निजी क्षेत्र र राज्य मिलेर अगाडि बढेमा आर्थिक विकासमा सहयोग पुग्नेछ

२०२७ सालमा स्थापित दाङ जिल्ला उद्योग वाणिज्य संघ राप्तीको पुरानो व्यावसायिक संस्था हो । व्यवसायीहरूका समस्या समाधान मात्र नभई जिल्लामा हुने विभिन्न समस्याको समाधान गर्दै आएको संघको १६औं अध्यक्ष हुन्— टंकसिह बुढाथोकी । व्यवसायीहरूको समस्या समाधानसँगै, जिल्लामा लगानी भित्र्याउन पहल गर्ने तथा आर्थिक विकासका लागि योजना निर्माण गरेर अगाडि बढ्ने उनका योजना छन् । यसै सन्दर्भमा उद्योग वाणिज्य क्षेत्रका सम्भावना तथा चुनौती र जिल्लाको समग्र आर्थिक क्रियाकलाप लगायतका विषयमा केन्द्रित भई उनीसँग दाङस्थित कारोबारकर्मी अमरराज आचार्यले गरेको कुराकानीको सार :
जिल्ला उद्योग वाणिज्य संघलाई गतिशील बनाउन तपाईंका योजनाहरू के–के छन् ?
दाङ जिल्ला उद्योग वाणिज्य संघले थालेको औद्योगिक क्षेत्र घोषणा गर्नेतर्फ पहल गर्ने, व्यवसायीहरूलाई उत्पादनतर्फ जोडका लागि योजना बनाएर तालिम तथा सरकारी तथा गैरसरकारी क्षेत्रहरूसँग मिलेर अगाडि बढ्नेछौं । त्यसै गरेर मिसम्याचको समस्या समाधानका लागि सहजीकरण गर्न र नापतौल तथा गुणस्तरका कार्यालय दाङमा स्थापनाका लागि हामी लागिपर्नेछौं ।
जिल्लामा रहेका साना तथा घरेलु उद्योग एवं ठूला उद्योगहरू स्थापना गर्न पहल गरी उत्पादन वृद्धि गरेर बाह्य निकासीमा जोड दिने, त्यसै गरेर कृषि क्षेत्रलाई उत्पादनमा जोड दिएर निर्यातलाई बढाउन हामी अगाडि बढ्नेछौं । जसले गर्दा जिल्लाको आर्थिक विकासमा सहयोग पुग्ने हामीले अपेक्षा गरेका छौं । पर्यटन क्षेत्रको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने, पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन व्यवसायीहरूलाई तालिम प्रदान गरिने, व्यवसायीहरूलाई कर शिक्षा, लेखा अभिलेखीकरण, सरसफाइसम्बन्धी प्रशिक्षण दिइनेछ । संघले स्थापना कालदेखि गर्दै आएको विभिन्न सामाजिक कार्यहरूलाई निरन्तरता दिइनेछ । यस अभियानमा ममात्र नभई मेरो नेतृत्वको कार्य समिति, पूर्वअध्यक्षहरू, वस्तुगत समिति, संस्थागत समिति तथा साधारण सदस्यहरूको समेत सहयोग रहनेछ ।
जिल्ला उवासंघ र नेपाल उद्योग वाणिज्य महासंघबीच कसरी सहकार्य गर्ने योजना छ ?
निजी क्षेत्रको छाता संगठनका रूपमा नेपाल उद्योग वाणिज्य संघ रहेको छ । यसैको नेतृत्वमा समग्र निजी क्षेत्र अगाडि बढ्ने हो । त्यसैले हामी पनि महासंघको सहकार्यमा अगाडि बढ्नेछौं । जिल्लामा रहेका विभिन्न सम्भावनाहरूको खोजी गर्दै लगानी भित्र्याउनसमेत हामी हाम्रो नेतृत्वसँग साथ–सहयोग लिएर अगाडि बढ्नेछौं । हामीले उठाएका विषय तथा सम्भावनाहरूको खोजी गरेर जिल्लामा लगानी भिœयाउन हामीलाई नेतृत्वले विगतदेखि सहयोग गर्दै आएको छ । आउँदा दिनहरूमा पनि निरन्तर सहयोग रहनेमा हामी आशावादी छौं ।
निजी क्षेत्रका विभिन्न संघसंस्था राष्ट्रिय रूपमा एउटै झन्डामुनि गोलबन्द भएर अघि बढ्न कत्तिको सम्भावना देख्नुहुन्छ ?
