वैदेशिक व्यापारको महत्व र प्रभाव «

वैदेशिक व्यापारको महत्व र प्रभाव

विश्वको कुल निर्यातमा नेपालको अंश ज्यादै न्यून भई करिब शून्यबराबर छ भने आयातको अंश विश्वको कुल आयातको ०.०६ प्रतिशत रहेको देखिन्छ ।

वैदेशिक व्यापार भनेको कुनै दुई वा दुईभन्दा बढी राष्ट्रहरूका बीच हुने आर्थिक सम्बन्ध वा व्यापार हो । अन्तर्राष्ट्रिय अर्थशास्त्रको अध्ययन एवं व्यवहारको क्षेत्र वस्तु, सेवा, उपहार, पुँजी र बहुमूल्य धातुहरूको त्यो व्यापार हो, जसमा ती वस्तुहरूको स्वामित्व दुई देशका बासिन्दाहरूको बीच परिवर्तित हुन्छ । विश्वमा जति विकास भइरहेको छ, अन्तर्राष्ट्रिय व्यापारको महत्व पनि त्यति नै बढिरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक कारोबार गर्न पनि नयाँ किसिमका समस्याहरू आइराखेका छन् ।
यी समस्याहरूको उचित समाधानका लागि अन्तर्राष्ट्रिय व्यापारको वैज्ञानिक अध्ययन आवश्यक छ । त्यसका लागि अन्तर्राष्ट्रिय व्यापारको एउटा पृथक् सिद्धान्तको रूपमा अध्ययन गर्नु जरुरी हुन्छ । परम्परा, वास्तविक विश्वमा अन्तर्राष्ट्रिय आर्थिक प्रश्नहरूबाट उत्पन्न महत्वपूर्ण एवं अनिवार्य समस्याहरू तथा यसको अध्ययनबाट सम्पूर्ण अर्थशास्त्रको बढी राम्रो ज्ञान प्राप्त हुनुका कारणले अन्तर्राष्ट्रिय व्यापारको पृथक् अध्ययन हुन्छ । नेपालको आर्थिक विकासमा कृषि, उद्योग, यातायात आदिको जुन महत्व छ त्यही नै महत्व वैदेशिक व्यापारको छ । वैदेशिक व्यापारले वस्तुहरूको उत्पादनमा वृद्धि गर्छ, उपभोक्ताहरूले सरल मूल्यमा वस्तु प्राप्त गर्छन् । नेपालजस्तो अविकसित मुलुकमा विदेश व्यपारको अत्यन्त ठूलो महत्व छ । किनभने अनेक वस्तुको उत्पादन यहाँ हुन सकेको छैन । विकासका लागि आवश्यक पुँजीगत सामानहरू पनि विदेश व्यापारबाट नै प्राप्त गरिन्छ । वैदेशिक व्यापारको विकासबाट जनताको जीवनस्तरमा वृद्धि गरी सुधारात्मक कदम चाल्न सकिन्छ ।
वैदेशिक व्यापारको विकासबाट वस्तुहरूको वढीभन्दा बढी उत्पादन भई बचत उत्पादनमा सहायक हुन्छ । वैदेशिक व्यापारबाट आफ्नो राष्ट्रलाई चाहिनेभन्दा बढी भएको वस्तु अन्य विदेशी मुलुकमा बिक्री गर्न सक्ने भएकाले ठूलो स्तरमा बढी उत्पादन कम लागतमा गरी अरू लाभ प्राप्त हुन आउँछ । अन्तर्राष्ट्रिय सहयोग बढाउनका लागि पनि विदेशी व्यापार गर्नु अत्यावश्यक छ । नेपालले धेरै देशहरूसँग विदेश व्यापारका लागि सन्धि गरेको छ र अरू नयाँ देशहरूमा बजार पत्ता लगाइँदै छ । विदेशी लगानी प्रोत्साहित गरिँदै छ । यी सब कुराले अन्तर्राष्ट्रिय सहयोगमा वृद्धि गर्न मद्दत पु¥याउँछ । वैदेशिक व्यापारबाट उपभोक्ताहरूले सरल मूल्यमा वस्तु प्राप्त गर्छन् । वैदेशिक व्यापारबाट अनिकालजस्तो संकटको सामना पनि गर्छ । बजार क्षेत्रको विस्तार हुनुका साथै उत्पादन विधिमा सुधार गर्न मद्दत गर्छ ।
