आधुनिक प्रविधिबाट तरकारी खेती

म्याग्दीका एक कृषकले आधुनिक प्रविधिको प्रयोग गरेर तरकारी खेती गरेका छन् । बेनी नगरपालिका–१ आनन्दबगरका अगुवा कृषक रुद्रबहादुर थापाले ‘हाइटेक’ प्रविधिको प्रयोग गरेर तरकारी खेती गरेका हुन् ।
लागत घटाउन, उत्पादन बढाउन र रोगकीराको समस्याबाट बच्न हाइटेक प्रविधि उपयोगी हुने कृषक थापाले बताए । स्थायी संरचनाको प्लास्टिक टनेल बनाएर बिरुवाको जरा–जरामा आवश्यकता अनुसार सिचाइँ हुने थोपा सिचाई प्रविधि जडान गरेका छन् ।
यसअघि उनले भुइँदेखि केही माथिसम्मको भाग खाली राखेर बनाइएको टनेलमा तरकारी खेती गर्दै आएका थिए । हाईटेक टनेल भुइँसम्मनै छोपिएको छ । हावा र प्रकाश छिर्ने पारदर्शी प्लास्टिकको टनेल बनाइएको छ । उनले प्रत्येक बिरुवाको जरा जरामा पाईपमार्फत विरुवालाई आवश्यक पर्ने पानी र खाद्यतत्व आपूर्ति गराउँछन् ।
थापालाई हाइटेक प्रविधिको टनेल निर्माण गर्न जिल्ला कृषि विकास कार्यालयमार्फत सञ्चालित प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले २ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । एक लाख रुपैयाँ व्यक्तिगत लगानी थपेर टनेल र थोपा सिँचाइ प्रविधि जडान गरेको थापाले बताए ।
उनले प्लास्टिक घरभित्र हाल बेमौसमी गोलभेंडा उत्पादन गरेका छन् । गोलभेडाबाट उत्पादन लिइसकेपछि अर्को पटक बेमौसमी खुर्सानी फलाउने थापाको योजना छ । न्यानो हुने र कीरा छिर्न नपाउने भएकाले हाइटेक प्रविधिको टनेल व्यावसायीक खेतीका लागि उपयोगी हुने थापाले बताए ।
थापाले २०५६ सालदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनले गोलभेंडाका साथै बन्दा, काउली, साग, धनीया, खुर्सानीलगायत मौसमी र बेमौसमी तरकारी खेती गरेका हुन् । पाँच वर्ष साउदीमा काम गरेर फर्किएपछि तरकारी खेती सुरु गरेका थापाले उत्कृष्ट राष्ट्रपति कृषकलगायतका दर्जनौं पुरस्कार प्राप्त गरेका छन् ।
पाँच रोपनीमा तरकारी खेती गरेका उनले सोही आम्दानीबाट बागलुङमा घर किनेका छन् । “मासिक एक लाख रुपैयाँभन्दा बढीको तरकारी बिक्री हुन्छ,” उनले भने, “घरका अन्य सदस्यले तरकारी खेतीमा सघाउँदै आएका छन् ।” थापाले उत्पादन गरेको तरकारी सदरमुकाम बेनीमा बिक्री हुने गरेको छ ।
थापाबाटै प्रभावित भएर आनन्दबगरका अन्य युवा पनि व्यावसायिक तरकारी खेतीमा लागेका छन् । थापासहित ५ जना कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । जिल्ला कृषि विकास कार्यालयबाट विभिन्न तालिम लिएका थापाले राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिएर पुरस्कार जित्ने लक्ष्य राखेका छन् ।