

मेलम्ची आएसँगै पानीका समस्या भोग्नुपर्ने दिनहरू पनि समाप्ति भएकै हुन् त ?
हाल उपत्यकामा ४३ करोड लिटर पानीको माग छ । हामीसँग उपलब्ध भनेको ८ करोड लिटर र मेलम्चीको १७ करोड लिटर आउने भन्ने कुरा छ । अहिले त साढे ८ करोड लिटर मात्रै आएको छ । १७ करोड लिटर पानी आएपछि २५ करोड लिटर हामीलाई हुनेछ । अझै पनि १८ करोड लिटर त पानीको अभाव हुनेछ । चौबीसै घण्टा पानी दिनका लागि पानी पर्याप्त भइसकेको छैन । त्यो पर्याप्तता याङ्ग्री र लार्केको थप ३४ करोड आएपछि माग र आपूर्ति मिल्नेछ । तर, याङ्ग्री र लार्के धेरै ढिला हुने र काठमाडौं उपत्यकामा जनसंख्या फेरि बढ्दै जाने हो भने फेरि पनि समस्या आउन सक्छ । याङ्ग्री र लार्के सकेसम्म छिटो ल्याउन सकियो भने अहिलेको माग धान्नलाई सजिलो हुन्छ । चौबीसै घण्टा हामी पानी दिन पनि सक्छौं भनेर हामीले अनुरोध पनि गरिरहेका छौं । यही किसिमबाट अगाडि बढ्ने भन्ने सरकारको पनि कार्यक्रम छ भन्ने हामीले बुझिरहेका छौं ।

मेलम्चीको पानीको पाइपको स्टाटस के छ ?
मेलम्चीको खानेपानी वितरण गर्नका लागि नयाँ पाइपलाइनहरू हाम्रो आयोजना कार्यान्वयन निर्देशनालयबाट बिछ्याइएको छ । त्यो काठमाडौंमा ८० प्रतिशत भागहरूमा सम्पन्न भइसक्यो । अरू बाँकी भागमा पाइप बिछ्याउनका लागि पनि सम्झौता भएर काम सुरु हुँदैछ । त्यो हिसाबले करिब–करिब रिङरोडभित्र चाहिँ नयाँ पाइपलाइनहरू बिछ्याउने अवस्था छ । रिङरोडभित्र त्यसरी नयाँ पाइपलाइन बिछ्याउँदा पनि अहिले तुरुन्तै नयाँ पाइपलाइनबाट पानी वितरण गर्नलाई परीक्षणको काम बाँकी छ । त्यो भएर पुरानै पाइपलाइनबाट पानी वितरण हुनुपर्छ भन्ने किसिमबाट हामी अगाडि बढेका छौं र पुरानो पाइपलाइनबाट पानी वितरण गर्दा समस्या पनि छन् ।

कस्ता समस्या देखापरेका छन् ?
समस्याहरू के आए भने पुरानो पोखरीबाट पुरानो पाइपलाइनमा पानी वितरण गर्नु भनेको त्यहाँको पाइप साइजहरू सानो छ । जति धारालाई दिनुपर्ने पानी हो त्यति दिनलाई पाइप साइज पनि त्यहीअनुसार हुनुपर्छ । त्यो पाइपको साइज सानो हुनाले हामीले पर्याप्त पानी दिए पनि पाइपले तान्न सक्ने अवस्था पनि हुँदैन । त्यसैले यस्ता प्राविधिक समस्याले गर्दा त्यो समस्या छ भने अर्को समस्या भनेको पुरानो पाइप भूकम्पको समयमा पनि धेरै क्षति पुगेको हुनसक्छ । लिकेज बढी भएको पाइन्छ । मर्मत सुरु भएको छ । अब पनि बढ्दै जान सक्नेछ ।