म निजी क्षेत्रमा काम गर्न संघसंस्थाहरू एक भएर जाने सम्भावना रहेको देख्छु । आफ्नो स्वार्थभन्दा व्यवसायीहरूको स्वार्थका लागि अगाडि बढेमा एउटै भएर अगाडि बढ्न सकिन्छ, जसले गर्दा निजी क्षेत्रको समस्या समाधान गर्नसमेत सहयोग पुग्नेछ । धेरै संघसंस्था हुँदा केही समस्या देखिएको छ । निजी क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरू एकताबद्ध भएर अगाडि बढेमा निजी क्षेत्रमा देखिने समस्या समाधान गर्न सहयोग पुग्नेछ ।
निजी क्षेत्र एकताबद्ध हुन नसक्दा राज्यले पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको भनिन्छ, हो ?
हो, अहिले निजी क्षेत्रमा काम गर्नका लागि धेरै संस्थाहरू रहेका छन् । राज्यले हेर्ने दृष्टिकोण पनि फरक रहेको पाएका छौं । राज्यले निजी क्षेत्रलाई फरक दृष्टिकोणले नहेरेर सँगसँगै मिलेर अगाडि बढाउने वातावरण निर्माण गरिनुपर्छ । निजी क्षेत्र र राज्य सँगसँगै बढेमा देशको आर्थिक विकास भई निजी क्षेत्र र नेपाल सरकारले ल्याएको समृद्ध नेपालको लक्ष्य पूरा हुन सहयोग पुग्नेछ । हाम्रा छिमेकी देशहरूमा समेत निजी क्षेत्र तथा राज्य सँगसँगै अगाडि बढेका कारण आर्थिक विकास छिटो हुन सकेको छ । नेपालमा पनि निजी क्षेत्र र राज्य मिलेर अगाडि बढेमा आर्थिक विकासमा सहयोग पुग्नेछ ।
प्रदेश सरकार, स्थानीय तह र उद्योग वाणिज्य संघबीचको सहकार्यको अवस्था कस्तो छ ?
हामी स्थानीय सरकार तथा प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेका छौं । देशको समग्र विकासका लागि निजी क्षेत्र तथा सरकारी निकाय सहकार्य गर्न आवश्यक छ । त्यसले हामीहरू पनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गरेर नै अगाडि बढिरहेका छौं ।
निजी क्षेत्रका समस्या समाधान गरी आर्थिक विकासमा हामी सँगसँगै अगाडि बढेका छौं । हामीले उठाउँदै आएका विषयहरूलाई प्रदेश सरकारले सम्बोधनसमेत गर्ने गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग तथा व्यवसायहरूको नवीकरण गरिएको छ । अहिले प्रदेश सरकारले साना तथा घरेलु उद्योग दर्ता गर्दा निःशुल्क गरिएको छ । जसले गर्दा उद्योगहरू बढ्नेछन् । जसले स्वरोजगार तथा अन्य नागरिकहरूलाई समेत रोजगारी प्रदान गर्न सहयोग पुग्नेछ । त्यसै गरेर उत्पादनसमेत वृद्धि हुनेछ ।
कोभिड–१९ को समयमा पनि घरेलु तथा साना–ठूला उद्योग–व्यवसायमा लगानी बढे पनि रोजगारीमा उल्लेखनीय परिवर्तन भएको देखिँदैन नि ?
कोभिड–१९ को समयमा पनि जिल्लामा उद्योग तथा व्यवसायमा लगानी भइरहेको छ । विदेशबाट फर्किएकाहरू स्वरोजगार बन्नुपर्छ भनेर समेत अगाडि बढ्नुभएको छ । युवाहरू नयाँनयाँ उद्यमतिर लाग्नुभएको छ । त्यसै गरेर पनि लगानी वृद्धि भई बढेको हो । राज्यको नीतिका कारण बढी रकम लगानी देखाएर उद्योग तथा व्यवसाय दर्ता गर्नुपर्ने बाध्यता रहेकाले पनि लगानी बढी देखिएको हुनसक्छ । ससाना होटलहरूलाई पनि उद्योगका रूपमा दर्ता गर्नुपर्ने बाध्यता हुँदा उद्योगहरूको संख्या दर्ता धेरै भएको पाइएको छ । तर तपाईंले भनेजस्तै रोजगारीमा उल्लेखनीय परिवर्तन भएको देखिँदैन । विस्तारै उद्योग तथा व्यवसाय क्षेत्रमा रोजगारी सिर्जना हुनेछ ।
जिल्लामा सम्भावित लगानीका क्षेत्रहरू केके हुन् ?
