Logo

दूध र मासुमा कहिले पूर्ण रूपमा आत्मनिर्भर होला नेपाल ?

सरकारले मासु, अन्डा र दूधमा देश आत्मनिर्भर भएको घोषणा गरेको छ । अन्डा र मासुमा पूर्ण रूपमा र दूधमा आत्मनिर्भर उन्मुख भएको घोषणा गरेको सरकारले हालै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले औपचारिक कार्यक्रम गरेर ती उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको हो । दुई वर्षमा पशुपन्छीजन्य उत्पादनमा निर्यात गर्ने रणनीति तयार गरी कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले बताएको छ ।
अन्डा र कुखुरामा २० वर्षअघिदेखि नै आत्मनिर्भर भए पनि सरकारले अहिले आएर घोषणा गरेको छ । सरकारले दूधमा आत्मनिर्भर उन्मुख भएको घोषणा गरे पनि बाहिरबाट धूलो दूध आयात भइरहेको छ । यस्तै खसीबोकाको मासुमा मुलुक पूर्ण रूपमा आत्मनिर्भर नभएको व्यवसायीले बताएका छन् । सरकारले खसीबोकामा समेत मुलुक आत्मनिर्भर भएको घोषणा गरे पनि स्थानीय उत्पादनले ६० प्रतिशत माग धान्ने गरेको र ४० प्रतिशत खसीबोका छिमेकी मुलुक भारतबाट आयात हुने गरेको व्यवसायीको भनाइ छ । सरकारले घोषणा गरेअनुसार पन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएकै हो त भनी सरोकारवालासँग कारोबारले गरेको कुराकानीको सार :

पोल्ट्री क्षेत्रमा २० वर्षअघि नै आत्मनिर्भर भइसकेका हौं
डा. गुणचन्द्र विष्ट
अध्यक्ष
नेपाल पोल्ट्री महासंघ

