Logo

झन्झटिलो वैदेशिक व्यापार

कोलकाताबाट काठमाडौं आइपुग्नै एक महिना
सरकारले भन्सार प्रशासनमा सुधार गर्दै वैदेशिक व्यापारलाई सहजीकरण गरिएको दावी गर्दै आए पनि नेपालको आयात–निर्यात प्रक्रिया भने निकै झन्झटिलो रहेको सरोकारवालाको अनुभव छ । भारत तथा तेस्रो मुलुकबाट सामान भित्रिने मुख्य नाका कोलकाताबाट काठमाडौसम्म सामान आयात गर्न एक महिनासम्म लाग्ने गरेको पाइएको छ भने सोही मार्ग हुँदै निर्यात व्यापारमा पनि १५ देखि २७ दिनसम्म लाग्ने देखिएको छ । वैदेशिक व्यापारको झन्झटिलो हुँदा लागत बढ्नुका साथै समयमा गन्तव्यमा सामान पुग्न नसकी कतिपय अर्डर नै रद्द हुने गरेका छन् ।
आफैंमा भन्झटिलो वैदेशिक व्यापार कोराना भाइरसका कारण नयाँ प्रावधानहरू थपिएको, प्रोटोकल पालना गर्नुपर्ने लगायतका कारण अरु ढिलो हुने गरेको व्यवसायीको भनाइ छ । प्रशासनिक झमेला कम हुँदै गए पनि काम गर्ने प्रवृत्तिमा परिवर्तन नआउँदा वैदेशिक व्यापारमा समस्या घट्न नसकेको उनीहरू बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा वैदेशिक व्यापारमा कागजातदेखि प्रक्रियागत व्यवस्था निकै झन्झटिलो भएको बताउँछन् । कोलकाता बन्दरगाहा हुँदै सीमाक्षेत्रसम्म विभिन्न समस्या झेल्दै आएका सामानमा नेपालतर्फ पनि सरकारी निकायबीच समन्वय नहुँदा थप कष्ट व्यवसायीहरूले भोग्नु परेको गोल्छाको भनाइ छ । व्यवसायीहरूले आयात निर्यात गर्न बाटोको अवधि कम्तिमा एक महिना छुट्याउनुपर्ने भन्दै यसलाई सहज गरिदिन पनि सरकारसंग आग्रह गरेका छन् । कच्चा पदार्थको आयातमा बढी लागत र समय लाग्ने तथा उत्पादित तयारी वस्तुलाई गन्तव्य बजारसम्म पु¥याउन थप लागत लाग्ने हुँदा तटीय देशहरूमा उत्पादित वस्तुसँग प्रतिस्पर्धा गर्न निकै कठिन हुने गरेको छ । साथै उत्पादनमूलक उद्योगमा आबद्ध श्रमिकहरूको ज्याला तुलनात्मक रूपमा नेपालमा कम भए पनि उत्पादकत्व निकै कम रहेकाले प्रति इकाइ वस्तु अन्य देशले कम मूल्यमा उत्पादन गर्ने गरेका छन् । यसरी उत्पादित वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमता अन्तर्राष्ट्रिय बजारमा कमजोर रहने गरेको छ । व्यापार अवरोध बढ्दै जानु नै अन्तर्राष्ट्रिय बजारमा उत्पादनहरूको प्रतिस्पर्धी क्षमता कमजोर बन्दै जानु पनि हो ।
वैदेशिक व्यापारका सम्बन्धमा तीन वर्षअघि एसियाली विकास बैंकले गरेको एक अध्ययनले तेस्रो मुलुकहरूमा वस्तु निर्यात गर्दा २८ र आयात गर्दा ३१ दिन लाग्ने देखाएको थियो । यसैगरी आयात खर्च प्रतिकन्टेनर १५४० डलर र निर्यात खर्च १३२० डलर भएको पनि सोही अध्ययनले देखाएको छ । सोही अध्ययनले आयातका लागि २८ र नियातका लागि २० वटा विभिन्न कागजात पेस गर्नुपर्ने पनि देखाएको छ । यता, प्रोपर्टी राइट एलायन्सले गरेको व्यापार अवरोधसम्बन्धी गत वर्षको एक अध्ययनअनुसार विश्वका ८६ मुलुकमध्ये नेपाल ८१ औं स्थानमा रहेको छ भने क्षेत्रीय रूपमा एसियाका १४ मुलुकमध्ये नेपालको अवस्था ११ औं स्थानमा छ । यसले नेपालमा व्यापार सहजीकरणको अवस्थामा खस्किदै गएको इंगित गरेको छ । विभिन्न अध्ययनले देखाइसकेको र सरकारी तवरबाट केही गर्दा सहज हुनसक्ने भन्दै व्यापारलाई सहज बनाउन कुटनीतिक पहल जरुरी भएको सम्वद्ध व्यवसायीहरूले बताउँदै आएका छन् । कोरोनाका कारण बन्दरगाह तथा सीमा क्षेत्रमा गर्ने व्यवहार परिवर्तन भएकोले थप समस्या भएको व्यवसायीको अनुभव छ ।
महासंघका स्थल यातायात तथा पारवहन समितिका सभापति प्रकाशसिंह कार्कीले पनि झन्झटिलो व्यवस्थाका कारण निर्यात भन्दा आयातको समय धेरै लाग्नेगरेको बताए । उनले नेपालबाट कोलकातासम्म पुगेका सामान अमेरिका पुग्न थप डेढ महिना र युरोपेली देशमा पुग्न अर्काे एक महिना लाग्ने गरेको बताए । प्रक्रियागत भन्झटका कारण सामान डेलिभर हुने समय लामो भएको उनको भनाइ थियो । युरोप अमेरिका पुग्ने समानका लागि कम्तीमा पनि ३ महिना ढुवानी समय लाग्ने गरेको उनको अनुभव छ । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका पूर्वअध्यक्ष राजन शर्माले व्यापार सहजीकरणका नाममा धेरै पैसा खर्च भए पनि वास्तविक व्यापार गर्ने वर्गले त्यसको अनुभूति गर्न नपाएको बताउँछन् । उनका अनुसार निजी क्षेत्रले पनि नबुझी नयाँ व्यवस्थालाई स्वागत गर्दा व्यापारमा सहजीकरणभन्दा अवरोध थपिएको छ । सरकारी निकायबीच समन्वय कमजोर हुँदा मन्त्रालय तथा सरोकारवाला निकायहरूले एक अर्कालाई सहयोग नगर्दा पनि व्यापारमा झन्झट थपिएको उनले बताए ।
निर्यातमा सामान्य वस्तुहरू अर्थात सिम्पल गुड्सको बाहुल्यता लामो समयदेखि नै छ । नेपालले सामान्य र कम मूल्यका वस्तुहरू निर्यात गर्दै आएको आएको छ । आयातमा भने विशिष्ट प्रकृतिका अर्थात कम्प्लेक्स गुड्स र उच्च मूल्य एवं प्रविधियूक्त वस्तुहरूको बाहुल्य हुँदा निर्यात र आयातका बीचमा ठूलो अन्तर कायम हुन गएको छ । नेपालको विगत चार दशकभन्दा बढीको निर्यात व्यापारको अबस्था हेर्दा कृषिजन्य वस्तु, तयारी पोशाक, कार्पेट र फलामका केही सामान निर्यात गर्ने गरेको छ । आयातमा भने पेट्रोलियम पदार्थ, इलेक्ट्रोनिक्स सामान, सवारी साधनजस्ता विशिष्ट तथा उच्च मूल्यका वस्तुहरूको बाहुल्यता रहेको छ ।