योजनाबद्ध आर्थिक विकासका लागि मेसिन, औजार, कच्चा पदार्थ र प्रविधिहरू विदेशबाट झिकाउन मद्दत पु-याई योजना सफल पार्न सहयोग गर्छ । विदेशी मुद्रा आर्जनमा टेवा पु-याउनुका साथै उत्पादकहरूले देशमा आफ्नो वस्तुलाई उचित मूल्यमा बेच्न सक्छन् । यसले गर्दा उनीहरूले नाफा प्राप्त गर्न सक्छन् । वैदेशिक व्यापारले सरकारको आम्दानी वृद्धि गराउनमा मद्दत पु-याउँछ । किनभने विदेश व्यापारका क्रममा वस्तुहरूको आयात र निर्यात गरिन्छ र सरकारले आयात कर तथा निर्यात करद्वारा आम्दानी प्राप्त गर्छ । देशले समुचित औद्योगिक विकास गर्न नसकेर देशभित्र उत्पादन हुन सक्ने वस्तुहरू जस्तै– कपडा, प्लास्टिक, नाइलन कागज र रासायनिक पदार्थ र धातुका सामान वैदेशिक व्यापारबाट नै प्राप्त गर्न सकिन्छ ।
नेपालको आर्थिक विकासमा कृषि, उद्योग, यातायात आदिको जति महत्व छ त्यति नै महत्व वैदेशिक व्यापारको छ । वैदेशिक व्यापारले वस्तुहरूको उत्पादनमा वृद्धि गर्छ, उपभोक्ताहरूले सरल मूल्यमा वस्तु प्राप्त गर्छन् । नेपालजस्तो अविकसित मुलुकमा विदेश व्यपारको अत्यन्त ठूलो महत्व छ । किनभने अनेक वस्तुको उत्पादन यहा“ हुन सकेको छैन । विकासका लागि आवश्यक पुंजी गत सामानहरू पनि विदेश व्यापारबाट नै प्राप्त गरिन्छ । नेपालमा वैदेशिक व्यापारको विकासबाट निम्न किसिमका लाभहरू प्राप्त गर्न सकिन्छ । वैदेशिक व्यापारको विकासबाट जनताको जीवनस्तरमा वृद्धि गरी सुधारात्मक कदम चाल्न सकिन्छ । विगत एक दशकको अवधिमा कुल व्यापारमा वस्तु निर्यातको वृद्धिदर र आधार घट्दै गएको छ ।

नेपालको निर्यात व्यापार सीमित वस्तु र सीमित देशमा केन्द्रित छ । नेपालको अधिकांश निर्यात वस्तुहरू ऊनी गलैंचा र तयारी पोसाक हुन् । तयारी पोसाक अधिकांश रूपमा अमेरिकामा निर्यात हुन्छ । यसले नेपाली निर्यातलाई चिन्ताजनक स्थितिमा पु-याएको छ । नेपालको मुद्रा र पुँजीबजार शिशु अवस्थामै छ । निर्यात बढाउनका लागि व्यावसायिक संस्थाहरूलाई प्रशस्त निर्यात कर्जाको आवश्यकता पर्छ । नेपाली बैंकहरूले निर्यातको क्षेत्रमा प्रशस्त वित्तीय सुविधा पु-याउन सकेका छैनन् । निकासी वृद्धि गर्न सोही अनुपातमा आवश्यक मेसिनरी तथा कच्चा पदार्थको आयात वृद्धि हुँदै गएको छ । देशमा स्थापना भएका आयात प्रतिस्थापन गर्ने उद्योगहरूको पनि आयातित मेसिनरी र कच्चा पदार्थको आयातमा आश्रित रहेको छ ।
देशमा तीव्र रूपमा वृद्धि भइराखेको वैदेशिक सहायताको आधारभन्दा पनि बढी रकम वस्तुगत आधारमा खर्च हुने गरेको छ । कुल निकासीमा कृषिजन्य वस्तुहरूको अग्रणी स्थान भएको र कृषि क्षेत्रको उत्पादनमा मौसमको निर्णायक भूमिका कायमै रहेको छ । निर्यातयोग्य वस्तुहरूको उत्पादनमा विविधीकरण हुन सकेको छैन । कतिपय वस्तुहरूको गुणस्तरमा वृद्धि हुन सकेको छैन । तयारी पोसाक निर्यातमा पनि स्थायित्व आउन सकेको छैन । नेपालबाट निर्यात हुन सक्ने कृषि उपजहरूको उत्पादनमा कमी, गुणस्तर परीक्षणको अभाव, सानो परिमाण, उच्च मूल्य भएका वस्तुहरू उत्पादन हुन नसक्नुजस्ता कतिपय कारणले गर्दा परम्परागत निर्यात हुँदै आएका कृषिजन्य वस्तुहरूको निर्यातमा ह्रास आएको छ ।
