नवजात शिशु बीसीजी खोपबाट वञ्चित

रुपन्देही-दुई दिनअघि १५ दिनको छोरालाई बीसीजी खोप लगाउन भैरहवास्थित भीम अस्पताल पुगेका मायादेवी गाउँपालिका बसडिलवाका विक्रम मल्ल र अर्चना मल्ल छोरालाई खोपै नलगाई फर्किए । मल्ल दम्पतीलाई एक महिनापछि खोप लगाउन आउन आग्रह गर्दै अस्पतालले फर्कायो । मल्ल दम्पतीका छोरा मात्र होइन, अहिले रुपन्देहीमा जन्मिएका धेरै नवजात शिशुले महिना दिनभन्दा लामो समयदेखि बीसीजी खोप लगाउन पाएका छैनन् ।
‘जन्मनेबित्तिकै शिशुलाई खोप लगाउनुपर्छ भनेर हामी अस्पताल पुगेका थियौं । तर, खोप नलगाई फर्कियौं’, विक्रमले भने, ‘अत्यावश्क खोपमा समेत सरकारी बेवास्ता देख्दा हामी निरास भयौं ।’ नवजात शिशु जन्मनेबित्तिकै दिइने क्षयरोगविरुद्धको खोप बीसीजी हो । रोगविरुद्धको बीसीजी खोप उपलब्ध भए पनि सिरिन्ज नहुँदा अहिले शिशुहरू उक्त खोप लगाउनबाट वञ्चित छन् । लामो समयदेखि नवजात शिशुहरू बीसीजी खोप लगाउनबाट वञ्चित छन् । खोप केन्द्रहरूले अहिले सबै शिशुलाई उनीहरूको उमेर ४५ दिन हुँदा दिइने अन्य खोपसँगै बीसीजी समेत लगाउन आउन आग्रह गर्दै आएका छन् । तर, सिरिञ्ज अभावमा नवजात शिशु भने बीसीजीबाटै वञ्चित हुनु रेको छ ।
स्वास्थ्य विभागको लापरबाहीका कारण अहिले रुपन्देही मात्रै नभई देशैभर यो समस्या रहेको बताइएको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालय र क्षेत्रीय मेडिकल स्टोरहरूमा बीसीजी खोप उपलब्ध भए पनि लगाउन प्रयोग गरिने सिरिञ्ज छैन । जसको मारमा नवजात शिशु परेका छन् । जिल्लामा अस्पताल, मेडिकल स्टोर, प्राथमिक स्वास्थ्य चौकीहरूमा बीसीजी खोप पर्याप्त छ । सिरिञ्ज भने कतै पनि छैन । केन्द्रले समयमै आवश्यक परिणामको सिरिञ्जहरू नल्याउँदा अभाव भएको हो ।
जन्मनेबित्तिकै सुरुमै दिइने खोप बीसीजी हो । एक भाइल बीसीजीले २० शिशुलाई खोप लगाउन पुग्छ । तर, बीसीजीमा प्रयोग हुने सिरिञ्ज अन्य जस्तो सामान्य नभई यसको सियो (निडिल) ०.०५ एमएमलको मसिनो हुने भएकाले जहाँतही किन्न पाइँदैन । बीसीजी खोप जन्मेपछि शिशुको दाहिने पाखुरामा लगाइन्छ । हुनत यो खोप नपाइएमा १ वर्षको उमेरसम्म पनि लगाउन मिल्छ । तर, सरकारले तोकेको अवधिमा सिरिञ्ज उपलब्ध नहुँदा अभिभावक छोराछोरीपछि समस्या देखिने हो कि भनेर चिन्तित छन् ।
शिशु ४५ दिन हुँदा अन्य रोगहरूविरुद्ध पेन्टा फस्ट, पीसीभी फस्ट, एफआईपिभी फस्ट र ओपिभी फस्ट खोप समेत एकै पटक लगाउनुपर्ने भएकाले थप अर्को बीसीजी खोपसमेत सोही समयमा लगाउँदा शिशुलाई कष्ट हुने मझगाँवा स्वास्थ्य चौकीकी नर्सिङ स्टाफ शर्मिला शर्मा पाण्डेले बताइन् । चिकित्सकहरू बीसीजी खोप जति छिटो लगायो त्यति राम्रो हुने बताउँछन् । “खोप जति छिटो लगायो, त्यति राम्रो हुन्छ । रोग लाग्ने जोखिमहरूबाट शिशुलाई बचाउन सजिलो हुन्छ । ढिलो गरे थप समस्या हुन,सक्छ’, डा. अनभुव शर्माले भने । जिल्ला जनस्वास्थ्य कार्यालय खोपसम्बन्धी फोकलपर्सन अधिकृत चिरञ्जीवी ज्ञवालीले केन्द्रबाटै सिरिञ्ज नआएकाले समस्या भएको बताए ।
उनले आफू सिरिञ्जको निकाशा माग गर्न काठमाण्डौमै रहेको बताउँदै यसै हप्ता जिल्लाका सबै अस्पताल र अन्य स्वास्थ्य चौकीहरूमा सर्वसुलभ हुने दाबी गरे । “जिल्लामा बीसीजी खोप पर्याप्त छ तर सिरिञ्ज नहुदा समस्या बढेकै हो,” उनले भने, “अर्को हप्ताबाट नवजात शिशुले बीसीजी खोप लगाउन पाउँछन् ।” शिशुको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने रोगविरुद्धका खोपहरू सर्वसुलभ रूपमा उपलब्ध गराउन र लगाउने व्यवस्था गर्न अभिभावकहरूले सरकारसँग माग समेत गरेका छन् । जिल्लामा अघिल्लो वर्ष २८ हजारभन्दा बढी शिशुले बीसीजी खोप लगाएका थिए ।