व्यापार व्यवसायको एकीकृत सूचना पोर्टल
सरकारले व्यापार व्यवसायको सम्पूर्ण जानकारी दिनका लागि नेपाल ट्रेड इन्फरमेसन पोर्टल सञ्चालनमा ल्याएको छ । विश्व बैंकको सहयोगमा व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रले सो पोर्टल सञ्चालनमा ल्याएको हो । यसको लागि नेपाल ट्रेड पोर्टलडटजीओभी डट एनपी प्रयोग गर्न सकिन्छ । पोर्टलमार्फत व्यापार व्यवसाय गर्न चाहनेले अपनाउनुपर्ने विधि, प्रक्रिया, निर्यातयोग्य वस्तुको माग, बजारको पहुँच, व्यावसायिक प्रोफाइल सहज रूपमा तयार गर्न सकिने सकिने जनाइएको छ । केन्द्रका अनुसार पोर्टलमा निर्यात व्यापारसँग सम्बन्धित व्यवसाय सुरु गर्नको लागि साधारण सूचनादेखि निर्यातको लागि वस्तु बजार र त्यसका लागि आवश्यक पर्ने नीति नियमन, प्रावधान, निर्यातकर्ता, सेवा प्रदायकको विवरण, निर्यातयोग्य वस्तुको विवरण,व्यापारसँग सम्बन्धित सुचनाहरू, मुलुकको एक दशकदेखिको तथ्यांक समावेश गरिएको छ ।
मंगलबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुभारम्भ गर्दै पोर्टल निजी क्षेत्रले भोग्दै आएका समस्यालाई समाधान गर्दै निर्यात बढाउन सहयोगी हुने बताए । केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको निर्यात सम्बन्धित सम्पूर्ण जानकारीहरू एकद्वारा प्रणालीबाट सम्प्रेषण गर्नका लागि पोर्टल सञ्चालन गरिएको जानकारी दिए । मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले पोर्टल सञ्चालनमा आएसँगै वस्तुको उत्पादन, बजारको खोजी र बजारीकरण गर्न अति आवश्यक रहेकाले यस पोर्टलले सहयोग पु-याउने बताए ।

प्रतिक्रिया दिनुहोस्