विद्युत् डिमाण्ड शुल्क छुट बल्ल कार्यान्वयनमा «

विद्युत् डिमाण्ड शुल्क छुट बल्ल कार्यान्वयनमा

कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरूको लकडाउन अवधिभरको विद्युत् डिमाण्ड शुल्क छुट आज (सोमबार) देखि बल्ल कार्यान्वयन हुने भएको छ ।
सरकारले लकडाउन अवधिको डिमाण्ड शुल्क छुट गर्ने निर्णय गरे पनि हालसम्म कार्यान्वयनमा नभएको सो छुट बल्ल कार्यान्वयनमा आउने भएको हो । अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले विद्युत् डिमाण्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्णय कार्यान्वयनबाट उद्योगहरू लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बैठकमा औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको छ । आर्थिक वर्ष ०७७-७८ को बजेटमा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लडडाउन अवधिभर विद्युत् डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।
बैठकमा राजस्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्