पोल्ट्री व्यवसायमा २० वर्षपहिले नै आत्मनिर्भर भइसकेका छौं । सरकारले बल्ल थाहा पाएर होला, आत्मनिर्भर भयो भनेर हालै घोषणा गरेको छ । अन्डा, मासु, उत्पादन गर्नका लागि चाहिने दाना र त्यसलाई चाहिने चल्ला, त्यसमा पनि २० वर्षपहिले नै आत्मनिर्भर भइसकेका छौं । दानाका लागि चाहिने कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्छ । प्यारेन्ट्स विदेशबाट ल्याउनुपर्छ भनेर भनिरहेका छन् । यस हिसाबले भन्ने हो भने संसारमा कोही पनि आत्मनिर्भर छैन । कुनै न कुनै चिज बाहिरबाट ल्याउनुपर्छ । कुखुरालाई चाहिने दानाका लागि मकै बाहिरबाट ल्याउनुपर्छ । आन्तरिक उत्पादनले पुग्दैन । तर, नेपालको मकै पहिला बिक्री हुँदैनथ्यो । निर्यात गर्नुपर्ने थियो । अहिले स्वदेशी पोल्ट्री उद्योगले नै खरिद गर्छन् । पहिला चल्ला छिमेकी मुलुक भारतबाट ल्याउनुपथ्र्याे । अहिले आन्तरिक उत्पादनले माग पर्याप्त पूरा गरेको छ । बजारमा कुखुरा र अन्डाको माग बर्सेनि १५ देखि २० प्रतिशतका दरले बढिरहेको छ । उत्पादन बढाएर माग पूरा गरिरहेका छौं । सामान्य अवस्थामा लेयर्स चल्ला हप्ताको डेढ लाख, बोइलर चल्ला हप्ताको ५० लाख आवश्यक पर्छ । मासु उत्पादन दैनिक १० लाख र दिनमा ५० लाख गोटा अन्डा उत्पादन हुन्छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड¬¬–१९) को प्रभावले गर्दा खपत घटेकाले उत्पादन पनि कम भएको छ ।
पोल्ट्री क्षेत्रमा १ खर्ब ५० अर्बजति लगानी रहेको छ । यसमा प्रत्यक्ष रूपमा ७ लाख मानिसले रोजगारी पाएका छन् । कुुखराको मासु र अन्डा निर्यात गर्नेभन्दा पनि आयात प्रतिस्थापन गर्ने अवस्थामा रह्यो भने पनि धेरै नै राम्रो हुन्छ । मैले ह्याचरी व्यवसाय सुरु गर्दाखेरि ७५ प्रतिशत चल्ला विदेशबाट आयात हुन्थ्यो । आयात घटाउनका लागि हामीलाई १० वर्ष लाग्यो । पहिले खसीको मासुभन्दा कुखुराको मासु महँगो हुन्थ्यो । बजारमा खपत बढेसँगै उत्पादन पनि बढिरहेको छ । पहिला ५० लाख चल्ला आयात गर्नुपर्ने थियो । अहिले पूर्ण रूपमा आत्मनिर्भर भएकाले आयात गर्नुपर्ने अवस्था छैन । पहिलेदेखि नै पोल्ट्री क्षेत्र आत्मनिर्भर भएको भन्ने गर्थे, तर सरकारले भनेको थिएन । अहिले आएर आत्मनिर्भर भइयो भनेर घोषणा गरेको छ । सरकारले दूधमा पनि आत्मनिर्भर भएको भनेको छ, तर मलाई शंका छ आत्मनिर्भर कति छ भनेर । अहिले पाउडर दूध आयात भइरहेको छ । नेपालमा कानुन नै छैन । विदेशबाट ल्याएको जे पनि ठीक छ । त्यसलाई चेकजाँच हुँदैन । स्वदेशी उत्पादनको चेकचाँज हुन्छ । सरकारले अझै पनि पोल्ट्री क्षेत्रलाई त्यति महत्व दिएको छैन । यस क्षेत्रलाई औद्योगीकरण गर्ने, आधुनिकीकरण गर्ने हो भने लगानी ठूलो–ठूलो आवश्यक पर्छ । सुविधाजति साना उद्योगलाई दिने, ठूला उद्योगलाई सेवा–सुविधा नदिने, काम मात्र गर भनेर कसरी गर्न सकिन्छ । लागू गर्ने नीति र कुरा एउटै भयो भने मात्र काम गर्न सहज हुन्छ ।
अहिले स्थानीय उत्पादनले नपुगेपछि मकै ठूलो परिमाणमा बाहिरबाट आयात भइरहेको छ । स्वदेशमै यति ठूलो बजार रहेको छ । कृषि सुधार शुल्क उठाउने गर्छ, जुन रकम कहाँ गएर खर्च हुन्छ थाहा छैन । त्यो शुल्क व्यवसाय उत्थान गर्न खर्च गर्नुपर्छ । नेपालमा मकै तीन बाली हुन्छ । पहिले चार गुणाले चामल महँगो थियो । अब चामल र मकैको उस्तै–उस्तै मूल्य छ । कहिलेकाहीं मकै महँगो हुन्छ । मकै उत्पादन गर्न सकिन्छ । सरकारले गर्न सकेको छैन । सबैले सबै चिज लगाएर सम्भव पनि छैन ।

दुई वर्षभित्रमा सम्पूर्ण पशुजन्य उत्पादनमा आत्मनिर्भर हुन्छौं
डा श्रीराम घिमिरे
प्रवक्ता-सहसचिव
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