पर्यटन उद्योगको आयबाट शोधनान्तर स्थितिमा सुधार गर्न थप योगदान नहुनु र समुद्रपारका मुलुकहरूबाट हुने पैठारीमा सरकारी नियन्त्रण प्रभावकारी भए तापनि भारतबाट हुने पैठारीमा निरन्तर वृद्धि हुन गई उक्त मुलुकसँगको स्थिति बिग्रने प्रवृत्ति कायमै रहेको पाइन्छ । व्यापारलाई टेवा दिन अपेक्षित कानुनी र संस्थागत सुधार हुन नसक्नु, निकासीजन्य उद्योगलाई उत्पादनमूलक अन्य आर्थिक क्षेत्रहरूसँग आबद्ध गर्न नसक्नु, निकासीजन्य उद्योगहरूभित्र पनि अग्रपृष्ठ समानान्तर अन्तरसम्बन्ध कायम हुन सकेको छैन ।
नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका १९ वटा वस्तु र सेवाहरूको उत्पादन वृद्धि, मूल्य अभिवृद्धि साथै निर्यात प्रवद्र्धनका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सरकारी तथा निजी क्षेत्रसमेतको समन्वयमा सम्पन्न भएका छन् । विश्व व्यापार संगठनको अल्पविकसित राष्ट्रको हैसियतले पूरा गर्नुपर्ने व्यापार नीति समीक्षाको कार्य सम्पन्न गरिएको छ । विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरूको व्यापार नीति तथा अभ्यासको आवधिक रूपमा समीक्षा तथा पुनरावलोकन गरी तिनबाट द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय व्यापार सञ्चालनमा परेको प्रभावलाई आकलन र विश्लेषण गर्ने कार्य सम्पन्न भएको छ । विश्व व्यापार संगठनको सदस्यता प्राप्त गर्दा नेपालले गरेका प्रतिबद्धताहरू पूरा गर्ने क्रममा वाणिज्य क्षेत्रसँग सम्बन्धित विभिन्न नीति, ऐन, नियमावली एवं संरचनाहरू व्यापारमैत्री बनाउने क्रम जारी छ ।
नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता सम्पन्न भई कार्य अगाडि बढिरहेको छ । नेपाल चीन सीमा क्षेत्रको तातोपानी भन्सार नाकास्थित सुक्खा बन्दरगाह निर्माण कार्य सुरु भएको छ । वाणिज्य नीति, २०६५ ले वाणिज्य क्षेत्रको समग्र विकासका लागि विस्तृत नीति तथा कार्यक्रमहरू अघि सारेको छ । सो नीतिले विशेष केन्द्रित क्षेत्र र जोड दिइएको क्षेत्रअन्तर्गत गरी झन्डै डेढ दर्जनजति वस्तुलाई निर्यात सम्भाव्य वस्तुका रूपमा पहिचान गरी तिनको प्रवद्र्धनमा जोड दिन्छ ।
सरकारले स्वदेशी उत्पादनको निर्यात प्रोत्साहन गर्न निर्यात मूल्यको ३ देखि ५ प्रतिशतसम्म अनुदान दिने भएको छ । मन्त्रिपरिषद् बैठकले यसै साता स्वीकृत गरेको ‘निर्यातमा अनुदान प्राप्त गर्ने’ कार्यविधिमार्फत यो सुविधा उपलब्ध गराउन लागिएको हो । कार्यविधिले वस्तु निर्यात गर्दा कुल निर्यात मूल्यको ३ देखि ५ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेको हो । यसअघि २ प्रतिशत मात्रै नगद अनुदान दिने व्यवस्था थियो । “नयाँ व्यवस्थाले निर्यातकर्ता, किसान र उद्योगीलाई प्रोत्साहन मिल्नेछ,” मन्त्रालयका प्रवक्ता नवराज ढकालले भने, “५ प्रतिशत नगद अनुदानले निर्यात वृद्धि हुन्छ ।” यस वर्षको बजेटमा सरकारले आयातदर प्रतिस्थापन गर्न निर्यातजन्य वस्तुमा ५ प्रतिशतसम्म अनुदान दिने घोषणा गरेको छ ।
