Logo

कफाला प्रणालीमा सुधारले नेपाली लाभान्वित हुने

Foreign workers wearing protective face masks and gloves work at a construction site, following the outbreak of the coronavirus disease (COVID-19), in Riyadh, Saudi Arabia, May 7, 2020. REUTERS/Ahmed Yosri

साउदी अरबले गत साताबाट लागू हुने गरी नेपाललगायत विदेशी श्रमिकका लागि श्रम कानुनलाई लचिलो बनाएको छ । नेपालको प्रमुख श्रम गन्तव्य साउदी अरबले विदेशी श्रमिकका लागि सहज रुपमा रोजगारदाता परिवर्तन गर्ने र स्वदेश फर्किन रोजगारदाताको अनुमति आवश्यक नपर्ने गरी कानुन परिमार्जन गरेको हो ।
विदेशी श्रमिकलाई कडा श्रम कानुन बनाएर अलोचित बनेको साउदी अरबले श्रम कानुनमा गरेकोे परिमार्जनबाट त्यहाँ कार्यरत लाखौं नेपाली लाभान्वित भएका छन् । साउदी सरकारले आइतबारदेखि लागू हुने गरी कफाला (स्पोन्सर) प्रणालीमा सुधार गरेको जनाएको छ । साउदी अरेबियाले लामो समयको आवश्वासनपछि आइतबारदेखि विदेशी श्रमिकका लागि श्रम कानुन उल्लेख गरेको कफाला प्रणालीमा सुधारसहित कार्यान्वयन सुरु भएको जनाएको छ ।
साउदी अरबमा वार्षिक औसत १ लाख २० हजारभन्दा बढी नेपाली रोजगारीका जाने गरेका छन् । हालसम्म साउदी अरबमा रोजगारी गर्ने नेपालीको संख्या १० लाखको हाराहारीमा रहेको छ । नेपालबाट रोजगारीका लागि प्रमुख श्रम गन्तव्यमध्ये साउदी अरब तेस्रो स्थानमा छ ।
अलअरेविया न्यूजका अनुसार रोजगार करार सकिएका श्रमिकले कार्यरत रोजगारदाताको अनुमति विना नै नयाँ रोजगारदाताका लागि आवेदन दिन सक्नेछन् । साउदी अरेबियाको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले ५ महिना अघिदेखि नै कफाला प्रणालीमा सुधार गरिने जानकारी गराउँदै आएको थियो । यसैगरी साउदी अरेबिया भन्दा बाहिर जानका लागि पनि विदेशी श्रमिकले अनलाइन प्रणालीमार्फत रोजगारदातालाई सूचना दिन सक्नगरी कानुन संशोधन गरेको छ । यसअघि साउदी अरेबिया भन्दा बाहिर जानका लागि रोजगारदाताको पूर्व स्वीकृति अनिवार्य गरिएको थियो । यसैगरी आफ्नो रोजगार करार सकिएपछि श्रमिकले सो मुलुक छोडेर बाहिरिनका लागि रोजगारदाताको कुनै स्वीकृति आवश्यक पर्नेछैन ।
लामो समयको दबाबपछि साउदी सरकारले विदेशी श्रमिकका लागि बनाइएका श्रम कानुनमा आंशिक सुधार गरेपछि आप्रवासी श्रमिकको विषयमा काम गर्दै आएको अधिकारमुखी संस्था इक्वीडेम फाउण्डेसनले साउदी अरेबियाले गरेको श्रम क्षेत्र सुधारले आप्रवासी श्रमिकको अधिकार रक्षा पर्याप्त रुपमा गर्न नसक्ने धारणा सार्वजनिक गरेको छ । श्रम आप्रवासन विज्ञ तथा एक्वीडेम रिसर्च नेपालका कार्यकारी निर्देशक रामेश्वर नेपालले विश्वमै धेरै विदेशी श्रमिकलाई रोजगारी दिने तेश्रो ठूलो रोजगार गन्तव्य साउदी अरबले आइतबारदेखि लागू गरेको श्रम क्षेत्र सुधारले अपेक्षित नतिजा नआएको जनाए ।
साउदी अरबले विदेशी श्रमिकको अधिकारका कानुनमा केही सहज गरे पनि विदेशी श्रमिकमाथि हुने भेदभाव रोक्न, कानुन कार्यान्वयन र श्रमिकलाई युनियन खोल्ने अधिकार भने अझै दिइएको छैन । साउदी अरेबियाको श्रम क्षेत्रको ८० प्रतिशत ओगट्ने विदेशी श्रमिकको अधिकार रक्षाका विषयमा नयाँ सुधारले पर्याप्त सम्बोधन गर्न नसकेको इक्वीडेमले जनाएको छ । तर यो परिमार्जन गरिएको कानुनले शोषणमा रहेका ४० लाख घरेलु श्रमिकलाई भने नसमेट्ने निर्देशक नेपालले बताए ।
साउदी अरेबियाका सञ्चार माध्यमहरुका अनुसार साउदीमा श्रम कानुनमा गरिएको संशोधन पश्चात अबदेखि विदेशी श्रमिकले सहज रुपमा रोजगारदाता फेर्न सक्ने र स्वदेश फर्किन रोजगारदाताको अनुमति आवश्यक पर्ने छैन । स्थानीय सञ्चार माध्यमहरुले यसलाई साउदी अरेबियामा ‘नयाँ युग सुरू भएको’ तथा ‘ऐतिहासिक घटना’ भनेर उल्लेख गरेका छन् । तर आप्रवासी श्रमिकमाथि चर्को विभेद गर्ने गरेको साउदी अरेबियाले सुरू गरेको नयाँ कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा आउनेमा अझै पनि आशंका गरिएको अधिकारकर्मीले जनाएका छन् ।
नयाँ कानुन अनुसार साउदी अरेबियाको रोजगारदाताको सट्टा अब सरकारी निकायमा पनि विदेशी श्रमिकले सिधै आवेदन दिन सक्नेछन् । नयाँ सुधारले झण्डै एक करोड विदेशी श्रमिक लाभान्वित हुने जनाइएको छ । यसले प्रतिस्पर्धी तथा न्यायोचित कार्य वातावरण बनाउने अपेक्षा गरिएको समाचारमा जनाइएको छ । तर, साउदी अरेबिया प्रवेश तथा छोड्न हरेक विदेशी श्रमिकले मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयको अनुमति लिनुपर्ने, एक वर्ष पूरा भएपछि वा रोजागार सम्झौताको अवधि सकिएपछि मात्र श्रमिकले रोजगारदाता परिवर्तनका लागि आवेदन दिन सक्ने व्यवस्थाले श्रमिकलाई बन्देज कायमै राखेको भन्दै अधिकारकर्मी संस्थाहरुले भने यसको विरोध गरेका छन् ।
नयाँ कानुनअनुसार श्रमिकको रोजगार गर्ने अधिकारलाई कुनै एक रोजगारदातामा मात्र सीमित गर्ने कुरालाई प्रतिबन्ध मानेको छैन । यसले आफ्नो रोजगारदातासँग मात्र आवद्ध हुनुपर्ने कफालाको मुख्य अंशलाई प्रतिस्थापन गरिएको मानिएको छ । यो व्यवस्थाले रोजगारदाता परिवर्तन गर्न तथा साउदी अरेबिया छोडेर स्वदेश फर्किन विदेशी श्रमिकलाई सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्