संसद् विघटन भारतको इशारामा : केसी

अर्घाखाँची- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानमै व्यवस्था नभएको संसद् विघटन गर्ने केपी ओलीले मुलुकमा संकटकाल लगाएर शासन गर्न खोजेको आरोप लगाएका छन् ।
प्रगतिशील पत्रकार संघले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले संविधानमै व्यवस्था नभएको संसद् विघटन गर्ने केपी ओलीले मुलुकमा संकटकाल लगाएर शासन गर्न सक्ने बताए । ओलीको प्रतिगामी कदमलाई जनआन्दोलन गरेरै घुँडा टेकाउनुको विकल्प नभएको बताउँदै उनले प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा प्रचण्ड–माधव नेपाल पक्ष र मधेसबादी दल एकजुट भएर आन्दोलन गर्नुपर्ने बताए ।
अध्यक्ष केसीले भारतको इशारामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको समेत आरोप लगाए । उनले दरवारीय र संकीर्णवादी कम्युनिष्टका कारण नेपाली जनताको लामो संघर्ष र वलिदानीबाट प्राप्त भएको गणतन्त्र खतरामा परेको बताए ।
प्रधानमन्त्री ओलीले पार्टी भित्रको आन्तरिक विवाद मिलाउन नसकेर देशलाई भड्खालोमा हालेको आरोप उनले लगाए । पार्टीभित्रको विरोधको सामना गर्न नसकेर सत्ताको लोभले संसद् विघटन गरेर अलोकतान्त्रिक कदम चाल्नु बेठीक भएको बताउँदै उनले पार्टीभित्रको झगडाकै कारण संसद् विघटन हुनु देशकै लागि दुःखद भएको उल्लेख गरे ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले सडकबाटै आन्दोलन गरेर संसद पुनःस्थापना हुने दाबी गरे। संसद् पुनःस्थापना गर्नका लागि सबै राजीनतिक दलहरु एकठाउँमा आउन आग्रह गर्दै वार्ता गर्नका लागि जनमोर्चा तयार रहेको केसीले बताए ।