निगमको मूल्य स्थिरीकरण कोषमा ११ अर्ब «

निगमको मूल्य स्थिरीकरण कोषमा ११ अर्ब

नेपाल आयल निगमको मूल्य स्थिरीकरण कोषमा ११ अर्ब रुपैयाँ संकलन भएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा त्यसको सबै भार उपभोक्तामा पर्न नदिन कोष स्थापना गरेको हो । हाल निगमको घाटा बढ्दै गएको तथा सोही अनुपातमा मूल्य बढाउन सम्भव नभएकाले स्थिरीकरण कोषको रकम उपयोग हुने भएको छ ।
कोषमा विगत ६ वर्षको अवधिमा यो रकम जम्मा भएको हो । स्वचालित मूल्यमा उपभोक्ता बढी मारमा पर्ने भन्दै कोषमा पेट्रोलियम पदार्थ बिक्रीबाट एक प्रतिशतका दरले उपभोक्ताबाट संकलन गरेर १० अर्ब ६२ करोड रुपैयाँ जम्मा गरेको निगमले जानकारी दिएको छ । डिजेल, पेट्रोल, मटीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास बिक्रीबाट रकम जम्मा गर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धनबाट एक प्रतिशतका दरले मूल्य स्थिरीकरण कोषमा जम्मा गरिएको रकम ११ अर्ब पुगेको जानकारी दिँदै पछिल्लो समय अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएकाले निगम १५ दिनमा एक अर्ब घाटामा रहेको बताए ।
२०७१÷७२ मा प्रतिलिटर १ सय ३४ रुपैयाँ रहेको पेट्रोलको मूल्य अहिले १ सय १० रुपैयाँ रहेको छ । सो अवधिमा १ सय ५ रुपैयाँ रहेको डिजेलको मूल्य अहिले घटेर ९३ रहेको छ । सो अवधिमा १४३ रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धन अहिले घटेर ६५ रुपैयाँमा झरेको छ । आर्थिक वर्ष २०७१÷७२ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेसँगै निगमले मूल्य स्थिरीकरण कोषमा रकम जम्मा गर्न सुरु गरेको थियो । पेट्रोलियम पदार्थ तथा ग्याँस मूल्य स्थिरीकरण कोष स्थापना गरेर निगमले २०७१ साल देखि पेट्रोलियम पदार्थमा ०.५ प्रतिशतका दरले संकलन गदै आएको थियो । २०७३ सालदेखि बढाएर पेट्रोलियम पदार्थको मूल्यमा एक प्रतिशतका दरले कोषमा रकम जम्मा गर्दै आएको निगमले जानकारी दिएको छ ।
निगमले आर्थिक वर्ष २०७६÷७७ मा २ अर्ब ६ करोड रुपैयाँ कोषमा रकम जम्मा गरेको थियो । आव २०७५÷०७६ मा २ अर्ब ४७ करोड, २०७४÷०७५मा १ अर्ब ९७ करोड रुपैयाँ जम्मा गरेको निगमको तथ्याङक छ । यस्तै आव २०७३÷७४ ८३ करोड, आव २०७२÷७३ मा ४८ करोड र आव २०७१÷७२ मा २ अर्ब ८२ करोड रकम जम्मा गरेको थियो । निगमले विभिन्न शीर्षकमार्फत उपभोक्ताबाट शुल्क असुल गदै आएको छ । वातावरण प्रदुषण शुल्क, सडक मर्मत, पूर्वाधार कर, लगायतका अन्य शीर्षकमा उपभोक्ताबाट शुल्क लिदै आएको छ । उपभोक्ता शुल्क लिएपनि जुन रकम खर्च नै नभएर थन्किने गरेको छ ।
निगमले मूल्य बढेर आएकाले घाटामा गएको भन्दै मूल्य बढाउने तयारी गरेको छ । मूल्य बढेर आएकाले घाटा बढेर थेग्ने नसक्ने अवस्थामा पुगेको निगम प्रवक्ता वीनितमणि उपाध्यायको भनाइ छ । लामो समयदेखि नाफा कमाउदै आएको निगम पछिल्लो समय अन्तराष्ट्रिय बजारमै इन्धनको मूल्य बढेर आएकाले घाटा बढ्दै गएको हो । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै गएकाले निगमले डिजेल, पेट्रोल र खाना पकाउने ग्यासमा घाटा बेहोर्नुपरेको छ । १५ दिनमा झन्डै ९७ करोड ७५ लाख बराबरको नोक्सान हुने देखिएको निगमको भनाई छ । निगमलाई सबैभन्दा धेरै ग्यासमा ४६ करोड घाटा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्