पाँच वर्षपछि दरबार हाइस्कुलमा पठनपाठन सुरु

पुनर्निर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आइतबारदेखि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरु गरिएको हो ।
भूकम्पले पूर्णरूपमा क्षति भएको यस स्कुलको पुनर्निर्माणको काम गत फागुनमा नै सकिए पनि कोरोना भाइरसका कारण सरकारलाई विद्यालय हस्तान्तरण हुन सकेको थिएन ।
नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यस विद्यालयको भवन २०७२ सालको भूकम्पले पूर्णरूपमा क्षति भएपछि आकर्षक ढंगले पुनर्निर्माण सकिए पनि ९ महिनापछि गत कात्तिक ५ गते स्कुल राष्ट्रप्रमुख विद्यादेवी भण्डारीबाट उद्घाटन भएको थियो ।
कोरोनाकै कारण लामो समय यस विद्यालयका विद्यार्थी र शिक्षकले पनि अन्यले जस्तै अनलाइनको माध्यमबाट घरबाट नै पठनपाठन अघि बढाएका थिए । एक हप्ताअघि नै कामपाले सबै विद्यालय खोल्नका लागि अनुमति दिए पनि व्यवस्थापनका केही काम बाँकी हुनाले आइतबारदेखि विद्यालय सञ्चालन गर्न लागिएको काठमाडौं महानगरपालिका–२७ का सदस्य परिवेशमान बज्राचार्यले जानकारी दिए ।
निर्धारित कोटाअनुरुप अहिले भानु माविको कक्षा ५, ६,७ र ८ मा विद्यार्थी संख्या पुगेको छ । भवनको निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले ३१२ जना विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । यस विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० जना मात्र विद्यार्थी थिए ।
नयाँ भवनमा विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले कक्षा ५, ६, ७ र ८ कक्षामा विद्यार्थीको बस्नका लागि सिट क्षमता बढाएको छ । पुनर्निर्माणपछि सो विद्यालयमा प्रतिकक्षा ३६ जना विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो ।
हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा पुनः ६ जना विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो । क्षमता विस्तारपछि अहिले प्रत्येक कक्षामा ४२ जनासम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ ।
भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिलको जस्तै देखिन्छ । ९ रोपनी जमिनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले छ र यसमा ६० वटा कक्षा कोठा छन् ।
नेपाल सरकारले उपत्यकाका महत्त्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको यस ऐतिहासिक स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् ।
नयाँ भवनमा प्रयोगशालासमेतको सुविधा र अंग्रेजीमाध्यममा पढाइ हुने गरेको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको निर्माणको काम चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले गरेको हो ।
भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेना गृह, दुईवटा पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थितरूपले निर्माण गरिएका छन् ।
नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कुल भवन भूकम्पका कारण भत्किएपछि प्रदर्शनी मार्गस्थित बाल्मिकी विद्यापीठ नजिकैको परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो । तत्कालीन राणा सरकारले १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले यसको नाम दरबार हाइस्कुल रहन गएको हो ।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कुल’ स्थापना गरेका थिए । १९५७ मा देवशमशेर प्रधानमन्त्री भएपछि दरबार स्कुलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको हो ।