अमेरिकाले भन्सार छुट दिएका वस्तुको निर्यात घट्दै «

अमेरिकाले भन्सार छुट दिएका वस्तुको निर्यात घट्दै

अमेरिकाले नेपालका ७७ वटा वस्तुको निर्यातमा भन्सार छुट दिए पनि ति वस्तुको निर्यात भने घट्दै गएको छ । अमेरिकाको मागअनुसार वस्तु उत्पादन हुन नसक्दा निर्यात घट्दै गएको हो । अमेरिकामा नेपाली वस्तुको माग बढ्दै गए पनि पर्याप्त उत्पादन गर्न नसक्दा भन्सार छुट पाए पनि नेपालले निर्यात भने अझै बढाउन नसकेर घट्दै गएको छ । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४-७५मा अमेरिकामा कुल निर्यात ९ अर्बको भएकोमा भन्सार छुट पाएका वस्तुको निर्यात ६७ करोड १२ लाख ३ हजार रुपैयाँको भएको थियो । यस्तै, आर्थिक वर्ष २०७५÷७६मा कुुल निर्यात १० अर्ब ८४ करोड ८ लाख ६२ हजार भएकोमा छुट पाएका वस्तुको निर्यात ६८ करोड ३८ लाख १८ हजार रुपैयाँको भएको थियो । २०७६-७७ मा अमेरिकामा कुल निर्यात ९ अर्ब ४४ करोड ४३ लाख ६६ हजार भएकोमा भन्सार छुट पाएका ७७ वस्तुको निर्यात घटेर ३५ करोड ४८ लाख ७९ हजार रुपैयाँको निर्यात भएको केन्द्रको तथ्याङक छ ।
मुलुकमा वस्तु निर्यात गर्नका लागि ठुलो मात्रामा वस्तु उत्पादन नहुँदा भन्सार छुट दिएको सुविधा समेत उपयोग गर्न नसकिएको व्यापार विज्ञको भनाई छ । अमेरिकमा स्वदेशी उत्पादनको बजार भएपनि उत्पादन गर्न नसक्दा निर्यात बढाउन नसकिएको विज्ञ बताउँछन । व्यापारविज्ञ रविशंकर सैंजु मुुलुकमा पर्याप्त उत्पादन गर्न नसक्दा अमेरिकाले दिएका सुविधा उपयोग गर्न नसकिएको बताउँछन । स्वदेशी वस्तुको उत्पादन बढाउनका लागि सम्झौता भएपनि जुन कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ । “मुलुकमा ठुलो मात्रामा वस्तु उत्पादन गर्न सकियो भने अमेरिकी बजारमा निर्यात बढाउन सकिन्छ,” उनले भने, “अन्तरनिकायबीच सस्ंथागत समन्वयको कमजोरीले निर्यातमा दिएको सुविधा समेत उपयोग गर्न नसक्दा निर्यात बढाउन सकिएको छैन ।” वस्तुको उत्पादन बढाउनका लागि सरकारले निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्न अति आवश्यक रहेको उनकोे भनाइ छ ।
अमेरिकाले सन् २०१५ देखि स्न २०२५ सम्म नेपाललाई ७७ वटा वस्तुहरूमा भन्सार छुटको सुविधा दिएको छ । तर, नेपालले जुन सुविधा उपभोग गर्न नसक्दा निर्यात बर्सेनि घट्दै गएको छ । भन्सार छुटमा झोला, सुटकेश जस्ता लगेज, व्यागेज प्रयोजनका उत्पादनहरू, फ्लोर कभिरिङ उत्पादनहरू, सलहरू व्लाँकेट, विभिन्न रेशाका उत्पादन तथा शिरपोशका सम्बन्धित सामानहरू निर्यात हुने गरेका छन । ति सामान पनि एकदम न्यून मात्रामा निर्यात हुने गरेको केन्द्रको तथ्याङक छ ।
नेपाल र संयुक्त राज्य अमेरिकाबीच हालै सम्पन्न भएको व्यापार तथा लगानी फ्रेमवर्क सम्झौता परिषद(टिफा)को पाँचौं बैठकमा उत्पादन बढाउनका लागि अमेरिकाले प्राविधिक सहयोग गर्ने बताएको छ । यस अघिको चौथौ टिफा बैठकमा पनि स्वदेशी वस्तुको उत्पादन बढाउन अमेरिकाले सहयोग गर्ने बताए पनि कार्यान्वयनमा आउन सकेको छैन । चालू आर्थिक वर्षको चार महिनामा अमेरिकाबाट ३ अर्ब ६७ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको सामान आयात भएकोमा समग्र वस्तुको निर्यात भने ४ अर्ब ७१ करोड २८ लाख ७९ हजार रुपैयाँको भएको भन्सार विभागको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्