नयाँ कार्यविधिले उत्पादनलाई वर्गीकृत गरी नगद अनुदान दिने व्यवस्था गरेको छ । यसअनुसार १५ उत्पादनलाई निर्यात मूल्यको ५ र ११ उत्पादनलाई ३ प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ । ५० प्रतिशत मूल्य अभिवृद्धि भएको निर्यातजन्य वस्तुलाई ५ प्रतिशत र ३० प्रतिशत मूल्य अभिवृद्धि भएकालाई ३ प्रतिशत अनुदान दिने व्यवस्था छ । स्वदेशी वा आयातित कच्चापदार्थ प्रयोग गरी उत्पादन गरिने कृषिजन्य, वनजन्य, औद्योगिक, घरेलु तथा हस्तकला सामग्रीमा पनि ५ प्रतिशत नगद अनुदान दिने व्यवस्था छ । ५ प्रतिशत अनुदान पाउने वस्तुमा प्रशोधित चिया, कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला र छालाजन्य उत्पादन, हाते कागज तथा त्यसबाट निर्माण भएका सामग्री, प्रशोधित जडीबुटी तथा सारयुक्त तेल हुन् । यस्तै प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामग्री, मिनरल वाटर, परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरिने सर्तमा तरकारी, बेसार, पुष्प, प्रशोधित मह, प्रशोधित अलैँची र प्रशोधित अदुवामा पनि ५ प्रतिशत अनुदान दिइनेछ ।
चालू आर्थिक वर्ष २०७७-७८ को पहिलो चार महिनामा व्यापारघाटा साढे १२ प्रतिशतले घटेको छ । कोभिड–१९ का कारण अत्यावश्यककीय वस्तुबाहेक विलासी वस्तुको आयात कम हुँदा व्यापारघाटा १२.४९ प्रतिशतले घटको हो, जसअनुसार व्यापारघाटा ३ खर्ब ६२ अर्ब २९ करोड ११ लाख ३ हजार रुपैयाँमा झरेको भन्सार विभागले सार्वजनिक गरेका तथ्याङ्कमा उपलब्ध छ । अघिल्लो वर्ष सोही अवधिमा ४ खर्ब १४ अर्ब १९ कराड ८३ लाख रुपैयाँको व्यापारघाटा थियो । आयात घटे पनि निर्यात व्यापार भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म ११ प्रतिशतले बढेर ४० अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा ३६ अर्ब २७ करोड ९० लाख ७२ हजार रुपैयाँको निर्यात भएको थियो । यस्तै आयात १० प्रतिशतले घटेर ४ खर्ब २४ अर्ब ९० करोड १७ लाख ८ हजार रुपैयाँ सीमित भएको छ । अघिल्लो वर्ष सो अवधिमा ४ खर्ब ४९ अर्ब २९ करोड ८९ लाख २ हजार रुपैयाँको निर्यात भएको थियो । यो वर्ष निर्यात बढ्दैै गए पनि काभिडको प्रभावले आयात भने घट्न गएको छ ।
मुलुकमा सबैभन्दा धेरै आयात हुने वस्तु रहेको पेट्रोलियम पदार्थ, सवारी साधनको आयातमा उल्लेख्य कमी आएको छ । यस अवधिमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट २ खर्ब ६४ अर्ब ९५ करोड ८२ लाख १ हजार रुपैयाँको सामान आयात भएकोमा २७ अर्ब ८६ करोड ८७ लाख ४३ हजार रुपैयाँको स्वदेशी वस्तु भारततर्फ निर्यात भएको छ । चीनवाट ६० अर्ब १२ करोड १७ लाख ५ हजार रुपैयाँको आयात भएकोमा २९ करोड ३२ लाख रुपैयाँको निर्यात भएको छ ।