मेलम्चीको पानी आइसकेपछि अझै बढ्न सक्छ यस्ता लिकेजहरू, यसलाई आगामी दिनमा कसरी व्यवस्थापन गरेर अगाडि बढ्नुहुनेछ ?
पुरानो पाइप भएकाले लिकेज बढ्न सक्छ । त्यसलाई चाहिँ तत्काल बनाउने योजना हामीले बनाएका छौं । त्यसका लागि निर्माण व्यवसायी हामीले मौजुदा सूची तयार गरेर राखेका छौं । सम्पर्क गर्नासाथ काममा खटिन सक्ने निर्माण व्यवसायीहरूको व्यवस्था गरेका छौं । फिटिङ सामग्रीहरू पनि हामीले मौज्दातमा राखेका छौं, जसले गर्दा निर्माण व्यवसायीहरू पनि त्यहाँ हुने, सामान पनि त्यहाँ भइसकेपछि हामीलाई बाँकी रहन्छ के भने सडक विभागको स्वीकृति । सडक विभागको स्वीकृति तुरुन्त भयो भने हामी मर्मतको काम पनि छिटो गर्न सक्छौं । प्रायः हाम्रो योजना के छ भने, बिहान–बेलुका र साँझसम्म पानी वितरण गर्ने र रातको समयमा पानी लिकेज मर्मत गर्ने भन्ने किसिमले हामी गइरहेका छौं । रातको समयमा हामीलाई गर्नुपर्ने बाध्यता कसरी भयो भने दिउँसो ट्राफिक पनि हेबी हुने भए । ट्राफिक नै बाधा बनाएर लिकेज बनाउँछु भन्ने हो भने कतिपय ठाउँमा सम्भव नहुने पनि देखिन्छ ।
यो मर्मतको काम हामीले सुरु पनि गरिसकेका छौं । लागत ठाउँअनुसार पनि फरक पर्छ । लिक भएपछि हामीले बनाउनुपर्ने भएकाले अहिले नै हामीले कहाँ लिक हुन्छ भन्ने स्थिति रहँदैन । जति हामी लिक देख्छौं उति नै बनाउँदै जानेछौं ।

खानेपानीको समानुपातिक वितरणको समस्या छ । जस्तै एउटा टोलमा लामो समय पानी आउँछ, अर्को टोलमा पानी नै धेरै कम आउँछ । वितरण प्रणालीलाई समानुपातिक बनाउन कसरी अगाडि बढ्नुहुनेछ ?
समानुपातिक वितरण गर्नलाई पाइपको प्रणाली पनि त्यस्तो खालको हुनुपर्छ । हाम्रो पाइपको संरचना जुन किसिमले एकदम जेलिएको अवस्था छ । यता वा उता कनेक्सन छ । त्यो पानी सबै पाइपलाइनमा जाने सबै पोखरीहरूबाट पाइप राम्रै भयो भने पाइपलाइनमा भरी पानी रहने अवस्था रह्यो । कुनै एउटा पोखरीमा पानी कम भयो भने पनि अर्को ठाउँमा पानी हुन्छ । त्यसले गर्दा प्रेसरराइज हुन नसक्ने हो । धारामा आउन नसक्ने हो । त्यसैको समाधानका लागि भनेर नै नयाँ पाइपलाइन बिछ्याइएको छ । नयाँ पाइप प्रणाली वैज्ञानिक ढंगले डिजाइन भएर जहाँ जुन किसिमको पानी चाहिन्छ दायाँ–बायाँ पनि बिछ्याइएको अवस्था छ । कुनै–कुनै ठाउँमा कति पानी पठाउने भनेर पहिल्यै नै थाहा पनि हुन्छ । त्यो भएको हुनाले एउटा समानुपातिक पानी वितरण गर्नका लागि सजिलो हुने भयो । दोस्रो कुरा, नयाँ बिछ्याइएको पाइपमा चुहावट पनि कम हुन्छ । किनकि पाइप पनि आफैंमा नयाँ, त्यसमा पनि १५ प्रतिशतभन्दा कम चुहावट भएको प्रमाणित भएमा मात्रै निर्माण व्यवसायीले भुक्तानी पाउने हो । यसले गर्दा गुणस्तर व्यवस्थापनमा पनि त्यसले सहयोग नै गर्छ । यसले अहिले पुरानो प्रक्रियाबाट पानी वितरण गर्नुभन्दा नयाँमा जानु एउटा समानुपातिक वितरण गर्नका लागि सजिलो भयो । दोस्रो कुरा, चुहावट पनि कम भयो । त्यसमा हाम्रा उपभोक्ताहरूलाई धेरै मात्रामा हामी पानी दिन सक्ने सन्तोषजनक अवस्थामा हामी पुग्छौं ।

मेलम्चीको पानी वितरणको प्रक्रिया कस्तो हुन्छ ? दिनभर पानी वितरण हुन्छ या कुन–कुन समयमा पानी आउनेछ ?

