लखन थापामगरलाई सहिद मान्न किन गाह्रो ?

हरेक वर्षझैं यस वर्ष पनि कर्मकाण्डीय हिसाबले सहिद सप्ताह वा भनौं सहिद दिवस मनाइयो । त्यसैले राज्यका तर्पmबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले काठमाडांैको सुन्धारास्थित सहिद गेटमा गएर चार सहिदहरू गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र राजा त्रिभुवनलाई सम्मान अर्पण गर्नुभयो । भनिन्छ, वि.सं. २०१२ देखि औपचारिक रूपमा सहिद दिवस मनाउन थालिएको हो । यसरी हेर्दा यो वर्षको सहिद दिवस ६३ औं सहिद दिवस हो । माथि उल्लिखित चार जना नेपालका प्रथम सहिदहरू हुन् भने टंकप्रसाद आचार्य, रामहरि जोशीलगायतचाहिँ नेपालका जिउँदा सहिदहरू हुन् ।
स्वर्गीय धर्मरत्न यमीले आफ्नो किताब ‘नेपालका कुरा’मा लेखेअनुसार टंकप्रसाद आचार्य, रामहरि जोशीलगायत बाहुनहरूले त्यो बेलाको कानुनमा ‘मान्छेमा बाहुनलाई र जनावरमा गाईलाई काट्न÷मार्न नपाइने’ भएकाले मात्रै जिउँदा सहिद हुने अवसर पाएका थिए । जे भए तापनि वि.सं. १९९७ मा मरेर जाने सहिदहरू गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द तथा जिउँदा सहिदहरू टंकप्रसाद आचार्य, रामहरि जोशीलगायतले १ सय ४ वर्षे राणाशासनविरुद्ध विगुल फुकेका थिए, यसमा कसैको दुईमत रहेन ।
तर १ सय ४ वर्ष लामो राणाशासनका सूत्रधार जंगबहादुर राणालाई आजभन्दा १४४÷४५ वर्षअघि नै हाँक दिँदा एक जना लगन थापामगर भन्ने मान्छेले पहिलो पटक सहादत प्राप्त गरेका थिए । के उनी नै नेपालका प्रथम सहिद होइनन् ?
अब लागौं, को हुन् त लखन थापामगर ? उनी कहाँ जन्मेका थिए, के गर्थे, किन सहिद भए ? आदिका बारेमा केही जान्ने-चर्चा गर्नेतर्फ । गोर्खा जिल्लाको बुङकोट, काहुले भङ्गारमा वि.सं. १८९१ मा जन्मिएका लखन थापामगर वि.सं. १९११ मा २० वर्षको उमेरमा उनका पितापुर्खाले जस्तै मगरहरूको पल्टन (पुरानो गोरख गण) मा सेनामा क्याप्टेन पदमा भर्ती भएका थिए । सन् १९१४ मा भारतमा बेलायतीहरूले खडा गरेको कम्पनी सरकारको सैनिकविरुद्ध भारतीय सैनिकहरूले ठूलो विद्रोह ग¥यो । अंग्रेज सैनिकविरुद्ध भारतीय सैनिकले गरेको विद्रोहलाई अंग्रेज सैनिकहरूले मात्रै दबाउन नसकेपछि नेपालका श्री ३ महाराज जंगबहादुर राणा आफैं नेपाली सेनाको नेतृत्व गर्दै २५ पल्टन नेपाली सेना लिएर लखनउतर्फ लागे, जसमा मगरहरूको पल्टन (पुरानो गोरख गण) मा रहेका लखन थापामगर, जयसिंह चुमीमगर, कालीबहादुर गणका श्रीपद गुरुङलगायतका सैनिक अधिकृतहरू पनि सामेल थिए ।
यसरी सैनिक विद्रोह दबाउने क्रममा निर्दोष जनतालाई पनि निर्मम ढंगले हत्या गरिएको दृश्य अनि हालसम्म पनि ‘लखनउ लुट’को नामले परिचित लखनउका नबाव अलि शाहको दरबारमा रहेका श्रीसम्पत्ति लुट्ने क्रममा देखिएको उच्छृंखलता देखेपछि लखन थापामगरको मनले शान्ति पाएन । खासगरी भारतीय जनताको भारतलाई बेलायतीहरूको पन्जाबाट मुक्त गर्ने चाहनालाई उनले नजिकैबाट देखे । फलतः लखन थापामगरले भारतबाट फर्केपछि जंगबहादुर राणाको एकतन्त्रीय र निरंकुश शासनका विरुद्ध देवीदेवताका नाममा जनचेतना जगाउन थाले । काठमाडांैमा जंगबहादुरको अत्याचार र अन्याय बढिरहँदा लखन थापामगर भने गोरखामा आफ्नै राजद्रोही (हालको भाषामा भन्दा विद्रोही) सरकार गठन गरेर मुख्तियार÷प्रधानमन्त्री बनेर जयसिंह चुमीमगरलाई सेनापति बनाए । उनले शुकदेव गुरुङ, ज्ञान दिलदास र ब्राह्मण कालु लम्साललाई मन्त्री बनाएका थिए । यसै क्रममा उनले २ हजार विद्रोही सेनासमेत संगठित गरेका थिए । त्यसलगत्तै जंगबहादुरले झुन्ड्याएर मार्ने आदेश दिए । उनलाई झुन्ड्याएर मारिएको दिन थियो— वि.सं. १९३३, फागुन २ गते ।
यसरी हेर्दा निर्विवाद रूपमा लखन थापामगरलाई राजनीतिक रूपमा नेपालको प्रथम सहिद मान्नुपर्ने देखिन्छ । यसका लागि मगर जातिको आधिकारिक जातीय संस्था नेपाल मगर संघले २०४६ सालको राजनीतिक परिवर्तनदेखि नै प्रयास थालेको थियो । फलस्वरूप २०५६ साल फागुन ११ गते तत्कालीन श्री ५ को सरकारले लखन थापामगरलाई नेपालको प्रथम राजनीतिक सहिद घोषणा गरेको पनि हो । तर, उक्त घोषणालाई विविध कारणले गर्दा कार्यान्ययनमा ल्याउनै चाहेन, नेपालको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वले । त्यसमा नेपालका मूलधारका भनिएका मिडियाहरूले पनि साथ दिएनन् । अहिलेसम्म पनि लेख वा समाचारमा लखन थापामगरबारे उल्लेख गर्दैनन् । तर, पछिल्लो पटक नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको पालामा फेरि वि.सं. २०७२ मा लखन थापामगरलाई दोस्रो पटक नेपालका प्रथम सहिद भनी घोषणा गरिएको छ ।
–निनाम कुलुङ ‘मंगले’