घरायसीदेखि व्यावसायिक प्रयोजनमा एफटीटीएचप्रति बढ्दो आर्कषण «

घरायसीदेखि व्यावसायिक प्रयोजनमा एफटीटीएचप्रति बढ्दो आर्कषण

इन्टरनेट सेवामा छनोटको अवसर भएसँगै उपभोक्ताको रोजाइ पनि फेरिएको छ । केहि समय अगाडीका लोकप्रिय फिक्स्ड लाइन, वायरलेस, थ्रिजी, फोरजी हुँदै पछिल्लो समय फाइवर टु दी होम (एफटीटीएच) मा उपभोक्ताको आर्कषण बढेको छ ।
नेपाल टेलिकमले सञ्चालनमा ल्याएको यो प्रविधिबाट अहिले घरायसीदेखि व्यावसायिक प्रयोजनमा समेत लोकप्रियता बढेको छ भने कोभिड र कोभिडपश्चात यो सेवालाई अझ बढी रुचाइएको छ । एउटै लाइनबाट टेलिफोन सेवा, तीव्र गतिको इन्टरनेट, आइपी टीभीसहित भिडियोको पनि सुविधा दिएपछि ग्राहकको रुची एफटीटीएचमा बढेको हो । टेलिकमले चालु आर्थिक वर्षमा एफटीटीएच सेवालाई सहरदेखि गाउँसम्म पु¥याउने महत्वाकांक्षी लक्ष्य पनि अगाडी सारेको छ ।
टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार अनुसार हालसम्म एफटीटीएच सेवा ३९ जिल्लामा पुगेको छ भने बाँकी जिल्ला पनि काम दु्रत गतिमा भएको छ । “वाइस, उच्च गतिको इन्टरनेट र टेलिभिजन एउटै लाइनबाट पाइने हुँदा ग्राहकको रोजाइमा एफटीटीएच सेवा पर्न सफल भएको छ” प्रवक्ता जोशीले भने । अहिले झन्डै सवा लाख ग्राहक एफटीटीएचका भइसकेका छन् भने चालु वषको अन्त्यसम्म ३ लाख क्षमताको नेटवर्क विस्तार गरी कम्तीमा साढे २ लाख ग्राहक बढाउने लक्ष्य कम्पनीको छ । लकडाउन अघिसम्म खासै चर्चामा नआएको एफटीटीएच सेवा कोभड पश्चात रुचाइएको एक सेवामा पर्न सफल भएको छ ।
टेलिकमले पुरानो तामाको तारबाट विस्तार हुने इन्टरनेटमा लगानी भने बढाएको छैन । सुरुको लगानी पनि बढी पर्ने र मर्मतसंभारमा धेरै खर्च लाग्ने भएकोले यसतर्फ भन्दा पछिल्लो प्रविधितर्फ नै ध्यान दिएको प्रवक्ता जोशीले बताए ।
अहिले जतिपनि टेलिफोन लाइनहरु छन् टेलिकमले एफटीटीएचमा रुपान्तरण गर्दै आएको छ । केही वर्ष अगाडीसम्म ल्याण्डलाइनमार्फत दिएको सुविधा पनि पर्याप्त थियो । तर, अहिले त्यो गुणस्तर र क्षमताले नपुग्ने भएकाले प्रविधि अपग्रेड गर्नुपरेको हो । सूचना प्रविधिमा बढ्दो दक्षता, दैनिक आवश्यकताले गर्दा पनि टेलिकम तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई सेवामा विविधिकरण गर्नुपर्ने जरुरी छ ।
एफटीटीएच प्रविधिको राम्रो पक्ष भनेको परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ‘ट्रिपल प्ले’ अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गरिन्छ । यसअन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक ८ हजार रुपैयाँमा उपलब्ध छ । हाल एफटीटीएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्छन् । हाल कम्पनीले एफटीटीएच सेवामा विभिन्न प्याकेजहरु आकर्षक दरमा उपलब्ध गराइरहेको छ । प्राविधिक रुपले सम्भव हुने स्थानहरुमा पुरानो ल्याण्डलाइन फोनलाई एफटीटीएच प्याकेजअन्तर्गत एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध गराई नयाँ एफटीटीएच जडान गर्दै आएको छ ।
उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु, टेलिफोन सेवा र टेलिभिजन समेत उपलब्ध भएकोले सेवाग्राहीले एफटीटीएच मन पराउने कम्पनीको भनाइ छ । प्रवक्ता जोशीका अनुसार एफटीटीएचको माग तुलनात्मक रुपमा बढी आएकोले उचित जनशक्ति व्यवस्थापन गरेर बढीमा ३ दिनमा सेवा दिने काम भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्