Logo

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक अप्रेसन गरेर प्रसूति गराइयो

जीवन कैला
बाजुरा-
बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक जटिल प्रकारको गर्भवतीलाई अप्रेसन गरी प्रसुती गराइएको छ । तीन दिन देखि वेथा लागेर प्रसुती हुन नसकेकी मुगुको खत्याड गाउँपालिका–१० ह्याङलुकी निर्मला चदाराको आज बाजुराको कोल्टीमै अप्रेसन गरेर बच्चा निकालिएको हो । यसअघि यस्तै जटिल प्रकारको प्रसुती गराउन नेपालगन्ज, सुर्खेतलगायत सुविधासम्पन्न स्थानमा लिनका लागि २० जनालाई रिफर गरिसकेको प्राथमिक स्वास्थ्य केन्द्रमा आज पहिलो पटक जटिल प्रकारको केसलाई अप्रेसन गरेर प्रसुती गराइएको स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक ओमजङ्ग शाहीले जानकारी दिए ।
बिरामीलाई हेर्दा जति ढिलो भयो त्यति जोखिमको अवस्था थियो । आफूहरूसँग भएको उपकरणले अप्रेसन गर्न सक्छौं भन्ने लाग्यो र त्यसमा सफल पनि भयौं डा. अर्जुनप्रसाद तिवारीले बताए । बच्चा उल्टो र दिसा खाएको हुँदा नेपालगंज लैजाँदासम्म पनि आमा र बच्चामा समस्या हुन सक्ने भएपछि आफूहरूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ल्याएको सामग्रीको प्रयोग गरेर अप्रेसन गरेको उनले बताए ।
एनएसथेसिया डा. तिवारी सहित डा. दिल शाही रोका र डा. नम्रता सिन्दानको टोलीले अप्रेसन गरेर चदारालाई प्रसुती गराएको प्राथमिक स्वास्थय केन्द्र कोल्टीले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा माग गरिएको सामग्री नभएका कारण केहि समस्या भए पनि हाललाई जनशक्तिको भने समस्या नरहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट खटिएको जनशक्तिले पहिलो पटक अप्रेसन गरेर प्रसूति गराएपछि स्थानीयले समेत खुसी व्यक्त गरेका छन् । निर्मलाका आफन्त मोहनलाल चदाराले तीन दिनदेखि प्रसूति हुन नसकेर छटपटाई रहेकी निर्मलालाई नेपालगन्ज लिनका लागि एयरपोर्टमा गएको बेला कोल्टीमा डाक्टरहरू आएका छन भन्ने थाहा पाएर परामर्श लिएको र यहाँ अप्रेसन गर्न सकिन्छ भन्नेमा डाक्टरले विश्वास दिलाएपछि आफूहरू यहि अप्रेसन गर्न तयार भएको बताए । चदाराका आफन्तले कोल्टीमा अप्रेसन हुन्छ र यो तहको जनशक्ति छ भन्नेमा थाहा नभएरै आफूहरू नेपालगन्ज जान लागेको बताएका छन् ।

२९ बर्षिया चदारालाई बेथा लागेको पहिलो दिन घरमै सुडेनीको सहायताले प्रसुती गराउन थालेको, दोस्रो दिन बोकेर रातापानी प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउदा त्यहाँ सकिदैन भने पछि आज बोकेर कोल्टी एयरपोर्ट पुर्याएको उनीहरूले बताएका छन । दुर्गम तथा विपन्न परिवारका लागि यो भन्दा ठूलो कुरा के हुनसक्छ भन्दै चदाँराले आफूहरूको विरामी र पैसा दुवै बाँचेको बताए । कर्णाली प्रदेशका मुगु, हुम्ला, कालिकोट लगायतका जिल्लाको समेत सेवा क्षेत्र रहेको र आवश्यक जनशक्ति नभएर स्थानियले पटक–पटक दुःख भोग्नु परेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुढीनन्दा नगरपालिकासँग सम्झौता गरी जनशक्ति उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्