बेलहिया नाका खोल्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र «

बेलहिया नाका खोल्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र

भैरहवा-कोरोना भाइरस संक्रमणको जोखिम कम भएको र भारत लगायत विभिन्न देशमा अन्तर्राष्ट्रिय हवाई उडान समेत सुरु भइसकेको अवस्थामा भैरहवाको बेलहिया नाका सुचारु गर्न माग गर्दै सिद्धार्थ होटल संघले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।
विघटित प्रतिनिधिसभाका सांसद प्रमोदकुमार यादव, लुम्बिनी प्रदेश रुपन्देही ३ (क) का प्रदेश सभा सदस्य सन्तोष पाण्डेसहित सिद्धार्थ होटल संघका वरिष्ठ उपाध्यक्ष विष्णु गौतम, उपाध्यक्ष किशोर जोशी, सदस्य राम बहादुर कोइरी, सल्लाहकार पवन हलवाईको टोलीले ज्ञापनपत्र बुझाउँदै छिटोभन्दा छिटो बेलहिया नाकाबाट आवतजावत सुचारु गराउँदै पर्यटकीय वातावरण सिर्जना गर्न मुख्यमन्त्रीसँग आग्रह गरेका थिए । यसका साथै पर्यटन व्यवसाय सहज बनाउन उनीहरुले अन्य मागहरु पनि मुख्यमन्त्रीसँग राखेका छन् ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले यो विषयमा सक्दो पहल गर्ने र आशावादी रहन पर्यटन व्यव्सायीलाई आग्रह गरेका थिए । मुख्यमन्त्री पोखरेलले यस विषयमा संघीय सरकारसँग पनि कुरा गरिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्