Logo

खेर जाने बिजुलीबाट हाइड्रोजन

नीति निर्माण र नमूना केन्द्र स्थापना हुने सहमति
भीम गौतम/लक्ष्मी सापकोटा
नेपालमा पहिलोपटक वैकल्पिक ऊर्जा र इन्धनको रुपमा उपयोग गर्नका लागि बिजुलीबाट हाइड्रोजनको व्यावसायिक विकास गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले बर्षामा बिजुली खेर जाने भन्दै चिन्ता प्रकट गरिरहेको बेला नेपाल आयल निगमले काठमाडौं विश्वविद्यालय (केयू)सँग समझदारी गरेर हाइड्रोजनको विकास गर्न लागेको हो ।
हालसम्म नेपालमा हाइड्रोजन विकासबारे कुनै प्रक्रिया अघि बढेको छैन । सरकारी निकायको रुपमा निगम र प्राविधिक निकायको रुपमा रहेको केयूले बिजुलीको उपयोग गरेर हाइड्रोजनबारे नीति निर्माणदेखि उत्पादन, भण्डारण र वितरण केन्द्र स्थापना लगायतमा सहकार्य गर्ने योजना छ । यसबाट हाल भारतबाट आयात भइरहेको पेट्रोल, डिजेल र ग्यासको प्रतिस्थापन गर्नुका साथै रासायनिक मल र अन्य औषधि उद्योगको आवश्यक हाइड्रोजन उत्पादन हुनेछ ।
नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले इन्धन प्रतिस्थापन गर्न तथा आयल निगमलाई भविष्यसम्म बचाइराख्न हाइड्रोजन उत्पादन अनिवार्य भएकोले यसको प्रकृया अघि बढाईएको जानकारी दिए ।
“हाइड्रोजनको हालसम्म नीतिनै छैन, यसको नीति निर्माणदेखि उत्पादन, भण्डारण, वितरणका लागि नमूना परियोजनाहरू सुरु गर्ने, परीक्षण गर्ने लगायतका काम अब हामीले केयूसँग मिलेर गर्छौ,” उनले भने, “यसले इन्धन प्रतिस्थापनमा ठूलो सहयोग पुग्छ ।”
आगामी पाँच वर्षभित्र तीन हजार मेगावाट बिजुली खेर जाने भन्दै प्राधिकरणभित्र ठूलो चिन्ता भईरहेको र बर्षेनी सवा २ खर्बभन्दा बढीको इन्धन आयात भईरहेको बेला दुवैका लागि हरित ऊर्जाको रुपमा रहेको हाइड्रोजन महत्वपूर्ण मानिन्छ । निर्देशक पौडेल र केयूका पूर्व रजिष्ट्रार डा. भोला थापाको उपस्थितिमा केयूबाट स्कुल अफ इन्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपाली र निगमबाट निर्देशक दीपक बरालबीच भएको सम्झौता अनुसार, आगामी दुई बर्ष नीति निर्माणदेखि नमूना परियोजनाहरूको परीक्षण, उत्पादन, वितरण र भण्डारणको अध्ययन, लागत विश्लेषणबारे दुवै पक्षले मिलेर काम गर्नेछन् ।
हाल गाडी, विमान, रेल लगायतका साथै ग्यासमा आयातित इन्धन उपयोग गरिरहेकोमा हाइड्रोजनको विकासबाट विस्थापन गर्न सकिने प्राविधिहरू बताउँछन् । “१८३९ दशकमा विलियम गु्रभले पानीमा विद्युत् प्रवाह गरेर वैकल्पिक ऊर्जाको रुपमा भरपर्दो र हरित ऊर्जा मानिएको हाइड्रोजन उत्पादन गर्न सकिने पत्ता लगाएका थिए, धेरै देशहरूले यसको प्रयोग बढाउँदै लगेका छन्,” केयू मेकानिकल इन्जिनियरिङ विभागका उपप्राध्यापक विराजसिंह थापा भन्छन्, “अब नेपालमा पनि सुरु भएको छ, यसले आयातित इन्धनको प्रतिस्थापन मात्र गर्दैन, ठूलो सम्भावना भएको जलविद्युत् उत्पादनपछि खेर जाने समस्यालाई अन्त्य गर्छ ।” उनका अनुसार पाँच वर्षभित्र हाइड्रोजन उत्पादनका लागि तयारीमा पुर्याउन सकिने बताउँदै निगमले व्यवसायिक रुपमै पेट्रोल पम्पसँगै हाइड्रोजन केन्द्र स्थापना गरेर ऊर्जाको रुपमा विकास गर्न सक्छन् ।
आयल निगम र केयूले हाइड्रोजन उत्पादन र उपयोगका लागि विद्युत् प्राधिकरण, यातायात व्यवस्था विभाग लगायतसँग सहकार्य गर्ने योजना बनाएको छ । लगानी बोर्डले नेपालमा रासायनिक मल कारखाना उत्पादन गर्ने योजनामा हाइड्रोजनको समस्या ठूलो रुपमा आए पनि स्वदेशमै उत्पादनको प्रयोग भने भएको थिएन । भारतबाट प्राकृतिक ग्यास ल्याएर सञ्चालन गर्ने योजना रहेपनि यसमा समस्या देखिएको थियो । आयल निगमको नेतृत्वले हाइड्रोजन विकासलाई प्राथमिकता दिएर अघि बढेसँगै अब यसको पूर्वाधार निर्माण, सुरक्षा, आर्थिक विश्लेषण लगायतका काम अघि बढ्नेछ ।
हालसम्म आयल निगमले भारतबाट इन्धन खरिद गरेर बिक्री गर्दै आएकोमा अब स्वदेशभित्रै हाइड्रोजन इन्धन उत्पादन गर्नेछ भने यसबाट देशको अर्थतन्त्रमा ठूलो फाइदा पुग्नेछ । नेपालमै इन्धन उत्पादन गरेर निर्यातसम्मको योजनाका साथ आफूहरू अघि बढेको कार्यकारी निर्देशक पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्