दूधमा आत्मनिर्भर उन्मुख भएका छौं । विश्व खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा हजार ७९ लिटर उपलब्ध रहेको छ । मापदण्डअनुसार अलिकति अपुग भएकाले हामीले दूधमा आत्मभिर्नर उन्मुख भनेका छौं । १४ केजी मासु, ४८ गोटा अन्डा आवश्यक पर्नेमा १८.१ केजी मासु र ६१ गोटा अन्डा उपलब्धता हासिल भएकाले पूर्ण रूपमा आत्मनिर्भर भएका छौं ।
प्रचलित बजार मूल्यका आधारमा करिब १ खर्ब २२ अर्ब दूधबाट, करिब २ खर्ब ७५ अर्ब मासुबाट, १७ अर्ब अन्डाबाट र ३७ अर्ब माछाबाट गरी कुल ४ खर्ब ५० अर्ब रुपैयाँबराबरको खाद्यवस्तुको उत्पादन भई आयात प्रतिस्थापन भएको हो । धूलो दूधमा पनि आत्मनिर्भर छौं । आयात प्रतिस्थापन भएको छ । बाहिरबाट आयात भएको छैन । हामीसँग धूलो दूध मौज्दात छ । बटरमा पनि आत्मनिर्भर भएका छौं । मासु, अन्डा, धूलो दूध र बटरमा हामी आत्मनिर्भर भएका छौं । राँगा र भैंसीको मासुको माग अलि बढी भएकाले त्यसमा आत्मनिर्भर बन्न सकेका छैनौं । समग्रमा सबै मासु हेर्दाखेरि हामी बचतमा छौं । हाम्रो उत्पादन र उपभोगको अवस्थालाई हेरेर तुलना गर्ने हो । कुनै व्यापारीले उत्पादनस्थलमा हेर्ने हो भने सुजल डेरीसँग करोडौं रुपैयाँबराबरको धूलो दूध स्कटमा छ । तर कुनै व्यापारी नाफा कमाउन सकिन्छ भनेर बाहिरबाट आयात ग-यो भने त्यसलाई प्रतिबन्ध लगाउन सकिँदैन । आयात भएको दूधले केही असर पर्दैन, उपभोक्ताले छनोट गर्न पाउँछन् । आयात गर्दाखेरि सरकारलाई राजस्व संकलन पनि हुन्छ, तर उपभोक्तालाई छनोट गर्न पनि हुन्छ । तर, स्वदेशी उत्पादन र माग हेर्ने हो भने हामी आत्मनिर्भर बनेका छौं । आन्तरिक माग पूर्ति गर्ने प्रशस्त उत्पादन हुँदाहुँदै पनि बाहिरबाट प्रतिस्पर्धी रूपमा कसैले त्यो सामान ल्याउँछ भने त्यसले घाटा गर्दैन । गुणस्तर र मूल्यमा उपभोक्ताले छनोट गर्न पाउने हुँदा झनै सहज हुन्छ । यसले स्वदेशी उद्योगीलाई पनि प्रतिस्पर्धी बन्न बाध्य बनाउँछ । तर, भर्खर सुरु गरेका उद्योगलाई संरक्षण गर्नुपर्छ । बाहिरबाट उत्पादन आउने हो भने भर्खर व्यवसाय सुरु गरेका उद्योगहरू त डुब्छन् । यस्ता उद्योगलाई राज्यले संरक्षण गर्छ । उपभोक्ताको हित हेर्ने हो भने बाहिरबाट आयात भएको अन्डालाई पूरै प्रतिबन्ध लगाउनुपर्छ भन्ने कुरा पनि त्यति राम्रो होइन । अहिले पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका छौं । अबको दुई वर्षभित्रमा सम्पूर्ण पशुजन्य उत्पादनमा आत्मनिर्भर हुने भनेर रणनीति तयार गरेका छौं । रणनीतिअनुसारका कार्यक्रम पनि तयार गरेका छौं । पाँच वर्षभित्रमा कृषि र पशुपन्छीजन्य उपजहरू निर्यात गर्ने भनेर रणनीतिमा रहेको छ । सोहीअनुसार कार्यक्रम अगाडि बढाएका छौं ।

दूधमा मुलुक पूर्ण रूपमा आत्मनिर्भर भइसकेको छैन
डा. इश्वरीप्रसाद अधिकारी
पूर्वमहाप्रबन्धक
दुग्ध विकास संस्थान (डीडीसी)

