Logo

भागरथीको न्यायका लागि नेविसंघको विरोध प्रदर्शन

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आइतबार बैतडीकी १७ वर्षीया किशोरी भट्टको बलात्कारपछि हत्या गरिएकाले हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्मकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि -याली तथा कोणसभा गरेको हो ।
कोणसभामा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले सरकारले भट्टको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनुपर्ने बताए । नेपाल महिला सङ्घका महासचिव एवं पूर्वराष्ट्रियसभा सदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने अवस्था आएको बताइन् ।
भट्टलगायत बलात्कार र हत्यामा परेका नेपाली चेलीको न्यायका निम्ति नेविसङ्घले निरन्तर खबरदारी गर्ने सङ्घका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । पद्मकन्या क्याम्पसबाट शुरु भएको विरोध ¥याली पुतलीसडक घुमेर पुन पद्मकन्या क्याम्पसमा आई कोणसभामा परिणत भएको थियो ।

कांग्रेस केन्द्रीय प्रतिनिधि बैतडीमा
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश लेखक बैतडी पुगेका छन् । पूर्वमन्त्रीसमेत रहेका कांगे्रेस केन्द्रीय सदस्य लेखकले घटनाको स्थलगत अध्ययन गरी पार्टीलाई प्रतिवेदन बुझाउने जनाइएको छ ।
केन्द्रीय प्रतिनिधि लेखकले घटनास्थलको अवलोकन, पीडित परिवारसँग भेटघाट, स्थानीय जनप्रतिनिधिसँग छलफल र घटनाका बारेमा प्रहरीले गरेको अनुसन्धानका विषयमा प्रदेश प्रहरी प्रमुखसँग छलफल गरेका छन् ।
स्थलगत अध्ययन र विभिन्न व्यक्तिसँगको छलफलपछि नेता लेखकले प्रतिवेदन पार्टीलाई बुझाउने छन् । लेखकले यसअघि शनिबार कांग्रेस जिल्ला समितिसँग पनि छलफल गरेका थिए । कांग्रेसले नेता लेखकलाई घटनाको सत्यतथ्य बुझ्न, घटनाको अध्ययन गरी देखिएका विषयवस्तु समेटेर पार्टीलाई बुझाउने जनाइएको छ ।
घटनापश्चात विभिन्न पार्टीका नेता, कार्यकर्ता घटनास्थल र पीडित परिवारलाई भेट्ने क्रम चलिरहेको छ । यसअघि नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापा, कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेशसभा सदस्य कर्ण मल्ल, लीलाधर भट्ट, पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीलगायतका नेता कार्यकर्ताले घटनास्थलको अवलोकन र पीडित परिवारलाई भेटेका थिए ।
भागरथी गत माघ २२ गते बलात्कारपछि हत्या गरिएकी अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी हुन् । हालसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन । आफन्तले हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान राखेका छन् । जिल्ला अस्पतालमा रहेको शवलाई सुरक्षित राख्न समस्या भइरहेको अस्पतालले जनाएको छ । यता प्रहरीले भने अपराधी नजिक पुगेकाले छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।
घटनापश्चात घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् । यस्तै घटना भएको ११ दिन बितिसक्दासमेत अपराधी पत्ता नलागेको भन्दै शान्तिपूर्ण आन्दोलन पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस्