विदेश जाने घटे पनि रेमिट्यान्स बढ्यो «

विदेश जाने घटे पनि रेमिट्यान्स बढ्यो


कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटे पनि देशको मुख्य आयस्रोत रेमिट्यान्स आम्दानी भने वृद्धि भएको छ । कोभिडका कारण रेमिट्यान्स पठाउने अवैध माध्यम हुण्डी बन्द हुँदा बैंकिङ च्यानलबाट आउने रेमिट्यान्समा सकारात्मक प्रभाव परेको हो । यसैगरी अमेरिकी डलरको भाउ उच्च हुँदा पनि रेमिट्यान्स आम्दानी वृद्धि भएको छ ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट रेमिट्यान्समा कोभिड–१९ को असर नपर्नु आश्चर्यजनक भएको बताउछन् । “हामीले कोरोनाकालमा रेमिट्यान्स आप्रवाहमा कम्तीमा १० प्रतिशत घट्ने अनुमान गरेका थियौं । तर, रेमिट्यान्स लगातार बढिरहेको छ,” उनी भन्छन् । यसको कारणबारे औपचारिक अध्ययन नभएपनि हुन्डी कारोबार बन्द हुँदा औपचारिक माध्यमबाट रकम पठाउनेको संख्या वृद्धि भई सकारात्मक प्रभाव परेको उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा विदेशमा बस्ने नेपालीबाट ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स ११.१ प्रतिशतले वृद्धि भएको हो ।
वित्तीय विश्लेषक अनलराज भट्टराई नेपालको रेमिट्यान्स विगतमा अनौपचारिक क्षेत्रबाट आउने गरेकोमा अहिले भने औपचारिक माध्यमबाट आउन थालेका कारण वृद्धि देखिएको बताउँछन् । लकडाउनका कारण आयात घट्दा विगतमा न्यून बिजकीकरणका कारण स्रोत मुलुकमै रहने रकम अहिले स्वदेश भित्रिन थालेको उनको अनुमान छ ।
वार्षिक रुपमा अघिल्लो आवको तुलनामा गत आवमा रेमिट्यान्स ०.५ प्रतिशतले घटेपनि साउनयता भने रेमिट्यान्स लगातार बढिरहेको छ ।
विश्वव्यापी रुपमा कोभिड फैलिएसँगै रेमिट्यान्स आम्दानीमा असर गर्ने अनुमान गरिएको थियो । राष्ट्र बैंकले कोभिडका कारण रेमिट्यान्स आम्दानी १० प्रतिशतसम्म गिरावट आउने अनुमान गरेको थियो । यसैगरी विश्व बैंकले समेत रेमिट्यान्समा २० प्रतिशत असर पर्ने प्रतिवेदन सार्वजनिक गरेको थियो ।
कोभिडका कारण हुन्डीको चेन भत्किएको र यसले रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको वताउछन् अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी । यसैगरी कोभिडका कारण रोजगारीबाट फर्किएका नेपालीले पनि औपचारिक माध्यमबाटै रकम ल्याएकाले पनि रेमिट्यान्स वृद्धि भएको उनले वताए ।
रेमिट्यान्स वृद्धि भएपनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने गिरावट आएको छ । चालू आवको ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो । यसैगरी वैदेशिक रोजगारीका लागि पुन : श्रम स्वीकृति लिनेको संख्या पनि ६८.९ प्रतिशतले घटेको छ । गत आवको यसै अवधिमा ०.५ प्रतिशतले बढेको थियो ।
रेमिट्यान्स वृद्धिका कारण वैदेशिक मुद्राको बचत पनि बढेको छ । चालु आवको पुससम्ममा देशको वैदेशिक मुद्राको बचत १४ खर्ब ९३ अर्ब ७५ करोड पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६.६ प्रतिशतले बढी हो ।
मूल्यवृद्धि ३.५६ प्रतिशत
चालू आर्थिक वर्षको पुसमा मूल्य वृद्धिदर ३.५६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृद्धि ४.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि जम्मा २.९९ प्रतिशत रहेको छ ।
निक्षेप र कर्जा दुवै बढ्यो
बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशतले बढेको थियो । त्यसैगरी बैंकहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले मात्र बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्