खुला सिमाना भएकाले छिमेकी मुलुक भारतबाट दुग्धजन्य पदार्थ आयात भइरहेको छ । अधिकांश सुपर मार्केटमा विदेशी डेरी प्रोडक्टहरू पाइन्छ । विदेशबाट सामान आयात भइरहेको छ । बजारमा जति पनि आयातित सामान पाइन्छ । सरकारले दुग्धजन्य पदार्थमा आन्मनिर्भर उन्मुख भनेको छ, तर मलाई चित्त बुझेको छैन । पाँच वर्षअघि नै पशु सेवा विभागको तथ्यांकअनुसार दूध, अन्डा र मासुमा तीन वर्षभित्र आत्मनिर्भर बन्ने घोषणा गरेको थियो । विभागले हरेक वर्ष उत्पादन बढेको बढ्यै छ भनेर तथ्यांकमा देखाइरहेको छ । मुलुकको जनसंख्या पनि बढेको छ । कृषिमा काम गर्ने संख्या घट्दो क्रममा रहेको छ । सरकारले कसरी दूध उत्पादन बढेर आत्मनिर्भर भएको भनेर घोषणा गरेको छ । विदेशबाट धूलो दूध आइरहेको छ । सरकारले तथ्यांक लिने भनेको भन्सार कार्यालयहरूबाट हो । भन्सार कार्यालयको आँकडालाई लिएर आयात घटेको छ भनेर सरकारले उत्पादनमा आत्मनिर्भर भयौं भनेर भन्ने हो । यो केवल देखाउने कुरा हो । भन्सारबाट कसरी सामान भित्रिन्छ भन्ने सबैलाई जानकारी नै छ । लुकीछिपी तरिकाले पनि सामान आयात हुने गर्छ । नेपालमा भन्दा भारतमा सामानको उत्पादन लागत धेरै नै कम छ । सरकारले भारतमा कृषि उत्पादनमा धेरै नै अनुदान दिएको छ । भारतमा उच्च प्रविधिको प्रयोग छ, अनुदान दिएकाले उत्पादन लागत पनि सस्तो छ । यसले गर्दा भारतबाट सहजै ढंगबाट नेपालमा दुग्धजन्य पर्दा आयात भइरहेको छ । काठमाडांैका उच्च घरानियाँ व्यक्तिले स्वदेशीभन्दा पनि विदेशमा बनेका डेरी उत्पादनहरू, चिज, बटर आइसक्रम खाने गर्छ । त्यो तह, वर्गलाई हुने गरी नेपालका डेरीहरूले त्यही गुणस्तरको उत्पादन गर्न सकेका छैनन् । भाटभटेनी सुपरमार्केटमा विदेशमा बनेका डेरी उत्पादनहरू पाइन्छ । बिक्री भएर मुनाफा भएर नै व्यवसायीहरूले ती सामान विदेशबाट आयात गरिरहेका हुन्छन् । ती सामानहरू पनि आयात भइरहेको छ । नेपालमा पनि दूधको उत्पादन बढिरहेको भए दुग्ध विकास संस्थानको अवस्था खस्रिएर जाने थिएन होला । दूधको कारोबारको कुरा गर्ने हो भने आजभन्दा पाँच वर्षअगाडि दुग्ध विकास संस्थानले उपत्यकामा दैनिक १ लाख ३५ हजार लिटर दूध बिक्री गथ्र्यो भने अहिले ७० हजार लिटरभन्दा बढी बिक्री गर्न सकिरहेको छैन । त्यसलाई आत्मनिर्भर भएको भन्ने कि के भन्ने । स्वदेशी उद्योगको उत्पादन बिक्री भयो भन्दैमा जनतालाई पुगेको भन्न मिल्दैन । दूधको उपभोग त दिनप्रतिदिन बढ्दै गएको छ । तथ्यांकअनुसार दूधको उत्पादन पनि बढेको छैन । उत्पादन बढ्नका लागि पशुपालन बढाउनुपर्छ । दूधको उत्पादन कागजमा तथ्याङ्कमा बढेको देखिए पनि वास्तविक रूपमा उत्पादन बढ्न सकेको छैन । केही मात्रामा उत्पादन बढे पनि सोअनुसार बजारमा खपत पनि बढ्दै गएको छ । नेपालीहरूले पहिलेभन्दा अहिले दुग्धजन्य वस्तुको उपभोग बढी गर्ने गरेका छन् । केही परिमाणमा दूधको उत्पादन बढे पनि पूर्ण रूपमा आत्मनिर्भर नै बन्न सकेको छैन । सरकारले पपुलारिटीका लागि उत्पादन बढेको देखाएको छ । अन्डा र कुखुरामा मुलुक आत्मनिर्भर पहिले नै भइसके छ, तर दूधमा आत्मनिर्भर बन्न सकेको छैन । केही मात्रामा मुलुकमा उत्पादन बढेको भए तापनि आयात नै प्रतिस्थापन गर्ने गरी उत्पादन बढेको छैन । वार्षिक २३ लाख मेट्रिक टन दूध उत्पादन हुने सरकारी तथ्यांक छ । यो तथ्यांक नै हावादारी किसिमको छ । सरकारी तथ्यांकअनुसार पनि नेपाललाई आवश्यकताअनुसार दूधको उत्पादन छैन । एफएओको मापदण्डअनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध आवश्यक पर्नेमा हाल ७९ लिटर मात्र उपलब्धता छ । नेपालमा हरेक वर्ष उत्पादन वृृद्धि भएको तथ्यांक देखाइन्छ । पशु सेवा विभागले प्रत्येक वर्ष उत्पादन बढेको देखाएको छ, तर के आधारमा बढेको भन्ने छैन ।

४० प्रतिशत खसीबोका भारतबाट आयात भइरहेका छन्
दीपक थापा
अध्यक्ष
चौपाया खरिद–बिक्री सेवा संघ