भन्सार विभागका अनुसार यस आर्थिक वर्षको चार महिना अवधिमा सबैभन्दा धेरै २८ अर्ब ६६ करोड २० लाख ९० हजार रुपैयाँबराबरको विद्युतीय, मेसिनरी सामान आयात भएको छ । यस्तै २५ अर्ब २७ करोड ५९ लाख ५ हजार रुपैयाँबराबरको खाद्यान्न आयात भएको छ । ५ अर्ब ८१ करोड ८३ लाख ९५ हजार रुपैयाँको चिनी आयात भएको छ । सो अवधिमा नेपालबाट ४ खर्ब ७१ करोड १७ लाख ४१ हजार रुपैयाँको कफी र २ अर्ब ७३ करोड ३६ लाख ५५ हजार रुपैयाँको कार्पेट निर्यात भएको विभागको तथ्याङ्क छ । चार महिनामा सामान आयातबाट १ खर्ब १६ अर्ब १३ करोड २० लाख २१ हजार राजस्व संकलन गरिएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा आबद्ध सबै सदस्य राष्ट्रसँग नेपालको व्यापार घाटामा रहेको छ । सार्कमा नेपालसहित आठवटा सदस्य राष्ट्रहरू छन् । नेपालले सबै मुलुकहरूसँग घाटाको व्यापार गरिरहेको नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष भारतसँग ५ खर्ब ९९ अर्ब ७८ करोड रुपैयाँ व्यापार घाटामा छ । भारतबाट ६ खर्ब ४१ अर्ब ४२ करोडको वस्तु नेपाल भित्रिँदा ४१ अर्ब ६४ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । गत वर्ष नेपालको कल वैदेशिक व्यापार नौ खर्ब ८४ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । नेपालको कुल व्यापारको करिब दुईतिहाइ हिस्सा भारतसँग हुने गरेको छ । तीन वर्षअघि अफगानिस्तानसँग नेपालको व्यापार १ अर्ब ५९ करोड रुपैयाँ नाफामा थियो, नेपालवाट १ अर्ब ६० करोडको वस्तु निर्यात भएको थियो ।
अफगानिस्तानबाट ७६ लाखको मात्र समान भिœयाइएको थियो । तर, गत वर्षसम्म आइपुग्दा व्यापारघाटा मात्र गएन, आयात–निर्यात नै खम्चिएको छ । १२ लाखको सामान आयात गरिँदा १ लाखको समान निर्यात भएको छ । नाफामा रहँदै आएको व्यापार पनि ११ लाख घाटामा गएको छ । बंगलादेशसँगको व्यापारघाटा उछालिँदै गएको छ । तीन वर्षअघि १ अर्ब ६४ करोड रहेको घाटा गत वर्ष ३ अर्ब १८ करोडमा पुगेको छ । केही वर्षअघिसम्म बंगलादेशको व्यापार नाफामा थियो । पाकिस्तान, माल्दिभ्स, भटान र श्रीलंकासँगको व्यापार सानो आकारमा भए पनि घाटामै रहेको छ । सार्क मुलुकहरूकमा सबैभन्दा थोरै कारोबार माल्दिभ्ससँग हुने गर्दछ । गत वर्ष मल्दिभ्ससँग कुनै व्यापार भएको देखिँदैन, अघिल्लो वर्ष ३ लाख व्यापारघाटा भएको थियो । माल्दिभ्सबाट ३ लाख ५० हजारको समान आयात गर्दा नेपालबाट ५० हजारको मात्र वस्तु निर्यात गरिएको थियो
विश्व व्यापार संगठनले प्रकाशित गरेको प्रतिवेदनअनुसार विश्व वजारमा नेपालको वैदेशिक व्यापारको हिस्सा नगन्य देखिन्छ । विश्वको कुल निर्यातमा नेपालको निर्यात अंश ज्यादै न्यून भई करिब शून्यबराबर छ भने आयातको अंश विश्वको कुल आयातको ०.०६ प्रतिशत रहेको देखिन्छ । यसबाट पनि हाम्रो वैदेशिक व्यापार विश्व बजारमा प्रतिस्पर्धी नरहेको तथ्या पुष्टि गर्छ ।

वर्तमान पन्ध्रौं योजना २०७६–२०८१ मा वैदेशिक व्यापार, शोधनान्तर र विदेशी विनिमय कार्यक्रम

