किन बस्दैन नेकपा स्थायी कमिटी बैठक ? «

किन बस्दैन नेकपा स्थायी कमिटी बैठक ?

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक लामो समयदेखि बस्न सकेको छैन । गत जेठ ३ गते पार्टी एकीकरणपश्चात् असार २ गते स्थायी कमिटीको पहिलो बैठक बसे पनि त्यसयता भने पटक–पटक सर्दै आइरहेको छ ।
लामो समयदेखि बैठक बस्न नसक्दा पार्टी कमजोर बन्न पुगेको नेकपाकै नेताहरूले बताउँदै आइरहेका छन् । पार्टी विधानमा तीन महिनामा स्थायी कमिटी बैठक बस्नुपर्ने प्रावधान रहेपनि चार महिनासम्म बैठक नबोलाएपछि नेतृत्वप्रति पार्टीभित्र आक्रोशसमेत बढेको छ । असारको बैठकमा सदस्यहरूले पार्टी एकतालाई तिव्रता दिन र सरकारको कामकारबाहीका बारेमा आगामी बैठकमा छलफल गर्नुपर्ने माग गरेका थिए । तर, त्यसयता विभिन्न कारण देखाउँदै चार पटक बैठक स्थगित भइसकेको छ ।
स्थायी कमिटी बस्न नसक्दा एकता घोषणा भएको ६ महिना पुग्न लाग्दासमेत तल्लो तहमा अझै तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका छुट्टाछुट्टै संरचना छन् । पार्टी सचिवालयले स्थायी कमिटीले गर्नुपर्ने काम गर्न थालेको भन्दै असन्तुष्टिसमेत बढिरहेको छ । यसअघि सचिवालयको बैठकले प्रदेश कमिटी गठन गर्ने निर्णय गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूह असन्तुष्ट रहँदै आएको छ । योसँगै सरकारको कार्यशैलीका बारेमा समेत नेकपाभित्र तिव्र असन्तुष्टि रहेको बताइन्छ । सरकार र पार्टी सञ्चालनका बारेमा नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरिरहेका छन् । उनीहरूले सबै विषयको छलफल गर्ने थलो स्थायी कमिटी भएकाले तत्काल बैठक बस्नुपर्ने माग गरिरहेका छन् । पछिल्लो पटक कात्तिक १२ र १३ गतेका लागि बोलाइएको बैठक अर्को सूचना नआउँदासम्मलाई स्थगित गरिएको थियो । त्यसयता बैठक कहिले बस्छ भन्ने टुंगो नरहेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए ।
“अध्यक्षले बोलाउनुपर्ने हो, कहिले बस्छ भन्ने कुनै जानकारी छैन,” उनले भने, “बैठक नबस्दा पार्टी जीवनमा शिथिलता आएको छ । एकता प्रक्रिया अड्किएको छ । यो अवस्था लामो समयसम्म रहन हुँदैन ।” बैठक पटक–पटक स्थगित हुनु र बैठकको मिति तय नहुनुले पार्टीभित्र अलमल देखिएको उनले बताए ।
पार्टी एकता घोषणा हुँदा तीन महिनाभित्र तल्लो तहसम्मको सबै प्रक्रिया सम्पन्न गर्ने भनिए पनि ६ महिनासम्म सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटीमात्रै गठन भएको छ । बैठक नबस्दा एकता प्रक्रिया टुंगोमा पुग्न नसक्दा नेता–कार्यकता जिम्मेवारीविहिन बन्न पुगेका छन् । “एकता प्रक्रियाले गति लिन सकेको छैन । कार्यविभाजन हुन नसक्दा नेता–कार्यकर्ता बेरोजगार बनेका छन्,” पाण्डले भने, “सरकारको कामको समीक्षा गर्नुपर्ने अवस्था छ । तीनै तहका सरकारलाई निर्देशन दिने, बाटो देखाउने लगायतका काम तत्काल आवश्यक देखिन्छ । यो सबैका लागि स्थायी कमिटी आवश्यक छ ।”
यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्न सक्ने संकेत गरेको अवस्था र मधेस केन्द्रित दलहरूले संविधान संशोधन नभए समर्थन फिर्ता लिने घोषणा गरेपछि परिस्थितिको मूल्यांकन गर्न र धारणा बनाउन बैठक आवश्यक रहेको नेताहरूले बताउन थालेका छन् ।
“बैठक समयमा बस्न नसक्दा पार्टीलाई ठूलो घाटा लागेको छ । अहिले देखिएका सबै विषयमा छलफल गरी निष्कर्षमा पुग्न तत्काल बैठक डाकिनुपर्छ,” अर्का स्थायी कमिटी सदस्य मणि थापाले भने ।

प्रतिक्रिया दिनुहोस्