सरकारले खसीबोकामा आत्मनिर्भर भएको घोषणा गरे पनि अझै पनि पूर्ण रूपमा आत्मनिर्भर हुन सकेका छैनौं । पहिलाको तुलनामा मुलुकमा उत्पादन बढ्दै गए पनि पूर्ण रूपमा आत्मनिर्भर भइसकेका छैनौं । छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा खसीबोका भित्रिरहेका छन् । लुकीछिपी भारतबाट ल्याउन दिने, भन्सारपास गर्न नदिने, चोरेर प्रतिगोटाको ४५ सयदेखि ५ हजार दाममा प्रशासन मिलेर खसीबोका ल्याइरहेका छन् । लुकीछिपी आयात नरोक्ने अनि आत्मनिर्भर भयौं भनेर घोषणा गरेर मात्र हुँदैन । स्वदेशी उत्पादनले बजार माग धान्न सकेको छैन । बजार मागअनुसार नेपालको उत्पादन मात्र छैन, जसका कारणले गर्दा पनि भारतबाट पनि खसीबोका आयात भइरहेको छ । अहिले बढी मात्रा बिचौलिया धेरै छ । उत्पादन गर्ने कृषकले अझै पनि उत्पादनको मूल्य पाउन सकिरहेका छैनन् । स्वदेशी उत्पादन बजारसम्म ल्याउनका लागि धेरै झन्झटिलो छ, तर भारतबाट खुलेआम आयात भइरहेको छ । सरकारले खसीबोकामा आत्नर्भिर भयौं भनेर झूटको खेती गर्दैछ । भारतीय खसीबोका खुलेआम आइरहेका छन् । स्वदेशी उत्पादनले त्यसलाई आयात रोक्नुपर्छ । अहिले ट्रकका ट्रक खसीबोका आयात भइरहेका छन् । स्वदेशी उत्पादनले आत्मनिर्भर छ भनेर आयातलाई रोक लगाउनुपर्छ । स्वदेशी उत्पादन बजारमा आउन प्रशासनले भेटेनरी चेकजाँच भएन भनेर सजिलै आउन दिँदैन । कुखरा, अन्डा र माछामा आत्मनिर्भर भए पनि खसीबोकामा आत्मनिर्भर छैन । अहिले ६० प्रतिशत नेपालको उत्पादन र ४० प्रतिशत खसीबोका अझै पनि भारतबाट आयात गर्नुपरेको छ । खसीबोका आत्मनिर्भर भइयो भनेर घोषणा गर्नुभन्दा पनि उत्पादन बढाउनेतर्फ लाग्नुपर्छ । स्थानीय उत्पादनले बजार माग धान्न नसकेकाले दसैंतिहारमा भारतबाट खसीबोका नआउने हो भने जिउँदो खसीबोका प्रतिकेजी ८ सय रुपैयाँसम्म पुग्छ । भारतबाट आयात भएकाले बजारमा मूल्य अलि घटेको छ, तर स्वदेशी उत्पादनले पूर्ण रूपमा आत्मनिर्भर भइसकेका छैनौं । दसैंका लागि उपत्यकामा ६० देखि ७० हजार खसीबोका खपत हुन्छ । हाम्रो उत्पादनले नपुग्ने भएकाले भारतबाटै ठूलो संख्यामा खसीबोका आयात हुने गरेको छ । अहिले उपत्यकाका बजारमा भारतीय र नेपाली गरेर दैनिक २५ सयदेखि ३ हजार खसीबोका आयात भइरहेका छन् । अहिले पनि आधा नेपाली र आधा भारतीय खसीबोका आयात भइरहेको छ । मुलुकभर अहिले दैनिक ५ देखि ६ हजार गोटा खसीबोका खपत भइरहेको छ । अहिले भन्सार पास गराएर र अरू नक्कली कागजी रूपमा देखाएर भारतबाट खसीबोका आयात भइरहेका छन् । इन्डियन ट्रक, रात्रि बस, बलेरो गाडीमा अहिले भारतबाट दैनिक रूपमा खसीबोका आयात भइरहेका छन् । बाहिर जिल्लामा सरकारी परियोजनाबाट उत्पादन गरिएका खसीबोका होलान् । तर पोखरा, उपत्यकामा भारतीय खसीबोका नै आइरहेका छन् । तीन महिनाअगाडि जनकपुरबाट पनि खसीबोका आयात भइरहेका थिए । हामीले पनि पशु क्वारेन्टनाइन, प्रधानमन्त्री कार्यालयमा जानकारी गराएका छौं । सरकारले खसीबोकामा आत्मनिर्भर भएको घोषणा गरे पनि यो केवल कागजी रूपमा हो । आत्मनिर्भर भएको हो भने लुकीछिपी आउने भारतीय खसीबोकाको आयात बन्द गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्