मेलम्चीको पानी अहिले जम्मा साढे ८ करोड लिटर प्राप्त भएको हुनाले बाँडफाँडको समयतालिका मिलाएका छौं । त्योअनुसार हरेक पोखरीबाट धाराको संख्या पनि फरक छ । हरेक पोखरीबाट वितरण हुने धाराका संख्या फरक भएका कारणले गर्दा हामीले समयतालिका मिलाएर नै गर्नुपर्ने अवस्था रहन्छ । समयतालिका हामीले मिलाएका छौं । यसो गर्दा कहिले–कहिले कुनै ठाउँमा तीन–चार घण्टा नै पानी आयो भन्ने रिपोर्ट आइरहेको छ । कुनै ठाउँमा अझ पुगेन भन्ने कुराहरू पनि आइरहेको छ । यो एक प्रकारले भन्दा समानुपातिक वितरण प्रक्रियाको नेटवर्क नहुनेबित्तिकै समस्या त आउने स्वाभाविक नै हुन्छ । जहाँ–जहाँ आयो, जहाँ बढी छ, त्यसलाई घटाउँदै जाने, जहाँ पुग्दै पुगेको छैन, कम भएको छ, त्यसलाई पठाउन के उपाय गर्न सकिन्छ, त्यसमा हामी प्रयासरत रहेका छौं ।

उपत्यकामा पानी ट्यांकी कति छन् र तिनीहरू कति कति क्षमताका छन् ?
पानी ट्यांकी फरक–फरक साइजको छ हाम्रो । जस्तो महाकांलचौरको पानी ट्याङ्की ५० लाख लिटरको छ । बालाजुमा आयो भने ३० लाख लिटरको छ । अनामनगर खुमलटार, मीनभवन गर्दा त्यहाँ फरक–फरक साइज छ । तर, पोखरीको प्रयोग भनेको हामीले एउटा ब्यालेन्स गर्नका लागि मात्रै हो । पानी जति आउँछ पोखरी भर्नासाथ पानी छोड्ने हुन्छ । सबैतिर पानी जम्मा गर्ने र पोखरीबाट छोड्ने भन्दा पनि एउटा ब्यालेन्स गर्नका लागि पोखरीको प्रयोग हुन्छ । मुख्यतया हाम्रो पानी कति आपूर्ति भइरहेको छ, हाम्रो पानी कति आयो भन्ने महŒवपूर्ण हुन्छ । त्योअनुसार हामीले व्यवस्थापन गरिरहेका हुन्छौं ।

खानेपानीको महसुल बढाउने कुरा छ नि हो ?
महसुल त अहिलेसम्मलाई १० हजार लिटरको १ सय रुपैयाँ नै कायम छ । अब यो बढाउनुपर्छ भन्ने कुराहरू त उपभोक्ताहरूबाट पनि आइरहेको छ । ऋण तिर्नुपर्ने भएका कारण पनि यो बढाउनुपर्ने अवस्था छ । मेलम्चीको निर्माण कार्यका लागि ऋण छ । पाइपलाइन बिछ्याएको ऋण छ । उपभोक्ताहरूले नै १० हजार लिटरको सय रुपैयाँ भनेको कम हो, कम शुल्क लिएर तपाईंहरूले सेवा कसरी राम्रो दिन सक्नुहुन्छ ? भन्ने कुरा आएको छ ।

उसो भए कति शुल्क बढाउने त ?
शुल्क बढाउने विषयमा अध्ययन भइरहेको छ । अहिले नै यतिउति बढाउने भन्ने त छैन । हाम्रो महसुल निर्धारण आयोग भने छ । महसुल निर्धारण आयोगले विभिन्न प्रक्रियाहरू पूरा गरेर महसुल निर्धारण गर्छ । अहिले आयोग रित्तै छ । आयोगमा अहिले पदाधिकारी रिक्त नै छन् ।

