अमेरिकाबाट कीर्तिमानी रकम पठाउदै मेक्सिकन «

अमेरिकाबाट कीर्तिमानी रकम पठाउदै मेक्सिकन

गत वर्ष मेक्सिकोका नागरिकले कीर्तिमानी परिमाणमा विदेशबाट रकम पठाएका छन् । यसको ठूलो हिस्सा अमेरिकाबाट भएको छ ।
विशेष गरी मेक्सिकन मुद्रा पेसो कमजोर भएकाले यो अवस्थालाई बढाएको छ । अमेरिकी राष्ट्रपतिले नगदको प्रवाहमा कर लगाउने चेतावनी दिएका छन् ।
मेक्सिकोका नागरिकले २०१७ को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा २६.१ अर्ब डलर अमेरिकाबाट मेक्सिको पठाएको मेक्सिकोको केन्द्रीय बैंकले जनाएको छ । यो २०१६ को समान अवधिको २४.१ अर्बको तुलनामा बढी हो ।
मेक्सिकोको विदेशी आम्दानीको प्रमुख स्रोतका रूपमा रेमिट्यान्स रह“दै आएको छ । यसले तेलको निर्यात आम्दानीलाई पनि पछाडि पारेको छ । जनवरीदेखि अक्टोबरसम्मको अवधिमा मेक्सिकोले तेलको निर्यातबाट कुल १८.५ अर्ब डलर आम्दानी गरेको मेक्सिकोको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । मेक्सिकोको आम्दानीमा म्यानुफ्याक्चरिङ निर्यात सबैभन्दा ठूलो स्रोतका रूपमा रहँदै आएको छ ।
यो प्रवृत्तिको प्रमुख कारण पेसो रहँदै आएको छ । यो २०१७ को जनवरीमा इतिहासकै सर्वाधिक न्यून बिन्दुमा पुगेको अवस्थाबाट थोरै मात्र माथि छ । हाल १ अमेरिकी डलर बराबर १९.५० पेसो छ ।
ट्रम्पले २०१६ को निर्वाचनमा विजय हासिल गरेपछि पेसो ओरालो लागेको हो । ट्रम्पले नाफ्टा सम्झौतालाई खारेज गर्न सक्ने आकलनका बीच पेसो ओरालो लागेको हो ।
ट्रम्पले आफ्नो प्रस्तावित सीमा पर्खाल निर्माणका लागि कोष उठाउन मेक्सिकोका नागरिकले पठाउने रेमिट्यान्समा कर लगाउने चेतावनी दिँदै आएका छन् । कुनै पनि प्रतिबन्ध लाग्नुपूर्व आफ्नो मुलुकमा पैसा पठाउन ट्रम्पको चेतावनीले काम गरेको बताइएको छ ।
सेप्टेम्बरमा आएको विनाशकारी भूकम्पका कारण आफ्ना नजिकका मानिसलाई घर बनाउनका लागि पनि अमेरिकामा भएका मेक्सिकनले आफ्नो मुलुकमा पैसा पठाउन थालेका छन् ।
अक्टोबरमा मेक्सिकोमा २.६ अर्ब डलरको रेमिट्यान्स भित्रिएको थियो । यो गत वर्षको कुनै पनि महिनाको तुलनामा बढी भएको मेक्सिकोको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्