Logo

डेडिकेटेडको १० अर्ब बक्यौता असुल्न लेखा समितिको निर्देशन


संघीय संसदको सार्वजनिक लेखा समितिले ट्रंक लाइन र डेडिकेटेड फिडरको १० अर्ब १४ करोड ८ लाख ३० हजार रुपैयाँ सम्बन्धित उद्योगीसँग असुल्न निर्देशन दिएको छ ।
आइतबार बसेको लेखा समितिको बैठकले एक महिनाभित्र लामो समयदेखि उठाउन नसकिको बक्यौता असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको हो । समितिले एक वर्षअघि तयार पारेको प्रतिवेदनले १० अर्ब १४ करोड पुगेको उल्लेख गरेपनि प्राधिकरणले भने करिब १६ अर्ब पुगिसकेको जनाएको छ । चरम लोडसेडिङका बेला ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत् सेवा लिई महसुल नतिर्ने सबै उद्योगबाट साँवा, ब्याज एवं हर्जनासहित उठाउन निर्देशन दिएको सभापति भरतकुमार शाहले जानकारी दिए । तर हालै प्राधिकरण सञ्चालक समितिले बक्यौताबारे अस्पष्ट निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिले गरेको निर्णयको पहिलो नम्बरमा बक्यौता असुल्न गर्ने, दोस्रो नम्बरमा सरकारको उच्चस्तरीय समितिले दिएको निर्देशनको आधारमा गर्ने र तेस्रो नम्बरमा असारसम्मका लागि समय दिने उल्लेख छ । प्राधिकरण स्रोतले भने पहिलो नम्बरको निर्णयलाई दोस्रो नम्बरले काट्ने भएकोले कसरी बक्यौता उठाउने भन्ने अन्योल छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गठन गरेको तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा अर्थ मन्त्री रहेको समितिले महशुल दर तोकिएपछि औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य भएसम्मको बेलामा मात्र महशुल उठाउनका लागि विद्युत् प्राधिकरण र नियमन आयोगलाई निर्देशन दिइसकेको छ । कानुनअनुसार अर्को महशुल नतोकेसम्म पुरानै कायम रहने भएकाले प्राधिकरणद्वारा गठित समितिले भने सबै बक्यौता उठाउनुपर्ने गरी प्रतिवेदन दिइसकेको छ ।
लेखा समितिले २०७६ साउन ५ गने मिनेन्द्र रिजालको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले भने प्राधिकरणको नेतृत्व, पदाधिकारी र कर्मचारीहरूबाट ट्रंकलाइन र डेडिकेटेड लाइनको राजस्वसम्बन्धी गम्भीर विषयमा चरम लापरवाही भएको पाइएको उल्लेख गरेको छ । उद्योगीहरूले विद्युत् प्राधिकरणले उद्योग व्यवसाय नै धराशायी हुने भन्दै मिनाहाका लागि अनुरोध गरिरहेका छन् ।
समितिको छलफलका क्रममा समिति सदस्यहरु राजेन्द्र केसी, प्रदीप यादव, मैनाकुमारी भण्डारी, पार्वती डिसी चौधरी लगायतले उद्योगीबाट ट्रंक लाइन र डेडिकेटेड फिडरको उठ्न बाँकी बक्यौता सावा, ब्याज र हर्जनासहित असुल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्