मेलम्चीको पानी आएपछि उपत्यकाको ढल सिस्टमले काम गर्दैन भन्ने पनि छ, कसरी व्यवस्थापन गर्नुहुन्छ ?
मेलम्चीको पानी थप हामीलाई प्राप्त भएपछि जति पानी खपत हुन्छ त्यसको ८० प्रतिशत जति पानी ढलमा बगेर जान्छ भन्ने अहिलेसम्मको प्राविधिक रेकर्ड छ । यसरी पानी ढलमा जाँदा ढल ओभरफ्लो हुन्छ भन्ने कुरा ढलहरूमा पानी नहुँदा जाम भएर पनि ओभरफ्लो हुने हो । पानी भएपछि झन् सफा गर्छ र त्यसले सहज हुन सक्ने अवस्था पनि देखिन्छ । तर मुनि ढल ब्लकेज छ । कुनै ढल राम्रोसँग सञ्चालन हुन सकिरहेको छैन । कहिलेकाही ढल ब्लक भयो भने हाम्रो ढल महाशाखा भन्ने छुट्टै छ । हामीसँग जेटिङ मिसिन छ । खोल्ने व्यवस्था पनि गर्छौं ।

मेलम्ची आएपछि उपत्यकाको ग्राउन्ड वाटरको अवस्था के हुन्छ त ?
आजको दिनमा सुक्खा मौसममा खानेपानी उत्पादनको ६० प्रतिशत त ट्वुबेलकै पानीबाट प्राप्त हुन्छ । अहिले सुक्खा मौसममा खानेपानीका मुहानहरू सुकेको अवस्था हुन्छ । त्यसले गर्दा जमिनमुनिको पानीले नै अहिले हाम्रो धेरै आपूर्ति हुन्छ । मेलम्चीको पानी आएपछि जमिनमुनिको पानीलाई हामीले रेस्ट गराउने, जसले गर्दा जमिन पनि रिचार्ज हुन्छ । भूगर्भविद्ले पनि धेरै जमिनमुनिको पानी तान्यो भने समस्या पो हुने हो कि भन्नुभएको छ । त्यो कुरालाई पनि हामीले ध्यानमा राखेर अगाडि बढ्छौं । मेलम्चीको पानी आएको अवस्थामा जमिनमुनिको पानीचाहिँ नतान्ने नै भन्ने छ ।

काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्लामा पुग्ने हो मेलम्ची ?
तीन जिल्लामा जान्छ । भक्तपुर र कीर्तिपुरमा पाइपलाइन बिछ्याउने काम बाँकी छ । पानी परीक्षणको क्रममा रहेकाले कुनै स्थानमा कम र कुनै स्थानमा बढी हुन्छ ।

वि.सं २०८१ सम्ममा याङ्ग्री र लार्केको पानी वितरण गर्ने भन्ने छ । समयमै सम्पन्न हुन्छ कि फेरि मेलम्चीको झंै भाका सरेको स-यै हुन्छ ?
मेलम्चीको पानी आएको अवस्था छ । याङ्ग्री र लार्के भनेको पनि मेलम्चीको सुरुङबाट ल्याउने कुरा हो । खालि त्यहाँ ९ किलोमिटर याङ्ग्रीसँग र लार्केका लागि थप २ किलोमिटर सुरुङ निर्माण गर्न सकिने देखिन्छ । ११ किलोमिटर सुरुङ खानेपछि १७÷१७ करोड लिटर पानी अहिल्यैको सुरुङबाट ल्याउन सकिँदो रहेछ । यसले गर्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने कुरामा सबैको एकमत छ । योजनाहरू बनेको छ याङ्ग्री र लार्केको । तर, त्यसलाई कार्यान्वयनमा लानका लागि बजेटको सुनिश्चितता गर्नुपर्ने हुन्छ । सुनिश्चिता गर्ने क्रममा सरकारले अगाडि बढाइरहेको छ भन्ने कुरा बुझिएको छ ।

