मेलम्ची पानीको गुणस्तरमा शंका नगरौं : केयूकेएल
धारामा मेलम्चीको पानी आएसँगै यसको गुणस्तरबारे पनि उपभोक्ताले चासो राखेका छन् । खानेपानी वितरणको मुख्य जिम्मेवारी पाएको काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल) ले ढुक्क भएर मेलम्चीको पानी पिउन सकिने जनाएको छ ।
मेलम्चीको पानी सुन्दरीजलको ट्रिटमेन्ट प्लान्टबाट शुद्धीकरण गरेर मात्रै उपत्यकामा रहेका विभिन्न स्थानका पानी ट्यांकीमा जम्मा भएपछि उपभोक्ताको धारामा पठाइएको भन्दै केयूकेएलले सहजै पिउन सकिने बताएको हो । लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न आग्रह गरे ।
“मेलम्चीको पानी खान योग्य छ कि छैन होला भन्ने उपभोक्ताको प्रश्न छ । तपार्इंहरू ढुक्क भएर पिउन सक्नुहुन्छ, हामीले पानी प्रशोधन गरेर पठाएका हौं । उपभोक्ताको धारामा पुगुञ्जेल पाइपको फोहोरले अशुद्ध भएमात्रै नत्र पानी खानयोग्य छ ।”
सुरुङबाट ल्याइने पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिएको खानेपानी मन्त्रालयको भनाइ छ । मेलम्चीको पानी राख्नका लागि सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको निर्माण जापानी सहयोग नियोग (जाईका) ले गरेको हो ।
मेलम्ची खोलाको डाइभर्सन स्किम र वितरण प्रणालीको बीचमा यो प्रशोधन केन्द्र अत्याधुनिक प्रविधि प्रयोग गरी निर्माण गरिएको र केन्द्रबाट प्रशोधित पानी विश्व स्वास्थ्य संगठनले तोकेको शुद्ध खानेपानी मापदण्ड अनुसारको रहेको जाइकाले जनाएको छ ।
जाइकाद्वारा प्रदान गरिएको करिब पाँच अर्ब सात करोड ८० लाख रुपैयाँ ऋण सहयोगमा प्रशोधन केन्द्र निर्माण गरिएको हो । जाइकाबाट प्राप्त सहयोग केन्द्र निर्माण र त्यससँग सम्बन्धित परामर्श सेवाका लागि खर्च गरिएको थियो । प्रशोधन केन्द्रबाट दैनिक आठ करोड ५० लाख लिटर बराबरको पानी प्रशोधन गर्न सकिने खानेपानी मन्त्रालयले बताएको छ ।
३५ अर्ब रुपैयाँ खर्चिएर मेलम्ची खानेपानी आयोजनाले पूर्णता पाएसँगै झन्डै दुई दशकदेखिको उपत्यकाबासीको पर्खालको घडी समाप्त भएको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका उपत्यकाबासीमा खुसी छाएको छ ।