अमेरिकी रोजगारी वृद्धि मत्थर

डिसेम्बरमा अमेरिकामा अपेक्षा गरिएभन्दा थोरै संख्यामा मात्रै रोजगारी थपिएको छ । गैर कृषिक्षेत्रमा गत महिना १ लाख ४८ हजार रोजगारी थपिएको छ । खुद्रा क्षेत्रको रोजगारी गुमेको अवस्थामा पनि थोरै संख्यामा मात्रै रोजगारी थपिएको श्रम विभागले जनाएको छ ।
तर बेरोजगारी दर ४.१ प्रतिशत मात्रै कायम भएको छ । यो बेरोजगारीको दर २००० देखिकै न्यून हो ।
कसिलो श्रम बजारका कारण नयाँ मानिसलाई रोजगारीमा लिनका लागि मुस्किल परेकाले रोजगारी सिर्जना पनि ओरालो लागेको विश्लेषकहरूले बताएका छन् ।
अमेरिकामा वर्षौंदेखि आर्थिक विस्तार भएको छ । यसले पछिल्लो त्रैमासिक अवधिमा आर्थिक वृद्धि ३ प्रतिशत माथि पुगेको थियो र विगत सात वर्षको अवधिसम्म वार्षिक रोजगारी सिर्जना पनि २० लाख नाघेको थियो ।
गत महिना काला कामदारमाझको बेरोजगारी दर ६.८ प्रतिशतमा झरेको थियो । यो १९७२ देखिकै न्यून भएको श्रम विभागको तथ्यांकले देखाएको छ । राष्ट्रिय रूपमा अक्टोबरदेखि बेरोजगारी दर ४.१ प्रतिशत कायम भएको छ । यो सन् २००० देखिकै न्यून दर हो ।
न्यून अवस्थाको बेरोजगारी दरले पनि पछिल्ला वर्षहरूमा ज्यालादरमा वृद्धि हुन नसकेकोमा अर्थशास्त्रीहरूले आश्चर्य व्यक्त गरेका छन् ।
औसत ज्यालामा नाभेम्बरको २.४ प्रतिशतबाट २.५ प्रतिशतमा मात्रै उक्लेको छ । यसैबीच औसत घण्टाको आम्दानीमा पनि ९ सेन्टले मात्रै वृद्धि भएको छ । यो अघिल्ला महिनाहरूको समान हो ।
डिसेम्बरमा निर्माण र स्वास्थ्य क्षेत्रका फर्महरूले राम्रो रोजगारी वृद्धि भएको जनाएका छन् । यी क्षेत्रले डिसेम्बरमा ३० हजार रोजगारी थपेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले वृद्धिका लागि आफ्नो रोजाइमा राखेको म्यानुफ्याक्चरिङ क्षेत्रको रोजगारीमा पनि २५ हजारको वृद्धि भएको छ ।
तर, खुद्रा क्षेत्रमा २० हजार ३ सय रोजगारी गुमेको छ । यो क्षेत्रले अमेरिकी रोजगारीको १० भागको १ भाग हिस्सा ओगट्दै आएको छ । अनलाइन सपिङतर्फको रूपान्तरण र खर्चको प्रकृतिमा आएको परिवर्तनका कारण यो क्षेत्रको रोजगारीमा गिरावट आएको हो ।
डिपार्टमेन्ट स्टोरहरू जस्तै सियर्स र म्याकीले गत वर्ष सयौंको संख्यामा आउटलेट बन्द गरेका छन् । आगामी दिनमा थप बन्द हुने अनुमान गरिएको छ ।