आजको हाम्रो खानेपानीको अवश्यकता त सधैं स्थिर नरहन पनि सक्छ नि त । भावी दिनमा यसको माग बढ्दै गयो भने खानेपानीको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
पानीको स्रोत मौजुदा जे छ, त्यसलाई पनि संरक्षण गर्दै जानुपर्ने हुन्छ । याङ्ग्री र लार्के छिटो ल्याएमा माग र आपूर्तिको सन्तुलन भइरहन्छ । पानी थप चाहिने कुरा उपत्यकामा जनसंख्या कसरी बढिरहन्छ भन्ने कुरामा निर्भर रहन्छ । भविष्यमा हुने माग वृद्धिलाई ध्यानमा राखी पानीको नयाँ स्रोत कसरी परिचालन गर्ने भन्ने विषयमा अध्ययन गर्नुपर्छ ।

वातावरणीय सेवा भुक्तानीको कुरा पनि आएको छ, मेलम्चीवासीलाई शुल्क बुझाउनुपर्छ भन्ने छ । महसुलको आधारमा भुक्तानी उपलब्ध गराउने हो ?
पानी ल्याउँदा वातावरणमा केही न केही असर गर्छ । रोजगारलाई असर गरेको हुनसक्छ । परिपोषणको छुट्टै नीति लिएर अगाडि बढ्दै छ । महसुल ग्राहकबाट लिन्छौं, थप गरेर बुझाउने भन्ने पनि छ ।

केयूकेएल घाटामा छ कि नाफामा छ र आईपीओ खोल्दै हुनुहुन्छ हो ?
कलेक्सन कम छ । नगद आपूर्ति असहज स्थिति छ । पानी आउँदा सुधार हुने अवस्था छ । हाम्रो कम्पनीको प्रावधानमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भन्ने हो । पुँजी प्राप्त हुने भयो । उपभोक्ताहरू आफैं पनि सहभागी हुने भए ।

पानीको गुणस्तर कस्तो छ ? हामी ढुक्क भएर मेलम्चीको पानी प्रयोग गर्न सक्छौं ?
मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधित भएर पोखरीहरूमा आइरहेको अवस्था छ । हाम्रो ल्याबले टेस्ट गर्दा पिउन योग्य छ । उपभोक्ताले धारामा के हुन्छ भन्ने कुराले फरक पर्छ । कुन पाइपबाट गएको छ भन्ने कुरामा भर पर्छ । कुनै पनि पाइप ४० वर्ष भएको छ भने जीर्ण भएर खिया लाग्न सक्छ । मेन लाइनमा फोहोर गएको छ, ढलमा जोडिएको छ भने ढलको पानी पस्न सक्छ । सकेसम्म हामी कोसिस गर्दैछौं । नयाँ पाइपलाइनमा लाँदा समस्यामा छौं ।

संविधानले नै स्वच्छ पानी पिउन पाउनुलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ, तर २० प्रतिशतले मात्रै स्वच्छ पानी पाएका छन् भन्ने छ, तपाईंहरू किन उपभोक्ताले प्रयोग गर्ने पानीको गुणस्तर कस्तो छ भनेर अध्ययन गरेर कसरी गुणस्तर व्यवस्थापन गर्ने भन्ने कुरालाई प्रामिकतामा राख्न सक्नुहुन्न ?
अहिले पनि गुणस्तर मापन गर्ने प्रावधान छ । हाम्रो ल्याबले पनि कहाँ–कहाँ फोहोर पानी आउँछ, पहिचान गरेर मर्मतको काम गरिएको हुन्छ । शंकास्पद पानी आएको भए उपभोक्ताले घरेलु प्रविधि प्रयोग गर्नुभएको पनि हामीले देखिरहेका छौं ।

पानीको समस्या देखिएमा समाधानका लागि के गर्नुहुन्छ ?
पानी उपभोक्ताले सदुपयोग गर्नुहोस् भन्न चाहन्छु । चुहावट देखिएमा समयमा नै हामीलाई सूचना गर्दिनुहोस् । छिटो मर्मत हुन्छ । फेसबुक पेज छ, सबै ब्रान्चहरूको । जस्तै केयूकेल महांकाल ब्रान्च छ । पानी नआएमा गुनासो पनि त्यहाँ गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्