कांग्रेस प्रदेशमा अविश्वासको पक्षमा उभिन्छ : पौडेल «

कांग्रेस प्रदेशमा अविश्वासको पक्षमा उभिन्छ : पौडेल

विराटनगर-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशमा दर्ता भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावका पक्षमा कांग्रेस रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले अविश्वासको प्रस्तावको पक्षमा कांग्रेस उभिने उल्लेख गरे । उनले भने, “प्रतिपक्षी दलको धर्मअनुसार प्रदेशहरूमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्छ ।” पौडेलले चुनावका नाममा संविधान मास्न नपाइने बताए । अहिलेको अवस्थामा संसद पुनःस्थापनाबाहेक अन्य कुनै विकल्प नरहेको उनको धारणा छ । अर्बौं रुपैयाँ खर्च गरेर चुनाव गर्ने, सरकार ढल्ने अवस्था आए प्रतिनिधिसभा नै विघटन गर्ने हो भने सधैं चुनाव भइरहने र त्यसरी हुने चुनाव देशले नधान्ने पौडेलले स्पष्ट पारे । “संविधानविपरीत चुनाव गर्दै जाने भए सधैं चुनावमात्रै गरिरहनुपर्ने अवस्था आउँछ,” पौडेलले थपे, “चुनावका नाममा देशलाई अफगानिस्तानको बाटोमा लैजान खोजिएको छ । त्यसैविरुद्ध कांग्रेस आन्दोलित भएको छ ।”
प्रतिनिधिसभा विघटनलाई केपी ओलीले राजनीतिक निर्णय भन्ने गरेकोमा समेत रोष प्रकट गरे । लोकतन्त्र र गणतन्त्रको आन्दोलनमा योगदान नभएकाले अहिलेको व्यवस्थाप्रति ओलीको माया नभएको उनको भनाइ छ । नेपाली जनताको लामो संघर्षबाट अहिलेको व्यवस्था आएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्