गैरआवासीय नेपालीको भूमिका प्रशंसायोग्य «

गैरआवासीय नेपालीको भूमिका प्रशंसायोग्य


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना महामारीमा गैरआवासीय नेपालीहरूको भूमिका प्रशंशायोग्य रहेको बताएका छन् । मन्त्री ज्ञवालीले शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन उद्घाटन गर्दै संघले संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताएका हुन् । “प्रवासमा संकटमा परेका नेपालीहरूको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेको छ र म यसको प्रशंसा गर्न चाहान्छु,” उनले भने, “संकटको यस अहम परीक्षामा एनआरएनए खरो रूपमा उत्रिएको छ र सफल भएको छ ।”
नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीहरूलाई औपचारिक रूपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीको ज्ञान र सिपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेको बताए । उनले एनआरएनए नेपालको विकासको लागि सहयात्री भएको उल्लेख समेत गरे । गैरआवासीय नेपाली संघ विशुद्ध सामाजिक संस्था भएकाले राजनीतिक दृष्टीकोणलाई बाहिर राखेर सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।
यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन शनिबारबाट सुरु भएको छ । आइतबारसम्म चल्ने सम्मेलन भर्चुअल माध्यमबाट सुरु भएको हो भने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमा छलफल हुने जनाइएको छ ।
विशेष महाधिवेशनलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको पुँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताए । विपत र संकटका बेला विदेशमा रहेका प्रत्येक नेपालीले देखाएको अपनत्व प्रशंसायोग्य भएको उनको भनाई थियो । राजनीतिक लडाइँमा नभई विकासको बाटोमा अग्रसर हुनुपर्नेमा उनको जोड थियो । नेपाल विपन्न देश भएको हुँदा देशमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै विदेशमा हरेक नेपालीहरूले नेपालको उत्पादन मूलक क्षेत्रमा लगानी ल्याउन जोड दिनु पर्ने उनले बताए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भवन भट्टले ‘सबै हात एकै साथ’ अभियान अनुसार सबैलाई संस्थाको चामको लागि एकताको लागि आह्वान गरे । उनले सबै पक्षलाई समेटेर संस्थालाई अघि बढाउन आग्रह गरे । भट्टले मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएको बताउँदै नेपालमा लगानीको लागि जोड दिए । संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिए । घलेले गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रूपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रूपमा अघि बढाउनु पर्नेमा जोड दिए ।
अर्का पूर्वअध्यक्ष देवमान हिराचनले विधान संशोधन, एनआरएन फाउण्डसेन, भिजन २०२० लगायतका विषयमा घनीभूत छलफल गर्न सुझाव दिए । संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले गतिशिल संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेको बताए । उनले अधिवेशनमा संरक्षक परिषद्को सुझाव अनुरूप विधान संशोधनमा साझा प्रस्ताव ल्याउन लागेकोमा कार्यसमितिप्रति विशेष धन्यवाद व्यक्त गरे । उनले कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेको बेला सबै मिलेर सामना गर्नुको विल्कप नभएको भन्दै हरेक संकटसँगै अवसर पनि ल्याएको हुने बताए । उनले गैरआवासीय नेपालीहरूले आर्जन गरेको विश्वासलाई कायम राख्न र संघको शाख बचाई राख्न सबैलाई आग्रह समेत गरे ।
कार्यक्रममा संघका संस्थापक रामप्रताप थापाले संसारभर छरिएका नेपाली र नेपालमा रहेका नेपालीहरूलाई जोड्ने काम गैरआवासीय नेपाली संघले गर्दै आएको स्मरण गराए । उनले संस्थाभित्र मेरो र तेरो भन्ने भावनाले होइन सामूहिक रूपमा हाम्रो भन्ने भावनाले अघि बढ्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्