विकासविरोधी राजनीतिले थलिएको मुलुक «

विकासविरोधी राजनीतिले थलिएको मुलुक

एउटा आयोजना सम्पन्न गर्न करिब एक पुस्ता लगाउने मुलुकमा आयोजनाको चर्चा नै राजनीतिक कोणबाट हुनु दुर्भाग्य हो ।

नेपालमा कुनै पनि ठूला आयोजनाको चर्चा चल्न सुरु हुनेबित्तिकै राजनीति सुरु हुन्छ । समाज यसरी विभाजन हुन्छ मानौं आयोजना बन्दा मुलुक सकिन्छ वा आयोजना बन्नेबित्तिकै मुलुक स्वर्ग भइहाल्छ । एउटा आयोजना सम्पन्न गर्न करिब एक पुस्ता लगाउने मुलुकमा आयोजनाको चर्चा नै राजनीतिक कोणबाट हुनु दुर्भाग्य हो । हरेक आयोजनालाई सम्भाव्यता, आर्थिक तथा सामाजिक प्रतिफल एवं व्यावसायिक दृष्टिकोणबाट नहेरी मूल्यांकन नगरी कि त राष्ट्रघात हुन्छ कि त राष्ट्र स्वर्ग भइहाल्छ भन्ने भाष्य निर्माणमा राजनीतिक दलको सहभागितामा चर्चा–परिचर्चा सुरु हुन्छ ।
यसको अर्थ नेपालमा आयोजना भनेको राजनीतिक औजार भएको छ । मुलुक विकासको आधार हुनुपर्ने आयोजनाहरू कुनै एक अमुक राजनीतिक दलको राजनीतिको आधार बन्न थालेपछि मुलुक अविकसित नै रहनु अनौठो होइन, रहेन । मुलुकमा प्राकृति सम्पदा छन्, खोलानाला छन् र मुलुकमा बिजुलीको पनि आवश्यकता छ । बिनाबिजुली औद्योगीकरण सम्भव छैन, अनि बिजुलीको चर्चा सुरु हुनासाथ राष्ट्रघात भइहाल्छ । जसको फलस्वरूप मुलुक अझै अन्धकारमा नै छ । यस्तै, नेपालको कुल ८३ हजार मेगावाट जलविद्युत् उत्पादन क्षमतामध्ये करिब १८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता भएको कर्णालीमा हालसम्म मुस्किलले ५ मेगावाट मात्रै विद्युत् उत्पादन हुनु निकै दुःखद होइन, दरिद्रतम पक्ष हो ।
जलविद्युत् उत्पादन क्षमताका हिसाबले प्रदेश–१ पछि देशकै दोस्रो स्थानमा रहेको कर्णालीमा करिब १८ हजार (१७ हजार ७ सय ९९) मेगावाटभन्दा बढी विद्युत् उत्पादनकोे क्षमता रहेको ऊर्जा मन्त्रालय र विद्युत् विकास विभागको विभिन्न तथ्यांकले देखाउँछ । तर स्रोत अथाह भएको, आन्तरिक लगानीले सम्भव नरहेको र बाह्य लगानी जुट्न नसक्दा कर्णालीका उत्पादनको सम्भावना अवसरमा रूपान्तरण हुन सकेको छैन । विद्युत् विभागका अनुसार, २०७६ सालमा डोल्टी पावर कम्पनीले निर्माण गरेको ४.८ मेगावाटको दैलेखको पदमखोला जलविद्युत् आयोजना कर्णालीको पहिलो र एकमात्र आयोजना हो, जसका कारण अझै कर्णालीका करिब १२ लाख नागरिकले अन्धकारमा बस्नुपरेको छ । समग्र मुलुककै हालत पनि योभन्दा फरक छैन । किनकि जसरी १८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता भएको कर्णालीमा मुस्किलले ५ मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ । त्यस्तै, कुल ८३ हजार मेगावाट जलविद्युत् उत्पादन क्षमतामध्ये ११ सय मेगावाट हाराहारीमात्र उत्पादन छ ।
विद्युत् उत्पादन क्षमतामा पहिलो नम्बरमा रहेको प्रदेश–१ मा २२ हजार ८ सय २० मेगावाट विद्युत् उत्पादन हुने अनुमान छ । दोस्रो स्थानमा रहेको कर्णालीमा (१७ हजार ७ सय ९९) मेगावाट जलविद्युत् उत्पादनको क्षमता छ । बागमती प्रदेशमा १२ हजार १ सय २६ मेगावाट, गण्डकी प्रदेशमा १६ हजार ५ सय ७८ मेगावाट, लुम्बिनी प्रदेशमा ३ हजार ६ सय ३८ मेगावाट र सुदूरपश्चिम प्रदेशमा ९ हजार ६ सय ८५ मेगावाट जलविद्युत् उत्पादन क्षमता रहेको तथ्यांकमा उल्लेख छ । तर, मुलुकमा प्रशस्त सम्भावना भएको तथा मुलुक कायापलट गर्न सक्ने क्षेत्र भनेर दशकौंदेखि पहिचान गरिएको क्षेत्रको त यस्तो हालत छ भने अन्य क्षेत्रको विकास कसरी हुन्छ । जलविद्युत्मा लगानी गर्न र उत्पादन बढाउन नसक्दा कर्णाली प्रदेशमात्र नमएर समग्र मुलुक नै अँध्यारोमा बस्नुपरिरहेको छ ।
पर्याप्त विद्युत् उत्पादनको क्षमता भएर पनि आवश्यक मात्रामा बिजुली नपाउँदा एकातिर उद्योग–व्यवसायको लागत बढ्दो छ भने अर्कातिर बिजुली आयत गरेर धान्नुपरेको छ । जुन वस्तु नेपालको प्रतिस्पर्धी क्षमता भएको ब्यापार घाटा पनि घटाउन सक्ने मानिएको छ, त्यही नै आयात गर्नुपरेपछि मुलुकको अर्थव्यवस्था कसिरी सुुध्रन्छ, योजानविद् तथा राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्म यसको उत्तर छैन । किनकि राजनीतिक दल तथा तिनका कार्यकर्ता प्रतिक्रियावादी मात्र भए, अलि–अलि बुझेका वर्गको आफ्नै गोरखधन्दा छ । बिजुलीकै अभावले मुलुकका उत्पादन महँगो पर्न गएका छन्, बजारमा प्रतिस्पर्धा गर्न असक्षम छन् ।

प्रतिक्रिया दिनुहोस्