Logo

जुम्लामा ८२ करोड लगानीमा ८ सय उद्योग दर्ता

जुम्ला-कोभिडपछि जुम्लामा उत्पादन मुलक उद्योगमा लगानी बढ्दै गएको छ । कोभिडपछि स्वदेशमै आयआर्जनका क्षेत्रमा युवा जनशक्ति आकर्षित भएपछि उत्पादनमूलक उद्योगमा लगानी बढ्दै गएको हो । कोभिडका कारण भारत तथा तेस्रो मुलुकबाट घर फर्किएका जुम्लामा अधिकांश युवा कृषि व्यवसाय, पशुपंक्षी पालनमा जुटेका छन् । जसका कारण उत्पादनमूलक उद्योगमा लगानी बढेको छ ।
सरकारी तथ्यांकअनुसार जुम्लामा चालु आर्थिक वर्षको आठ महिनामा करिब ८२ करोड ८० लाखको लगानीमा ८ सय २८ वटा वाणिज्य तथा उत्पादनमूलक उद्योग दर्ता भएका छन् । जसमा २ सय २३ वटा वाणिज्यतर्फ उद्योग छन् । यस्तै ६ सय ५ वटा उत्पादनमूलक तर्फका उद्योग दर्ता भएको उद्योग तथा उपभोक्ता संरक्षण कार्यालय जुम्लाका सूचना अधिकारी भगवती श्रेष्ठले बताइन् ।
खरिद बिक्रीसँग सम्बन्धीत वाणिज्यतर्फ २ सय २३ उद्योग दर्ता भएका छन् । उत्पदानमूलक उद्योगतर्फ कृषि तथा वनजन्य आधारित ५ सय ४३, निर्माण सेवामा २, पर्यटनतर्फ २७ र सेवामूलक तर्फ ३१ वटा गरी ८ सय २८ वटा उद्योग दर्ता भएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।
“कोभिडपछि उत्पादनमूलक उद्योगमा लगानी उल्लेखीय रुपमा वृद्धि भएको छ । युवा, महिलाहरु उद्यमशीलतामा जुटेका छन्” उनले भनिन्, “विगतको तुलनामा दोब्बरले बढेर आठ महिनामै ८ सय २३ वटा उद्योग दर्ता भएका हुन् ।” उद्योग दर्ता गर्दा अधिकांश उद्यमीले १० लाख भन्दा माथिको पुँजी लगानी गरेको देखाएका छन् । सूचना अधिकारी श्रेष्ठले भनिन,“प्रतिउद्योगमा १० लाख लगानीको हिसाबले चालु आर्थिक वर्षको ८ महिनामै करिब ८२ करोड ८० लाख बराबरका उद्योग सञ्चालनमा आएका छन् ।”
जसमध्य खरिद बिक्रीमा आधारित वाणिज्यतर्फका उद्योगमा २२ करोड ३० लाख र उत्पादनमूलक उद्योगमा ६० करोड ५० लाख बजेट लगानी भएको छ । सरदर प्रति उद्योगमा कम्तीमा २ जनालाई मात्र रोजगारीको दिँदा १ हजार ६ सय ६५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । हालसम्म ८ सय २८ जना नयाँ उद्यमी वृद्धि भएको उद्योग तथा उपभोक्ता संरक्षण कार्यालय जुम्लाका प्रमुख पदम उपाध्यायले बताए ।
उनले भने, “कोभिडपछि स्थानीय सरकारले उद्यमशीलताका नीति तथा कार्यक्रम ल्याएपछि उद्योग दर्ता बढेका छन् । सरकारी अनुदान लिन तथा आर्यआर्जन वृद्धिमा ग्रामीण महिला र युवा अग्रसर भएका छन् ।”
यता उद्योगी व्यवसायी रामकृष्ण चौलागाईले जुम्लामा उद्योगभन्दा बढ्दै गएको अवस्थामा बिजुली नियमित नभएकोले उद्योग सञ्चालनमा समस्या भएको बताए । बिजुली नभएकै कारण सञ्चालित उद्योगपनि बन्द हुने अवस्थामा पुगेका छन् । नयाँ उद्योगको दिगो व्यवस्थापनका लागि सरकारी लगानी बढाउनुपर्नेमा उनको जोड छ । उद्योगमा लगानी बढेपनि निरन्तरतामा धेरै समस्या रहेकोले स्थानीय सरकारले उद्यमीका समस्या समधान ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्