दाङ लगानीका लागि राम्रो सम्भावना बोकेको जिल्ला हो । सम्भावना बोकेको क्षेत्र भएकाले नै पछिल्लो समय दाङमा धेरै क्षेत्रमा लगानी भित्रिन थालेको छ । अहिले साना तथा ठूला उद्योग तथा व्यवसायमा लगानी बढ्न थालेको हो । ठूला उद्योगका रूपमा सिमेन्ट उद्योगहरू स्थापना भएर उत्पादन सुरु गरिरहेका छन् भने कृषिसम्बन्धी उद्योग स्थापना क्रममा रहेका छन् ।
दाङ कृषि तथा पशुपालन क्षेत्रको उर्वर जिल्लाका रूपमा रहेको छ । कृषि क्षेत्रमा विशेषगरी तरकारी, खाद्यन्न, तोरी, राम्रो सम्भावना छ । पशुपालनतर्फ बाख्रापालन, कुखुरापालनको राम्रो सम्भावना रहेको छ । अहिले दाङ पोल्ट्रीका लागि चितवनपछि दोस्रो जिल्लाका रूपमा रहेको छ भने लुम्बिनी प्रदेशमा पहिलो जिल्लाका रूपमा रहेको छ । माहुरीपालन व्यवसायका लागि राम्रो मानिन्छ । दाङको मह विदेशमा समेत माग हुने गरेको छ । जिल्लामा धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरू धेरै छन् । पर्यटकीय क्षेत्रको विकासका लागि धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको योजना बनाएर विकास गरेर अगाडि बढ्न सकिनेछ ।
त्यसै गरेर जिल्लामा रहेका कच्चा पदार्थहरूको उपयोग गरी उद्योग सञ्चालनमा ल्याउन सकिन्छ । जिल्लामा धेरै प्रकारका कृषिसँग जोडिएका उद्योगहरू सञ्चालन गर्न सकिने सम्भावना रहेका छन् । परम्परागत सीपअनुसार सञ्चालन हुँदै आएका घरेलु उद्योगहरूलाई विकास गरी अगाडि बढाउन सकिनेछ । जिल्लाका पहाडी क्षेत्रमा जडिबुटीहरू खेती हुने गरेको छ । यसरी उत्पादन भएका जडिबुटीहरू कच्चा पदार्थका रूपमा बाहिर पठाउने गरिएको छ । यसरी कच्चा पदार्थका रूपमा बाहिर नपठाई जिल्लामा नै वस्तु उत्पादन गर्ने सकिनेछ, जसले गर्दा खेर गएका जडीबुटीको संरक्षण हुनुका साथै वस्तु निर्माण गरेर बाहिर पठाउँदा आम्दानीमा स्रोत वृद्धि हुनेछ । यीबाहेकका धेरै क्षेत्रमा लगानी गर्न सकिने अवस्थाहरू रहेको छ ।
जिल्लामा निजी क्षेत्रहरूले के–कस्ता समस्याहरू भोग्नुपरेको छ ?
जिल्लाका निजी क्षेत्रले विभिन्न समस्या भोग्दै आएका छन् । राज्यको नीतिका कारण नै निजी क्षेत्रले समस्या भोग्दै आएको छ । निजी क्षेत्र ढुक्क भएर अगाडि बढ्न नसक्ने अवस्था छ । समय–समयमा सरकारको नीतिका कारण यो क्षेत्र बढी मारमा परेको छ । व्यवसायीहरूले जानेर नजानेर दोहोरो कर तिर्नुपरेको छ । अहिले पनि जिल्लाका होटलहरू साँझसम्म खोल्न नपाउने अवस्था छ । आफ्नो व्यवसाय पनि प्रशासनको निर्देशनअनुसार सञ्चालन गर्नुपर्ने बाध्यता छ । यस प्रकारको समस्याले होटल–व्यवसायीहरू मारमा परेका छन् । नापतौलको कार्यालय दाङमा नहुँदा जिल्लाका व्यवसायीहरू नापतौलका भाँडा चेक गराउन नेपालगन्ज तथा भैरहवा जानुपर्ने बाध्यता रहेको छ ।