वाणिज्य बैंकबाट एक सातामै १३ अर्ब बाहिरियो «

वाणिज्य बैंकबाट एक सातामै १३ अर्ब बाहिरियो

वाणिज्य बैंकहरूमा रहेको निक्षेप पछिल्लो एक सातामै १३ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार पुससम्ममा २७ वाणिज्य बैंकमा ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ ९ गतेसम्म आइपुग्दा ३७ खर्ब ६९ अर्ब रुपैयाँमा झरेको छ । माघ २ गते यतामात्र बैंकबाट १० अर्ब रुपैयाँ निक्षेप घटेको छ । बैंकहरूको घट्दो ब्याजदर र आर्थिक वर्षको अर्धवार्षिक खाताबन्दीका कारण बैंकहरूको निक्षेप घटेको हो ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले पुस मसान्तमा कर तिर्न र अन्य भुक्तानी हुने भएकाले निक्षेप घटेको बताए । बैंकहरूको ब्याजदर अझै मुद्रास्फीतिभन्दा माथि भएकाले यसका कारण भने निक्षेपमा प्रभाव नपरेको उनले दावी गरे । कोभिडका कारण आर्थिक गतिविधि सुस्त भएसँगै ऋण लगानी गर्न नसकी बैंकहरूमा तरलता उच्च छ । जसका कारण बैंकहरूमा निक्षेपको पनि ब्याजदर घटिरहेको छ । बैंकहरूको ब्याजदर सस्तो भएपछि निक्षेप बाहिरिएको अनुमान गरिएको छ ।
यसैगरी, पुसमा उच्च वृद्धि भएको बैंकहरूको कर्जा प्रवाह माघ लागेपछि भने घट्न थालेको छ । पुस महिनामा मात्र वाणिज्य बैंकहरूले १ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । पुसको अन्तिम सातामात्र ५८ अर्ब कर्जा प्रवाह भएको बैंकर्स संघले जनाएको छ । माघ लागेसँगै बैंकहरूको कर्जा प्रवाह सुस्ताएको छ । पुस अन्त्यदेखि माघ ९ गतेसम्ममा तीन अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह भएको देखिन्छ । पुससम्ममा वाणिज्य बैंकहरूले ३२ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ ९ गतेसम्ममा घटेर ३२ खर्ब ३७ अर्ब रुपैयाँ झरेको छ । माघ २ गतेदेखि ९ गतेसम्ममा भने ऋण लगानी ११ अर्ब रुपैयाँले बढेको छ ।
कोभिड–१९ महामारीका कारण आयस्रोत खुम्चिएपछि बैंकको साँवा तथा ब्याजको किस्ता तिर्नका लागि पुनः बैंकबाटै ऋण लिने प्रवृत्तिका कारण अर्धवार्षिक रूपमा खाताबन्दी हुने समयमा कर्जा प्रवाह उच्च भएको हो । बैंकर्स संघका अध्यक्ष दाहाल भने ऋण तिर्नकै लागि कर्जा प्रवाह भएमा त्यो बैंकका लागि घातक हुने बताउँछन् । “बैंकर्स साथीहरूले ऋण तिर्नैकै लागि कर्जा दिनुभएको छ भन्नेमा म विश्वास गर्दिनँ,” उनले भने, “कोही साथीहरूले त्यसो गर्नुभएको छ भने त्यो सम्बन्धित बैंककै लागि जोखिम हो ।”
स्रोत : नेपाल बैंकर्स संघ

प्रतिक्रिया दिनुहोस्