सोच
सन्तुलित वैदेशिक व्यापार, पर्याप्त विदेशी मुद्रा सञ्चिति र बाह्य क्षेत्र स्थायित्वसहितको सुदृढ अर्थतन्त्र,

लक्ष्य
निर्यात प्रवद्र्धन, वैदेशिक व्यापार सन्तुलन र शोधनान्तर बचत कायम गर्ने,

उद्देश्य
१. उत्पादन अभिवृद्धि, आयात व्यवस्थापन तथा निर्यात प्रवद्र्धनका लागि देशगत तथा वस्तुगत विविधीकरण गरी व्यापारघाटा कम गर्नु,
२. विदेशी विनिमय स्थिरता, बाह्य क्षेत्र स्थिरता तथा लक्षित विदेशी मुद्रा सञ्चिति कायम गर्नु ।
शान्ति–सुरक्षाको कमजोर अवस्था, औद्योगिक असुरक्षा, बन्द हड्ताल, असहज श्रम सम्बन्ध र ऊर्जाको न्यून उपलब्धताका कारण लगानी एवं व्यापा–मैत्री वातावरण सिर्जना हुन नसक्नु, निकासीजन्य उद्योगहरूलाई उत्पादनमूलक अन्य आर्थिक क्षेत्रहरू (कृषि, वन, पर्यटन आदि) सँग एकीकृत गर्न नसक्नु, अधिकांश निर्यातयोग्य वस्तुहरू आयातित कच्चा पदार्थमा आधारित हुनु, निकासीलाई टेवा पुग्ने गरी पर्याप्त मात्रामा भौतिक पूर्वाधारको विकास हुन नसक्नु एवं भएका पूर्वाधारहरू पनि पूर्ण उपयोगमा आउन नसक्नु, प्रमुख निकासीजन्य उत्पादनहरूको निश्चित मापदण्डअनुसारको गुणस्तर कायम हुन नसक्नु, निकासी प्रवद्र्धनका लागि थप विशेष वस्तु र विशेष बजारको पहिचान गर्न नसक्नु, सीमित वस्तु तथा बजारमा नेपाली उत्पादन केन्द्रित हुनु, सेवा व्यापार र बौद्धिक सम्पत्ति व्यापार प्रवद्र्धनमा विभिन्न नीतिगत तथा संस्थागत कमजोरी रहनु, कृषि तथा वनस्पतिजन्य वस्तुहरूको निर्यात कम हुनु आदि व्यापार क्षेत्रका मूलभूत समस्याहरू हुन् । कूटनीतिक नियोगहरूलाई निर्यात प्रवद्र्धन गर्न प्रभावकारी रूपमा परिचालन गर्न नसकिएको एवं आन्तरिक व्यापार प्रवद्र्धन कार्य प्रभावकारी हुन नीतिगत र संरचनात्मक व्यवस्था तथा समन्वयमा कठिनाइ रहेको छ ।
क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापार प्रणालीको आबद्धताबाट सिर्जित व्यापार उदारीकरणको दायित्व पूरा गर्न आवश्यक नीतिगत, कानुनी र संरचनागत सुधारका कार्यहरू निर्धारित समयमै पूरा गर्ने, निकासीजन्य उत्पादनमा निश्चित गुणस्तर कायम गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको साख गिर्न नदिई विश्वसनीयता आर्जन गर्ने, तुलनात्मक र प्रतिस्पर्धी लाभ भएका निकासीयोग्य उत्पादनहरूको अग्र र पृष्ठ सम्बन्ध सृदृढ गर्दै त्यस्ता वस्तुको विकास र विविधीकरण गरी नेपाली उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने, छिमेकी मुलुकहरूसँग कारोबार लागत घटाई निकासी प्रवद्र्धन गर्न भौतिक एवं व्यापारसम्बन्धी पूर्वाधारको विकास गर्ने तथा द्विपक्षीय र बहुपक्षीय व्यापारमा नेपालको हित अधिकतम कायम हुने गरी वार्ता गर्ने क्षमता विकास गर्ने र समग्रमा निरन्तरताको बढ्दो अन्तर्राष्ट्रिय व्यापारघाटालाई कम गर्दै लैजाने विषयहरू चुनौतीका रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्